काम किन साँचेर राख्नु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल May 19, 2020

न हि कश्चित् विजानाति किं कस्य श्वो भविष्यति ।
अतः श्वः करणीयानि कुर्यादद्यैव बुद्धिमान् ।।
– संस्कृत सुभाषितम्

भोलि गर्ने काम आजै गर्नु नै बुद्धिमानी हुन्छ । किनकि भोलि कसलाई के हुन्छ कसैलाई थाह हुँदैन ।

‘भोलि गर्ने काम आजै गर्नू र आज गर्ने काम अहिल्यै गर्नू’ भन्ने उखान त नेपाली समाजमा प्रचलित नै छ । यो संसारमा भविष्यमा के हुन्छ भन्ने कुराको सम्पूर्ण ज्ञान गर्न सक्ने व्यक्ति पाउन असम्भव छ । किनकि ‘दैवो नजानाति कुतो मनुष्य…..’ अर्थात् देवताले त जान्न सक्दैनन् भने मनुष्यको सामथ्र्य छैन । यो संसार रहस्यै रहस्यले भरिएको छ । ज्योतिष आदि शास्त्रले केवल प्रक्षेपण मात्र गर्ने हो । निश्चय गर्न असम्भव छ । त्यसैले भोलि के हुन्छ भन्ने कुरा कसैलाई पनि थाह नहुने भएकाले भोलिको काम आजै र आजको काम अहिले नै गर्नु भनिएको हो ।
यसैगरी ‘काम साँची आफूलाई खान साँची अर्कालाई’ भन्ने उखान पनि प्रचलन मै छ । आफूले साँचेको काम अरुले गरिदिदैनन् । प्रकृतिको नियम नै यस्तै छ कि आफ्नो काम आफैले नै गर्नुपर्दछ । संसारको गति निरन्तर चलिरहेको छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई पनि थाह हुँदैन । त्यसैले भोलि गर्ने काम आज र भरे गर्ने काम अहिले गर्नु पर्छ भनिएको हो । काम थाती राख्नु आफ्नै लागि बोझ हुने भएकाले पनि कार्यलाई बाँकी नराख्नु नै बुद्धिमानी हुन्छ भन्ने नीति वचन मननीय छ ।