दूधकोसी जलाशयमा लगानी गर्न एडीबीसहित चार विदेशी बैंक इच्छुक


हरेकपल May 18, 2020

काठमाडौं । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एशियाली विकास बैंक (एडीबी)सहित चार बैंकले इच्छा देखाएका छन् । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानी जुटाउनका लागि गरेको जुटाउन विकास साझेदारहरूसँग छलफलमा उनीहरूले इच्छा देखाएका हुन् । आयोजनाको क्षमता ६३५ मेगावाट रहेको छ ।
एसियाली विकास बैंक (एडीबी), युरोपेली लगानी बैंक (इआईबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंकका प्रतिनिधिसँग मन्त्रालय र प्राधिकरणका अधिकारीहरूले प्रारम्भिक बैठक गरेका थिए ।

बैंकहरूले लगानीका लागि प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्ताव अर्थ मन्त्रालयमार्फत पेश गर्न आग्रह गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।


छलफलमा अर्थमन्त्रालय वैदेशिक महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जलाशययुक्त आयोजनाको निर्माण सरकारको प्राथमिकतामा रहेको र दूधकोसी तुलनात्मक रूपमा सस्तो एवं आकर्षक रहेकाले आयोजनामा लगानी गर्न बैंकहरूलाई आग्रह गगरेका थिए ।

आयोजनाको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ६० अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । सहवित्तीयकरणमार्फत लगानी गर्ने बैंकको नेतृत्व एडीबीले गर्ने छ । एडिबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ ।
आयोजनाबाट वार्षिक रूपमा ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र वर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने छ । कारोबार दैनिकमा खबर छ ।