अनेसासको जागरण-अभियान छन्दविशेष कार्यक्रमको सर्वेक्षण


हरेकपल May 18, 2020

कवि स्रष्टा हो, कविले आफूले चाहेको संसार सिर्जना गर्ने सामर्थ्य राख्छ! सामान्य व्यक्तिले नदेखेको कुरालाई समेत देख्छ! किनभने उसमा सिर्जना चेत रहन्छ वा कलात्मक दृष्टि रहन्छ! त्यसैले त कविलाई सर्वद्रष्टाका रूपमा सम्मान गरिन्छ! ´कविर्मनीषि:परिभू:स्वयम्भू:` भन्दै कविलाई मनीषि, सर्वव्यापक र आफैँ नयाँ संसार सिर्जने ब्रह्माजी(स्रष्टा)का रूपमा सम्मान गरिएको पाइन्छ! स्वकीय पृथक् संसार सिर्जने मात्र होइन पूर्वसिर्जित संसार अर्थात् आफू बाँचेक‍ो समाज, देश र विश्व नै परिवर्तन गर्न सक्छ कविले ; त्यसैलेत संस्कतवाङ्मय अन्तर्गतको ´अग्निपुराण`मा परिवर्तनका संवाहक कविका बारेमा लेखिएको छ-´अपारे काव्य संसारे कविरेकः प्रजापति: ।
यथेदं रोचते विश्व तथेदं परिवर्तते !!` अर्थात् अपार साहित्यसंसारमा कवि नै एक प्रजापति हो, जसलाई जस्तो विश्व बनाउन मन लाग्छ त्यस्तै विश्व बनाउँछ! कविप्रतिको उच्चसम्मानका लागि आएको अभिव्यक्ति हो यो र वस्तुस्थितिमा पनि कवि परिवर्तनकारी सर्वोच्च सचेतवर्गमै पर्दछ ।

कोभिड-१९का नामले चिनिने कोरोना महामारी सिङ्गो मानवजातिका लागि नै अलङ्घ्यप्रायः चुनौतीका रूपमा समुपस्थित छ! जसका कारण वर्तमान समयमा विश्व नै आतङ्कित , त्रसित र भयभीत छ! भयावह तथा त्रासदीपूर्ण यस समयमा पनि देशविदेशमा छरिएर रहेका कविसाहित्यकार चेतनागतदृष्टिले एकताका सूत्रमा बाँधिएका छन् र महामारीबाट वचन तथा सुरक्षित रहनका लागि सचेतना फिँजाउँन तल्लीन भएका छन्! कविहरूले यतिबेला ´तमसोमा ज्योतिर्गमय मृत्योर्मा-अमृतं गमय`को पौरस्त्य आदर्शलाई अँगालेका छन् र निराशा,अालस्य,र दुखवेदनाका बदला आशा,उत्साह र सुखसंवेदना जगाएका छन्! निराशाको कालो बादल भूमण्डलमा मडारिरहँदा काव्यसंसारमा भने अाशा र भरोसाका उज्याला आभा प्रसारित हुन थालेको छ! नेपाली साहित्यका फाँटमा छन्दकविताको बाढी नै आएको छ! फेसबुक, युटुब, रेडियो, एफएम, मोवाइल, फ्यापटप, कम्प्युटर,टेलिभिजन, पत्रपत्रिका अादि सञ्चारका सबै मध्यमहरूमा नेपाली कविका कविताहरू देख्न,सुन्न,भन्न र लेख्न पाइएको छ! यतिबेला त मानौँ कविले नै देश हाँक्ने र विश्वलाई जोगाउने जिम्मेवारी पाएको छ! सकल विश्वलाई नै महामारीबाट पार लगाई छोड्ने दृढ अठोटका साथ ´कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन`
[फलको अपेक्षा नगरी नित्यनिरन्तर कर्म गर्नु नै मानवीय कर्तव्य हो] भन्ने गीताको आदर्शलाई आत्मसाथ गर्दै कविहरू स्वकीय कर्मक्षेत्रमा जुटेका छन् , साधनामा तल्लीन छन्! अघिपछि आफ्नो गाँसबासको जोहो गर्न यत्रतत्र दौडन र भट्याउन बाध्य कविहरू यतिखेर मानवीय अस्मितालाई जोगाउन बन्दकोठाभित्र बसी मानवीय हितका लागि चिन्तन गरिरहेका छन् , नयाँ नयाँ जीवनी शक्तिको खोजी/सिर्जना गरिरहेका छन् र त्यहीँबाट आफ्ना र अन्य कविका कवितासमेत वाचन गरिरहेका छन्! अहिले त यस्तो लाग्छ सबैमा महाकवि देवकोटा प्रविष्ट छन् , कवितामै बोल्छन् , कवितामै हाँस्छन् र कवितामै रुन्छन् पनि! अनि आफ्ना शिष्यलाई समेत कवितामै पढाउन थालेका छन् कविहरू ।

स्वदेशभित्रमात्र होइन विदेशी भूमिमा पुगेका नेपाली सर्जकहरू पनि निकै जुर्मुराएका छन्! कविता लेखन, वाचन र प्रसारमै तल्लीन छन्! नेपाली कविहरूको यस जागरणले नेपाली कवितालाई अझ छन्दकवितालाई सगरमाथाको उचाइमै पुर्याउन सफल भएको छ! त्यसैले लकडाउनको यो समय नेपाली छन्दकविताका लागि स्वर्णिम समय बन्न पुगेको छ! यस कालखण्डमा एकातर्फ देशभित्रै ´-लकडाउनको समय बनाअौँ सिर्जनामय-`जस्ता थुप्रै अभियान सञ्चालित भएका छन् भने अर्कातर्फ विदेशीभूमिमा बसेका सर्जकहरूले पनि आआफ्ना साहित्यिक अभियानद्वारा कविताका बारेमा वहस चलाउन थालेका छन् र नेपाली पाठकलाई कविताको रसास्वादन गराएका छन्!

