कानुनी अड्चनको गाँठो फुकाउँदै सर्वोच्च


हरेकपल May 20, 2020

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि म्याद गुज्रिएका र हदम्याद नाघेका मुद्दालाई कानुनी निकास दिने भएको छ । सर्वोच्चले १९ सदस्यीय बृहत् पूर्ण इजलासमा भएको सुनुवाइको निर्णय सुनाउन ११ जेठमा पेसी तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित १९ न्यायाधीशको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई तोेकेका थिए । सर्वोच्चको इतिहासमा पहिलोपटक १९ सदस्यीय बृहत् पूर्ण इजलासबाट कानुनी अड्चनको विषयमा व्याख्या हुन लागेको हो ।

सर्वोच्चको परिसरमा भएको बृहत् पूर्ण इजलासमा पाँच घण्टासम्म लामो सुनुवाइ भएको थियो । सो इजलासले कोरोना महामारीपछि भएको लकडाउनपछि देखिएको कानुनी अड्चनका कारण रोकिएका मुद्दा र हदम्याद नाघेको मुद्दाको विषयमा व्याख्या गर्नेछ । सर्वोच्च अदालत रिट महाशाखाले आफैंले प्रतिवेदन उठाएर इजलासमा पेस गरेको थियो । राजधानी दैनिकमा खबर छ ।