काठमाडौं । मुलुकमा कोरोना संक्रमण फैलन नदिन स्थानीय सरकारले लकडाउन गर्नुअघिबाटै बाहिरबाट आएका र शंकास्पद बिरामीलाई राख्न बनाएका क्वारेन्टाइनहरू नाम मात्रैका छन् । अधिकांश ठाउँमा विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ, जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, सद्दे मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ ।
क्वारेन्टाइनहरूमा सुत्नेसँगै खानेपानी, शौचालयजस्ता आधारभूत सुविधासमेत छैनन् । यसले गर्दा त्यहाँ गएकाहरू बिरामी हुने र ज्यानै गुमाउने अवस्थामा पुग्न थालेका छन् । अव्यवस्थाबाट वाक्क भएर कतिपय क्वारेन्टाइनबाट आशंकितहरू भागेका समेत छन् ।
बाँकेको नरैनापुर–५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेका स्थानीय युवकको गत आइतबार बिहान कोभिड–१९ संक्रमणबाट मृत्यु भयो ।
शनिबार साँझबाट उनको अवस्था गम्भीर बनेपछि उपचारका लागि नेपालगन्ज लैजाने कोही भएन । एक साताअघि भारतबाट आएका ३९ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ खाने, बस्ने, सुत्ने नाममात्रको व्यवस्था थियो । रेखदेखका लागि खटिएका स्वयंसेवकसित स्वास्थ्य सुरक्षा सामग्री थिएनन् । गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी आइदिएनन् ।
क्वारेन्टाइन रेखदेखका लागि खटिएका गाउँपालिकाका हेल्थ असिस्टेन्ट दिनेश मौर्यले सुरक्षाकर्मीले खबर गर्नासाथ क्वारेन्टाइन पुगे पनि एम्बुलेन्स खोज्दाखोज्दै युवकको मृत्यु भयो । नेपालगन्जको भेरी अस्पतालमा सोमबार नरैनापुरका क्वारेन्टाइनमा बसेका २ सय ७२ जनाको स्वाब परीक्षण हुँदा ५९ संक्रमित पाइए ।
चिकित्सकले क्वारेन्टाइनमा सामाजिक दूरी र निगरानी नहुँदा संक्रमण व्यापक भएको बताएका छन् । यो घटनाले सीमावर्ती जिल्लामा हतारमा तयार गरिएका क्वारेन्टाइनको व्यवस्थापन झल्काएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित कोरिया–नेपाल टेक्निकल इन्स्टिच्युटको क्वारेन्टाइनमा मंगलबारसम्म १ सय १३ जना छन् । त्यहाँ एक जनस्वास्थ्य निरीक्षक खटिएका छन् । क्वारेन्टाइन मापदण्डको दफा ४ को उपदफा १ मा सुत्नका लागि एकबाट अर्को खाटको दूरी ३।५ फिट, एक कोठामा बढीमा ३ जना, बढीमा ६ जनाका लागि एक शौचालय हुनुपर्ने व्यवस्था छ । कोठामा सम्भव नभए छुट्टै बाथरुम हुनुपर्छ । त्यहाँ एक कोठामा लस्करै १५ जना सुत्ने गरेका छन् । खाट छैन । शौचालयका लागि बिहान कम्तीमा डेढ घण्टा लाम लाग्नुपर्छ । पानीको धारा एउटा मात्र छ । ‘साँझ परेपछि लामखुट्टे लागेर सुत्नै सकिँदैन,’ त्यहाँ रहेका एक युवकले भने, ‘झुल छैन, नेट र टीभीको त कुरै नगरौं ।’
प्रदेश ५ का अधिकांश क्वारेन्टाइनको अवस्था योभन्दा फरक छैन । पहाडी ६ जिल्लाका क्वारेन्टाइनमा भने उस्तो चाप छैन । लकडाउनपूर्व सञ्चालनमा आएकाले तिनमा खाने, सुत्ने व्यवस्था मिलेको छ । भारतबाट स्वदेश आउनेको चाप बढेपछि सीमावर्ती स्थानीय तहले दुई सातायता सञ्चालनमा ल्याएका क्वारेन्टाइनको अवस्थाचाहिँ हुनुसम्मको भद्रगोल छ । कान्तिपुर दैनिकमा खबर छ ।