अन्तर्राष्ट्रिय जगत्मा नेपाली साहित्यलाई चिनाउने तथा नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने उद्देश्यले स्थापित साहित्यिक संस्था हो ´अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज`! यही समाज संक्षेपमा अनेसासका नामले संबोधित र प्रतिष्ठित छ! नेपाली साहित्यमा धेरै अघिदेखि नै उल्लेखनीय योगदान दिदै आएको अनेसासले यस विषम परिस्थितिमा समेत विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ र निरन्तरता दिइरहेको छ ! ती मध्ये पछिल्लो हप्ता तथा मिति २०७७/०२/०३ गते साँझ ०६बजेदेखि ०८ बजेसम्म एक महत्त्वपूर्ण अभियानका रूपमा ´छन्दविशेष कार्यक्रम` सञ्चालनमा ल्याउँछ! बेलायत निवासी नेपाली भाषासाहित्यसेवी श्रीगणेश घिमिरेको सक्रियतामा अहिलेको नवीन प्रविधि जुमका माध्यमले अन्तर्राष्ट्रिय कविगोष्ठी तथा छन्दकविता वाचन कार्यक्रम सम्पन्न हुन्छ ।

कार्यक्रममा नेपालबाट नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कवि डा०देवी नेपाल र नेपाली कविताका लोकप्रिय छन्दकवि तथा छन्द अभियन्ता श्रीबलराम दाहाल, अमेरिकाबाट प्रसिद्ध छन्दकवि श्रीहरि घिमिरे र प्रसिद्ध कवयत्री दुर्गा रिजाल अनि जापानबाट चर्चित कवयत्री सविना रेग्मीको प्रत्यक्ष सहभागिता रहन्छ भने अप्रत्यक्षरूपमा देशविदेशमा रहेका नेपाली साहित्यका थुप्रै कविकवयत्रीहरू तथा सहृदयी पाठकहरू सहभागी हुन्छन् र पाँचजना स्रष्टाका कवितालाई आआफ्ना मोवाइलबाट ध्यानपूर्वक सुन्न र तत्काल प्रतिक्रिया व्यक्त गर्न व्यस्त रहन्छन्! प्रारम्भमा नेपाली छन्द कविताको वर्तमान स्थिति र लोकप्रियता बढ्नुको कारणका बारेमा कवित्रय (देवी नेपाल,हरि घिमिरे र बलराम दाहाल) बाट आआफ्नो धारणा क्रमश: राखिन्छ! यसक्रममा कवि देवी नेपाल लकडाउनको विषम समय सर्जकले साधना गर्ने अवसरका रूपमा लिएकाले छन्दकविता जागरणका लागि फलदायी बनेको र लयात्मकता, गेयात्मकता, सूक्तिबाहुल्यता, श्रूतिमाधुर्यता , हृदउसंवेद्यता आदि विशेषताले गर्दा छन्दकविताले पाठकको ध्यान आकृष्ट गर्न सफल रहेको अभिमत प्रकट गर्छन्! त्यसैगरी नेपाली कविताविधाका स्थापित स्रष्टा प्राध्यापक हरि घिमिरे नेपालमा सघ्चालित कोकगोष्ठी (कोठे कविगोष्ठी)लाई आफूले अमेरिकामा आई २०६१(सन्२००५)देखि नै निरन्तरता दिदैँ आएको र त्यसका माध्यमले पनि अमेरिकामा छन्दकविताप्रति जनरूचि बढ्दै गएकाले समयसमयमा छन्दकविता सुन्ने र सुनाउने गरिएको बताउँदै छन्द नेपाली लोकपरम्परसँग जोडिएकाले समस्त नेपालीले मन पराउनुको मुख्य कारण हो र त्यसमा पनि शार्दूलविक्रीडित छन्दले विशेष लोकप्रियता हाँसिल गरेको धारढा राख्छन् ।

तदनुरूप वर्तमानमा छन्दकविता सिर्जनामै व्यस्त र वाचनमा मस्त कवि बलराम दाहाल छन्दोबद्ध कविता र छन्दमुक्त कवितामा विवाद गरिरहनुका सट्टा नेपाली साहित्यमा सुरुदेखि हालसम्म के कस्ता कविता रचिए ? तिनलाई सुन्ने र सुनाउने काम आाफ्नो अभियानमार्फत गर्दै आएको, बिस्तारै विदेशी कविले के कस्ता कविता रचेका छन् तिनलाई समेत सुनाउन थालिएको र सीमाविवादले गर्दा देश दुःखेको बेला सीमा विषयक कवितालाई समेत प्राथमिकतामा राखी अभियानमा वाचन गर्न थालिएको बताउँदै सबै क्षेत्र र कालखण्डका कविताको रसास्वादनपश्चात् नै नेपाली कविताको स्तर निर्धारण र मूल्याङ्कनका लागि वहस चलाउने समेत अभियानको योजना रहेको धारणा राख्छन्! अन्तमा छन्दयुक्त वा छन्दमुक्त जे भएपनि कवितामा कवित्व रहनुपर्छ भन्नेमा चाहिँ सहभागी वक्ता कविहरूको सहमति तथा आग्रह देखिन्छ ।

