परीक्षणको पालो कुर्दै साढे १४ हजार


हरेकपल May 19, 2020

बुटवल । पाँच नम्बर प्रदेशका तराईका ६ वटै जिल्लामा कोरोना संक्रमण छ। भारतबाट पछिल्लो १५ दिनमा भित्रिएकामध्ये १४ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा छन्। भारतबाट आउनेमै कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गरिनेछ। तर यी कहिलेसम्म क्वारेन्टाइनमा बसिराख्ने पत्तो छैन।

प्रदेशमा तीनवटा प्रयोगशाला छन्। यहाको स्वाब काठमाडौं लगेर समेत परीक्षण गरिएको छ। त्यति गरिँदासमेत दैनिक १ सयदेखि २ सय ५० सम्मको परीक्षण हुन्छ। आइतबार जम्मा १ सय ३१ जनाको मात्रै परीक्षण भयो। अहिलेसम्म गरिएको ४ हजार ५ सय जनाको परीक्षणमा १ सय १० जनामा कोरोना भेटिएको छ। एक जनाले क्वारेन्टाइनमै ज्यान गुमाएका छन्।

क्वारेन्टाइनमा बसेको १४ दिन अवधि पूरा हुँदा समेत कोरोना परीक्षण नभएपछि भाग्नेहरू बढ्दै गएका छन्। भारतबाट आएकामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा छन्। एकै पालिकामा १५ सय जनासम्म क्वारेन्टाइनमा बसेका छन्। तराईको चर्को गर्मी र पंखा समेत नभएका विद्यालयका कक्षाकोठामा बसेकाहरू भागेका हुन्।

बाँकेको नरैनापुरमा एक जनाको मृत्यु भएपछि क्वारेन्टाइनमा बस्नेहरू झन् त्रासमा छन्। एकबाट अर्कोमा रोग संक्रमण हुने जोखिम त छँदैछ, रोग नै पत्ता नलागि मरिन्छ कि भन्ने चिन्ता थपिएको छ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाकै क्वारेन्टाइनमा बसेका ४५ जना त्यही डरले भागेका छन्। वडा नं २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोरका २२ जना भागेका हुन्। वडाअध्यक्ष साबुद्दिन मुसलमानका अनुसार उनीहरूलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी छ।

प्रदेश ५ का नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाके र बर्दियामा भारतबाट आएकाको संख्या धेरै छ। परीक्षण नहुँदा क्वारेन्टाइनमै कतिञ्जेल बस्ने भन्ने अन्योल भएको छ। रुपन्देहीको क्वारेन्टाइनमा बसेकाहरू भारतको नौतनवामा समेत १४ दिनभन्दा धेरै दिन बसेर आएका हुन्। उनीहरू समेत परीक्षणको पालो कुरेर बसेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले एक दुई दिनमा किट उपलब्ध हुने पालिका प्रमुखहरूलाई आश्वासन दिएका छन्। भारतबाट आउने क्रम नरोकिएको र परीक्षण सयको हाराहारीमै हुँदा अहिले क्वारेन्टाइनमा रहेकोको परीक्षण गर्न महिनौं लाग्ने देखिएको छ। अन्नपूर्ण पाष्टमा खबर छ ।