नरैनापुरमा सन्त्रास, एकैदिन फेला परेका ५९ संक्रमित अझैं क्वारेन्टिनमै


हरेकपल May 19, 2020

बाँके । सोमवार बेलुका ४७ र रातिमा थप १२ जनामा गरि एकै दिन ५९ जनामा संक्रमण पुष्टि भएपछि बाँकेको नरैनापुरमा सन्त्रास फैलिएको छ ।
नयाँ थपिएका ५९ संक्रमितलाई कहाँ लगेर राख्ने भन्ने कुराको पनि अझैं टुंगो लागिसकेको छैन।
त्यसो त फेला परेका नयाँ संक्रमितलाई यो खबर तयार पर्दासम्म स्थनीय विद्यालयहरुमा निर्मित क्वारेन्टिनमै राखिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र (रेड जोन) घोषणा गर्दै पूरै गाउँपालिकालाई सिल गर्ने तयारी गरिएको छ।

बाँकेको खजुरास्थित २५ बेड क्षमताको कोरोना अस्पताल खाली नभएको हुँदा नयाँ संक्रमितका लागि कुन ठाउँमा आइसोलेसन अस्पताल बनाउने भन्ने बाँकेमा मंगलवार विहानैदेखि छलफल सुरु भएको एक अधिकारीले बताएका छन्।

२७० जनाको स्वाब परीक्षण रिपोर्टमा ५९ जनामा कोरोना पुष्टि भएको हो। नरैनापुरमा मात्रै हालसम्म ६७ जनामा कोरोना पुष्टि भइसकेको छ। अझैं ४९९ जनाको नमुना संकलन तथा रिपोर्ट आउन बाँकी रहेको छ।

नरैनापुरका कुल संक्रमित ६७ जना मध्य नरैनापुर ५ का २५ बर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भइसकेको छ।