छन्दकविताका सम्बन्धमा कविका विचार प्रस्तुति पश्चात् प्रत्येक कविबाट ३/३वटा कवितावाचन हुन थाल्छ! सर्वप्रथम कवि देवी नेपाल वर्तमान लकडाउनको समयमा अति नै प्रसिद्ध बनेको सन्देशप्रधान छन्दकविता ´निस्कन्न भो बाहिर`सुनाउन थाल्छन्! मृत्युबाहक बनी देखापरेको कोरोनाका विरूद्ध मानवले विजय प्राप्त गरेरै छाड्ने आशावादी स्वर प्रस्तुत कवितामा प्रखर बनेर आएको देखिन्छ! नमुनाका लगि कविताका केही अंशमात्र यहाँ राखिन्छ-
´०धेरै गर्नुछ काम नै धरतीमा निस्कन्न भो बाहिर!०कोरोना पनि जित्न सक्छु सजिलै निस्कन्न भो बाहिर!०धेरै बाँच्नु छ सभ्य मानिस बनी निस्कन्न भो बाहिर!०मैले मृत्युविषाणु जित्नु छ यहाँ निस्कन्न भो बाहिर!`अादि! यसप्रकार नेपालको प्रस्तुत कविता समसामयिक , जनचेतनामूलक एवम् कलात्मक देखिन्छ! त्यसैगरी कवि नेपालको अर्को चर्चित पञ्चचामरछन्दमा रचित ´म गिर्न दिन्न गौरव` शीर्षक कविता घन्किन्छ!पहिलो कविताले लकडाउनको पालना गरी घरमै बस्न सबैलाई सचेत बनाउने काम गरेको थियो भने यसले पुनःमनुष्य शक्तिशाली र बुद्धिजीवी प्राणी भएकाले छिट्टैनै अध्ययन अनुसन्धानबाट मानवले अौषधी पत्ता लगाएरै छाड्ने विश्वास प्रकट गरिएको यस कवितामा पनि आशावादी तथा जीवनवादी स्वर नै प्रखर बनी आएको छ! हेरौँ केही कवितांश-
´०म बस्छु बन्द जेलमा र गर्छु विश्व चिन्तन! निकाल्छु एक अौषधी गरि समुन्द्रमन्थन!० म हार्न दिन्न विश्व यो म मार्न दिन्न मानव! म छिर्न दिन्न विश्व यो म गिर्न दिन्न गौरव!`अादि!! त्यसैगरी देवी नेपाल अन्तिम कविता वाचनका क्रममा राष्ट्रिय सीमा सुरक्षाका विषयमा चिन्ता प्रकट गर्दै लेखिएको कविता ´झण्डा गाडौँ नालापानीमा` यसप्रकार गाउँछन्- ´हाम्रो दाबी नालापानीमा! बैरी घुस्ने कालापानीमा!! यो माटोमा साँच्चै झेला भो! थोत्रो खाँडो झिक्ने बेला भो!! सोझो कान्छो भाला झिक्दैछ! सीमा बाँध्ने कला सिक्दैछ!! सीमा बाँधौँ मेचीकालीमा! झण्डा गाडौँ कालापानीमा!!अादि!! यसप्रकार प्रस्तुत कविता राष्ट्रिय सीमा सुरक्षाका लागि महत्वपूर्ण सुझाव दिएर नेपाली जातिको वीरतालाई सम्झाउने राष्ट्रवादी कलात्मक कविताका रूपमा दरिन आउँछ!

कार्यक्रममा कवि बलराम दाहाल समसामयिक विषयवस्तुमा सिर्जित स्वकीय ´फर्किन्छु फर्किन्छु म` शीर्षक छन्दकविता कलात्मक हाउभाउसहित वाचन गर्न थाल्छन्! प्रकृतिमाथिको मानवीय अतिक्रमणले गर्दा विश्वमा कोरोना महामारी फैलिएको हुनसक्ने भन्दै मानवीय अस्मिता तथा प्राणीजगत्को अस्तित्व सुरक्षणका लागि हामी सबै प्रकृतिको शरणमा फर्किनु पर्ने भाव कवितामा स्पष्ट अभिव्यक्त भएको पाइन्छ! प्रकृतिक‍ो अनावश्यक दोहन गरेकै कारण प्रकृतिले आफ्नो विरुद्ध लागेका मानवजातिको अहङ्कार चूर्ण गर्न यस्तो विनाशकारी रौद्ररूप धारण गरेकी भन्दै यस महामारीबाट पाठ सिकेर मानवजाति सच्चिनु पर्ने तथा आफ्नो उद्गमस्थलतर्फ फर्किनु पर्ने सन्देश प्रवाह गर्न कविता अत्यन्त सफल देखिन्छ! जस्तै केही कवितांश यहाँ उद्धरण गरिन्छ :-
०´पृथ्वीमा अब मानवीय खतरा बढ्दै गएको किन ?
मान्छे मैहुँ भनेर यो प्रकृतिको सक्दो गर्यो दोहन !!
लागेको किन आज ब्रह्मलुटमा ? सामर्थ्य देखाउन ?
थाल्यो मानवजातिमा प्रकृतिले ठाडै चुनौती दिन !!
यो पर्यावरणीयचक्र कसरी मैले बिगारेँ किन ?
निस्की बाहिर जान्छु है प्रकृतिमै फर्किन्छु फर्किन्छु म!! अादि!!
साँच्चै कविले भनेझैँ प्रकृतिमाथिको विकृति ल्याउन तल्लीन आधुनिक र वैज्ञानिक भन्दै अहङ्कारले मात्तिएको समग्र मानवजाति प्राचीन तथा प्राच्य प्राकृतिक जीवनमा फर्किनु अबको आवश्यकता देखिन्छ । त्यसका लागि हामीले हाम्रा जीवनशैली तथा मनमुटुमस्तिष्कलाई समेत सच्याउन अपरिहार्य छ ।

