लिम्पियाधुरासहितको भूभाग फिर्ता लिएर छाड्ने प्रधानमन्त्रीको घोषणा


हरेकपल May 20, 2020

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई फिर्ता लिएर छाड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले अब यो विषय टुंगोमा पुर्‍याएरै छाड्ने अठोट गरे ।

उनले लिम्पियाधुरा भारतले अतिक्रमण गर्नुअघिको प्रसंग केलाए । ‘यो हाम्रो भूभाग हो । १८ सालसम्म त्यहाँँ जनगणना गर्ने, तिरो उठाउने काम भइरहेको थियो । त्यसपछि तिरो उठाउनेजस्ता कामहरू गर्न जान नदिने, रोक्ने खालको कामहरू भए । र, खासगरी सन् १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि त्यसभन्दा पश्चिमको भूभागमा जान ब्लक भयौैँ, ब्लक गरियो । र, त्यो विषय ओझेलमा पर्दै गयो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषय ओझेल पर्न वा सेलाउन दिइनेछैन । यसको निष्कर्ष निकालिन्छ, यो हाम्रो भूभाग हामी फिर्ता लिएर छाड्छौँ ।’

नेपालको भूमिलाई भारतले विवादास्पद बनाएको उनको भनाइ थियो । ‘त्यो विवादास्पद होइन, हाम्रो भूमि बेकारको अकुपाई गरेर विवादास्पद बनाएको छ । हामीले अर्गेल गरेको भए पो कोही रिसाउँछ कि भन्ने ठान्नुपर्ने । हामीले अर्गेल्याइँ गरेको छैन,’ उनले भने, ‘कूटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गरिनेछ । यो भूभाग फिर्ता ल्याइनेछ ।’ यही अठोटका साथ नीति तथा कार्यक्रममा उल्लेख गरिएको उनको भनाइ थियो । नयाँपत्रिका दैनिकमा खबर छ ।