त्यसपछि कवि दाहाल समसामयिक राष्ट्रिय समस्यासँग सम्बन्धित कविता सुनाउँन थाल्छन्-´कान्छा खुँडा झिक् अब`। स्वदेशमाथिको परचक्रीको आक्रमणका विरुद्ध पुनः वीरतापूर्ण गोर्खाली इतिहाँसलाई पछ्याउनु पर्ने , पूर्वजले रगतको खोला बगाएर जोगाएको मुलुक बचाउन हामीले जस्तोसुकै त्याग र बलिदान दिनका लागि अघि बढ्नु पर्ने जागरणको सन्देश अभिव्यक्त भएको तथा राष्ट्रिय चेतना छताछुल्ल भएर पोखिएको जन्मभूमिप्रति समर्पित उत्कृष्ट राष्ट्रवादी कविताका रूपमा दाहालको यस कवितालाई मूल्याङ्कन गर्न सकिन्छ! दाहाल बुलन्द आवाजमा -´कान्छा खुँडा झिक् अब । कान्छा खुकुरी नचा तँ! नामर्दजस्तो करी बसूँ म ? जो गाड्छ आँखा कसरी सहूँ म ? सकिन्न हेपाइ सहेर बस्न ! कान्छा खुँडा झिकणन ढिलो नगर् तँ! नक्सा पुरानै प्रिय लाग्छ हेर्न ! छ पढ्नु मैले अब झुक्नु हुन्न !` भन्दै गर्जन थालेपछि सबै दर्शक र श्रोता सहृदयीको हृदय नै जुरुकजुरुक हुन पुग्छ ! तत्कालै खुँडा र खुकुरी नचाउन भावकीय हृदय जागरुक बन्न थाल्छ ।

त्यसपछि पुनः कवि दाहाल निकै लोकप्रिय बनिसकेको कविता ´छैन कोठामा पुगेर नरोएको कुनै दिन` वाचन गर्न थाल्छन्! वस्तुतःयो कविता धेरै अघि लेखिएको भएपनि अाजपनि उत्तिकै सान्दर्भिक देखिन्छ!आजपनि सबै मानवजाति कोठाभित्र बसेर रोएकै छन्, आधारभूत आवश्यकताबाट आधारभूत आवश्यकताबाट वञ्चित भएर अभावैअभावमा आतेसलाग्दो जीवन यापन गर्न विवश छन्! विशेषगरी जागिरे जीवनको बाध्यात्मक दयनीय अवस्थाको चित्रण गर्न सफल यो कविता सबै श्रमजीवीको पीडा बोल्न सफल भएको छ!मानवीय अन्तर्वेदना बोलेकाले जहिल्यै जीवन्त , सार्वजनीन र सार्वकालिक बन्न सफल रहेको छ! अत्यन्त मार्मिक र हृदयस्पर्शी प्रस्तुत कविता यसरी सुरु हुन्छ-
´एउटा चिन्ता सक्यो फेरि अर्को चिन्ता भयो सुरु !
चिन्तै चिन्ता छ चिन्ताको के होला अौषधी गुरु ?
चिन्ता भविष्यको होइन वर्तमान धराप छ ! ०
०जडीबुटीहरू बेच्छन् भूसको मूल्यमा उता !
सुनको मूल्यमा किन्छन् अौषधीरूपमा यता !!०अादि!!
वैयक्तिक चिन्ताबाट सुरुवात भएको कविता राष्ट्रिय समस्या चित्रण गर्न सफल भएको छ! आजको चिन्ताजनक समयमा कविता अझ हृदयस्पर्शी र मार्मिक बन्न सफल भएको छ! नेपाली राजनीतिक तथा सामाजिक क्षेत्रमा विद्यमान बृथिति र विसङ्गतिप्रति कडा व्यङ्ग्य प्रहार गरिएको चोटिलो यस कविताले घुमाउरो शैलीमा राजनीतिक तथा सामाजिक सुधारको आवाज उठाएको छ । त्यसैले यसलाई समस्यापरक सुधारवादी सिर्जनाका रूपमा ग्रहण गर्न सकिने स्थिति देखिन्छ ।

अमेरिका बस्द‌ै आएका सशक्त कवि हरि घिमिरे आफ्ना कविता वाचनका क्रममा सर्वप्रथम श्लेषात्मक गहन कविता प्रस्तुत गर्छन् ! जुन कवितालाई पाठकले रसास्वादन गर्न सहजताका उद्देश्यले यहाँ यथावत राखिन्छ –

अनुष्टुप( श्लेष )

पिरोले भ्रष्ट नेताले उपचार नि के छ र?
पिरोले पिल्सिदै आँखा रुनबाहेक के छ र? ।

नभैमा ढाकियो कालो भ्रष्टाचार सबैतिर
न भै बाँचिन्न नेताले? जनसामर्थ्य छैन र? ।

मनैमात्र सफा हुन्थ्यो , बन्थ्यो राष्ट्र समुन्नत
‘म नै ठूलो ‘ अहं भैद्यो राख्न खोजेर इज्जत ।

छरे जातीयता बीउ मासे सँस्कृति वैभव
छ रे हात विदेसीको के मनाउनु उत्सव?

नबोली नबसौं कत्ति खुला अन्यायमा पनि
न बोली बुझ्न नै सक्छौं नेता बोल्दा यसै पनि

‘ न भेटी न प्रसादै छ ‘ भन्दै घुर्की लगाउँछन्
नभेटी नहुने मान्छे खुट्टा ढोगी फकाउँछन्

खसी ख्वाएर सौदामा आफ्नो स्वार्थ पटाउँने
खसी नजरमा तिन्ले खै के नाम कमाउँने ?

‘अब सान ‘ बढ्यो भन्दै मन्त्री खान पुगेपछि
अवसान भयो तिम्रो उच्चाकाङ्क्षा बढेपछि

‘ म सान ‘ गर्छु भन्नेले बिर्सिन्छन् इतिहास नै
मसान जिन्दगी तिम्रोे खै के लान्छौ र अन्त्य मैं
———-
भावात्मक तथा कलात्मक दुबै दृष्टिले कविता उच्चकोटिको बनेको छ! नेपाली राजनीतिमा मौलाउँदै गएको भ्रष्टाचारी प्रवृत्तिको उछितो काढ्दै नेतृत्ववर्गकै कारण देश लथालिङ्ग र भताभुङ्ग बनेकोप्रति चिन्ता प्रकट गर्दै जन्मभूमिप्रति मायाप्रकट गरिएको उत्कृष्ट देशभक्तिपरक एवम् व्यङ्ग्यमूलक कविता बनेको छ । श्लेषको समुचित प्रयोगले छन्दकविताको शक्ति प्रदर्शन गर्न समेत प्रस्तुत कविता सफल रहेको छ ।
त्यसैगरी घिमिरेको अर्को ´टुप्पा पलाए तल बिर्सिदिन्छ` शीर्षक कविता वाचन हुन्छ! जुन कविताले सत्तामा पुगेपछि तलका जनतालाई चटक्कै बिर्सिदिने स्वार्थी नेताको छट्टुप्रवृत्तिलाई दह्रो व्यङ्ग्य छेडेको छ!साथै आममानवप्रति नै त्यो व्यङ्ग्यको झटारो बज्रिएको छ! जस्तै : ´वरत्र भन्दा पनि पर्सिदैन! परत्र भन्दा पनि तर्सिदैन!०आफन्त भन्ने सब बिर्सिदिन्छ!` आफ्नो दुनो सिधा हुनासाथ बेवास्ता गर्ने तथा थोरै धनसम्पत्ति, पदप्रतिष्ठा प्राप्त गरेपछि कसैलाई नगन्ने मानवीय अहङ्कारी प्रवृत्तिलाई कविताले कलात्मक ढङ्गले चित्रण गरेको छ ! कविताले मानवीय स्वर्थीप्रवृत्ति तथा राजनीतिक नेतृत्वको लाचारी एवम् भ्रष्टाचारी प्रवृत्तिप्रति उछितो कढ्ने काम गरेको छ ! पुनश्च कविताको एक पद्य उद्धरण गरिन्छ :
´न दुख्छ छाती वर साँध सर्दा! न हुन्छ पीडा परिवार मर्दा!!
स्वादिष्ट खाना अनि प्यूनलाई! सम्पूर्ण देशै पनि बिर्सिदिन्छ!!`

अमेरिकाको वासिङ्टनडिसीमा बस्दै आएकी शालीनताकी धनी नेपाली कवयत्री दुर्गा रिजाल पञ्चचामर छन्दमा सिर्जित सीमाविषयक ´आह्वान` शीर्षक कविता वाचन गर्न थाल्छिन्! जुन कविताले राष्ट्रिय सीमा सुरक्षणका लागि नेपाली युवावर्गलाई एकताबद्ध भई परचक्रीका सामु लड्न आह्वान गरेको छ! देश दुःखेको बेलामा कुनै पनि सचेत नेपाली युवावर्ग चुप लागेर बस्न सक्दैन र हुँदैन पनि! त्यसैले कवयत्रीको कवितामा आह्वान यस्तो छ- केही अंश हेरौँ :
´चमक्क चम्क हे युवा०चरक्क देश चर्किदा!
जुरुक्क जाग हृ युवा स्वदेश दर्दमा हुँदा !००
०बलिष्ठतम्म हे युवा नछोड लिम्पियाधुरा!
नमाग भीख हे युवा गरेर बाँच उद्यम !००
स्वराष्ट्र भूमि टुक्रिँदा सशस्त्र तारबार हौ!०
तिमी सुधार विश्व नै बनेर बुद्ध मानव!!` अादि!!
यसप्रकार नेपाली युवालाई स्वावलम्वी तथा उद्यमी भएर स्वराष्ट्रमा समर्पित हुन तथा स्वदेशी भूमि जोगाउनका लागि लड्नसमेत आह्वान गरिएको छ , त्यसैले त कविता राष्ट्रवादी बन्न पुगेको छ! तणयसैगरी शैलीपक्ष नियाल्दा ´ चमक्क -चरक्क, जुरुक्क हुरुक्क, वारपार तारवार, दानव मानव जस्ता शव्दप्रयोग तथा अाद्यानुप्रास, मध्यानुप्रास, अन्त्यानुप्रासले कवितालाई अझ बेजोड बनाएको छ!अत: कलात्मक तथा भावात्मक दुवैपक्षले कविता उच्च कोटिको बनेको छ!

यसप्रकार राष्ट्रियताको भावनाले रगत उमाल्ने कविता पस्किएपछि पुनः दुर्गा रिजालबाट सहृदयीलाई उकुसमुकुसको पीडाको धुँवाले पिरोल्न सफल शोककविता [राघव शोककाव्य] वाचन हुन्छ यसरी :
´तिम्रो रूप मुहारमा लहरिँदा थालेँ म मुर्जाउन!०००
भो भैगो बरू रुन्छु सास रहँदा त्यो रूप सम्झाइदे!
हे मातृत्व अपार धन्य बनिदे वात्सल्य व्यूँझाइदे !!
०उस्तै लाग्छ नियाल्न पुग्छु नजिकै आएर झुम्मिन्छ कि ?०
०खाना पाक्छ दिमाग गर्छ झगडा आएन कान्छो भनी!०
०तिम्रो त्यो प्रतिविम्व डुल्छ मनमा निद्रा हराए कति!!`अादि!!
पुत्रवियोगबाट छचल्किएको वात्सल्य प्रेमपूर्ण मातृउद्गारले सबै भावकको हृदयलाई पगाल्न र अश्रुप्रवाह छचल्काउन कविता सफल भएको छ! त्यसैले यहाँ संस्कृतकवि भवभूतिको ´एको रसः करूण एव`भन्ने भनाइलाई कविताको भावविधान र कवयत्रीको मधुरवाचनले सम्झाइ दिएको छ! बैँसालु उमेरको मायाको ड‍रो कान्छो छोरो गुमाउनु पर्दाको कठोर पीडाको भाव कवयत्रीको मुखमण्डलमा जस्तै कवितामा झल्किएको छ! जात्स्य हि ध्रुवो मृत्यु: अर्थात् जन्मे पछि मर्नु पर्छ भन्ने गीतादर्शन जान्दाजान्दै पनि कविबाट ´मात्र प्रश्न उठाउँदै छु अहिले उँल्टो र अल्पायुको` भन्दै विधिको अन्यायपूर्ण शासनप्रति प्रश्न उठाइएको छ! जसले गर्दा कविता अझ मर्मस्पर्शी बनेको छ!

अन्तमा जापान बस्दै आएकी युवा नारीप्रतिभा सविना गिरि आफ्ना सशक्त सिर्जना वाचन गर्छिन्! जन्मभूमिबाट टाढा रहनु पर्दाको पीडा ´बजार्न पाऊँ पाखुरी` कविताका माध्यमले यसरी अभिव्यक्त गर्छिन् :
´भएनि पर्व फूलको न मुस्कुराउ साकुरा!
गुराँसमाझ फुल्छु मै छ लालदेश टाकुरा!!
म पारिजातझैँ सदा सुवास मग्मगाउने !
मलाई जन्मभूमिको सदैव याद आउने !!
म फर्किएर गर्छु क्यै पलाउँदैछ अाँकुरा!
स्वदेश फर्किएर यी बजार्न पाउँ पाखुरा!!
कठोर यातना न हो विदेश भन्नु आखिर !
न सोच्नु दाइभाइ हो विदेश हुन्छ सुन्दर!!
म जन्मिएछु स्वर्गमा सदैव भन्छु गर्वले!!०००आदि!!
यसप्रकार कविले एकातर्फ प्रवासबाट चाँडै स्वदेश फर्कन पाऊँ भन्ने स्वकिय अभिलाषा प्रकट गरेकी छिन् भने अर्कातर्फ विदेश जान लालायित नेपाली युवालाई विदेशमा दुःखकष्ट यातना धेरै भोग्नुपर्ने यथार्थलाई झल्काउँदै स्वदेशमै बसी उद्यम गर्न आह्वान गरेकी छिन् ! त्यसैले कविताले प्रवासी नेपालीको पीडा बोलेकाले हृदयस्पर्शी तथा जन्मभूमिप्रति अगाध माया तथा अास्था समर्पणले गर्दा राष्ट्रवादी बनेको छ ! त्यसैगरी कवयत्री सविनाले अर्को महामारी विषयक ´कोरोना` कविता सुनाएकी छिन्! कोरोनाले निम्त्याएको त्रासलाई कवितामा मार्मिक ढङ्गले प्रस्तुत भएको छ! ´मान्छेले जब नाश यो प्रकृतिको गर्दा रिसायो कि त?`भन्ने प्रश्न गर्दै प्रकृतिमथिको अतिशय दोहनले गर्दा यस्ता महामारी फैलिएको हुन सक्ने धारणा कविले राखेकी छिन्! ´ हामी एक समान मानव सबै हौँ भन्छ यो त्रासले` भन्दै कोरोनाले हामी सबै मानव समान छौँ भन्ने सन्देश दिएको छ भन्ने तथ्यलाई समेत प्रकट गरेकी छिन्!
सबै समेट्ने प्रयास गर्दागर्द‌ै पनि अतिविस्तारभयले कार्यक्रमा पाँचजना कविद्वारा वाचन भएका पन्ध्रवटा (५×३=१५) कविताका बारेमा समेट्न नसकिएकाले त्यसदिन प्रत्यक्ष कार्यक्रममा कविता सुनेर तत्क्षणमै दिइएका प्रतिक्रियाले कविताप्रति पक्कै न्याय गरेको छ! त्यसैले
अनेसासद्वारा आयोजित छन्दकवितामाथि गरिएका स्वकीय प्रतिक्रियात्मक संक्षिप्त टिप्पणी जस्ताको त्यस्तै पस्किएँ।

१.कविवर बलरामज्यूको=फर्किन्छु फर्किन्छु म=वैश्विक महामारीले निम्त्याएको दु:खद परिस्थितिको मार्मिक वर्णन गर्दै मानवीय कमजोरी तथा विश्व पर्यावरणमा विज्ञानले पारेको दुष्प्रभावको चित्रण गर्दै अहङ्कार परित्याग गरी प्रकृतिको संरक्षणमा लाग्न सके पुनः हामी पुनः सुखी रहने आशावादी स्वरयुक्त बेजोड कविता!नमन कविवर!!

२.दुर्गा रिजालज्यूको-आह्वान-कविता!
चमक्क चम्क हे युवा ! आहा!मीठो भाव !!देश दुःखेको बेला सीमासम्बन्धी सुन्दर सिर्जना!
स्वदेशको भौगोलिक सीमा सुरक्षणका लागि एकताबद्ध भएर अघि बढ्न युवावर्गलाई आह्वान गरिएको उत्कृष्ट राष्ट्रवादी कविता! वाह! नमन कविवर!
तिमी सुधार विश्व नै बनेर बुद्ध मानव!!

३.वैयक्तिक जागिरे जीवनको समस्या चित्रणबाट सुरु हुँदै राष्ट्रिय समस्यालाई उतार्न सफल उत्कृष्ट हृदयस्पर्शी कविताका कविवर बलरामज्यूलाई नमन ! वाह ! जीवन्त र कलात्मक छ कविता!!

४.हृदयस्पर्शी कविता दुर्गा दिदीज्यूको ! अाहा!!
हे मातृत्व अपार धन्य बनिदे वात्सल्य बर्साइदे०!
पुत्रवियोगमा मातृव्यथालाई कलात्मक तथा मार्मिक ढङ्गले चित्रण गरिएको मर्मभेदी शोककविता! नमन कविवर!!यहाँलाई समवेना समर्पण समेत गरेँ ।।

५.कविवर देवीसरको -म गिर्न दिन्न गौरव-कविताले मानवजातिको पौरुषप्रति पूर्ण विश्वास प्रकट गरिएको अाशावादी स्वर सुसेलिएको पौराणिक विम्वप्रतीक तथा मिथकको सुन्दर संयोजन गरिएको जीवनवादी जीवन्त कविता!नमन!

६..सविनाज्यूको उत्कृष्ट कविता ! आहा !! राष्ट्र रहेमात्र हाम्रो अस्तित्व रहने भन्दै स्वकिय अस्तित्व तथा राष्ट्रिय सीमा सुरक्षणका लागि आह्वान गरिएको उत्कृष्ट राष्ट्रवादी कविता ! आहा ! कविवर नमन समर्पण ! मर्मस्पर्शी र कलात्मक छ कविता ! वाह!!

७.अाहा ! कविवर बलरामज्यूको-कान्छा खुँडा झिक्न ढिलो नगर् तँ ! रगत बुलुक्क उमाल्ने हृदय नै जुरुक्क पार्ने राष्ट्रिय अस्मिता जोगाउनका लागि नेपालीलाई आाह्वान गरिएको वीररसप्रधान राष्ट्रवादी बेजोड कविता ! अाहा दिव्य छ ! नमन कविवर! जय होस्।।

८.कविवर देवी नेपालको-झण्डा गाडौँ कालापानीमा-!
=============================
ऐतिहासिक वीरताको स्मरणपूर्वक वैरीबाट स्वदेशको सीमा सुरक्षणका लागि आह्वान गरिएको स्वदेशप्रति समर्पित उत्कृष्ट राष्ट्रवादी कविता ! नमन कविवर जय होस् ।।

९.कविवर हरि घिमिरेको गजल!
—————————–
०मुद्दा उठाए कर तानिदिन्छ० ! अाहा! राजनीतिक नेतृत्व तथा शासकवर्गप्रति कडा व्यङ्ग्य छेडिएको बेजोड तथा उत्कृष्ट गजल छ । नमन!

१०.हरि घिमिरेको कविता -श्लेष- श्लेष अलङ्कारद्वारा अलङ्कृत राजनीतिक व्यङ्ग्यप्रधान उत्कृष्ट कविता!
पिरोले भ्रष्टनेताले उपचार नि के छ र? पिरोले पिल्सिदै आँखा रुनबाहेक के छर ? आहा मीठो श्लेषको सिर्जना! देशको विकास गर्छु भन्दै कुर्लने नेतृत्ववर्गकै कारण देश अधोगतितिर (भड्खालामा)जाकिन पुगेको र नेताकै जातीयतासम्बन्धी चर्का नाराले देशलाई गृहयुद्धतर्फ धकेलेको कटुयथार्थलाई चित्रण गर्दै देश र जनताको भविष्यमाथि चिन्ता प्रकट गरिएको बेजोड कविता ।स्वकीय स्वार्थ तथा भ्रष्टाचारमा लागिपरेका नेपाली राजनीतिक नेतृत्वप्रति व्यङ्ग्यको झापड हान्न सफल कविता। कविवर हरिसरप्रति नमन!जय होस् ।

११. हरि घिमिरेको जिन्दगी
मानवमात्रका दैवी एवम् राक्षसी प्रवृत्तिको कलात्मक चित्रण गर्दै जीवनको सूक्ष्म विश्लेषण!
´मरेर बाँच्नु पनि जिन्दगी हो!बाँचेर मर्नु पनि जिन्दगी हो !!`
अाहा समीपस्थ विपर्यासको सुन्दर प्रयोग, अागो र पानीसँग गरिएको तुलना,नेता र जनताको भिन्नता, दुष्ट सज्जनका विशेषता अादिको सुन्दर चित्रण, साथै शासकवर्ग (नेतृत्व) र शासित/शोषितवर्ग (नेपाली जनता)को जीवनशैलीको कलात्मक चित्रण गर्दै राजनीतिक विसङ्गतिप्रति कटाक्षप्रहार गरिएको उत्कृष्ट व्यङ्ग्यप्रधान कविता !! आहा!हृदयस्पर्शी छ
´कतै छ रातो कपडा बिछौना!कात्रो नभेट्ने पनि जिन्दगी हो!`
साथमा पशुपंक्षीको निश्छल र निष्कपट जिन्दगीप्रति मोहप्रकट ,रूखमा पात पलाउनु र झर्नु जस्तै जीवन र मृत्यु प्राकृतिक हुन् भन्ने तथ्यलाई प्रकट गरिएको प्रकृतिप्रेमी तथा जीवनवादी उच्चकोटिको कविता!नमन कविवर!जय होस्!!

१२.कविवर सविनाजीको पञ्चचामर छन्दमा सिर्जित जन्मभूमिप्रति समर्पित उत्कृष्ट कविता! स्वदेश फिरेर पाखुरी बजाई देशको विकासमा योगदान दिदैँ सन्तोषपूर्ण जीवन यापनको सुन्दर परिकल्पना गरिएको सन्देशप्रधान उत्कृष्ट राष्ट्रवादी कविता ! नमन कविवर ! जय होस्।

१३.दुर्गा दिदीज्यूको हृदयस्पर्शी राष्ट्रवादी कविता! भूमि लुछेर खानेलाई गिद्धको संज्ञा दिदैँ खरायोले समेत बुद्धिमता प्रदर्शन गरेर दौडमा विजय प्राप्त गर्न सक्ने सूक्ष्म आख्यानको समेत प्रयोग गर्दै स्वदेशको रक्षार्थ जुट्न आह्वान गरिएको र वीर गोरखालीजातिको वलिदानीपूर्ण वीरतालाई स्मरण गरिएको उत्कृष्ट राष्ट्रवादी कविता ! नमन दिदीज्यू ! जय होस् ।।

१४.सविनाज्यूको अन्तिम कविता-कोरोना!अाहा मीठो स्वर र हृदयस्पर्शी सिर्जना! प्रकृतिमाथिको मानवी अतिक्रमणबाट नै आज मानवजाति भयभीत हुनुपरेको कारूणिक अवस्थाको चित्रणपूर्वक कोरोना विरुद्ध लड्नका लागि बुद्ध बन्नु पर्ने दिव्य सन्देश प्रधान गरिएको उत्कृष्ट कविता ! नमन कविवर सविनाज्यू !

१५.सविनाज्यूको अन्तिम कविता-कोरोना!अाहा मीठो स्वर र हृदयस्पर्शी सिर्जना! प्रकृतिमाथिको मानवीय अतिक्रमणबाट नै आज मानवजाति भयभीत हुनुपरेको कारूणिक अवस्थाको चित्रणपूर्वक कोरोना विरुद्ध लड्नका लागि बुद्ध बन्नु पर्ने दिव्य सन्देश प्रधान गरिएको उत्कृष्ट कविता ! नमन कविवर सविनाज्यू !
अनेसासप्रति आभार तथा साहित्यिक नमन !

यसप्रकार लगभग दुईघण्टासम्म चलेको छन्दविशेष प्राविधिक प्रत्यक्ष कार्यक्रम (जुमलाइभ प्रोग्राम)अत्यन्त रमणीय तथा हृदय आह्लादक रह्यो भने छन्दकविता सम्बन्धित विचारविमर्शले गर्दा ज्ञानवर्धक पनि ! लकडाउनको समयमा प्रवासी भूमि(अस्ट्रेलिया)बाट सञ्चालित यस साहित्यिक छन्दविशेष कार्यकमले साँच्चै नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान दिदैँ अाएको छ भन्ने तथ्यलाई पुष्टि गर्न सफल भएको छ! नेपाली साहित्यमा कविता विधाअन्तर्गत छन्दकविताको इतिहासमा यस कार्यक्रमले आफ्नो बलियो पाइला राख्न सफल भएको छ! त्यसैले समस्त नेपाली साहित्यानुरागी तथा भाषासाहित्यसेवीका तर्फबाट अनेसास परिवारलाई निरन्तर साहित्यिकयात्राको शुभकामना सहित हार्दिक बधाइ ! साथै विभिन्न देशमा रहेका कवि कवयत्रीलाई संयोजन गरी छन्दकविताको मधुर रसास्वादन गराउन संयोजकको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुहुने सर्जकअनेसासका केन्द्रीय महासचिव श्री गणेश घिमिरेलाई आभारपूर्वक साहित्यिक अभिवादन! जय होस्!!