बाँझो जमिनमा धमाधम खेती


हरेकपल May 20, 2020

कुश्मा । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चौतर्फी समस्याहरू देखिएका छन्। अर्थतन्त्र र जीवनस्तरमा नकारात्मक प्रभाप परे पनि पर्वतको कृषि क्षेत्रमा केही सकारात्मक प्रभाव देखिन थालेको छ। लकडाउनले मुलुकका सबै उद्योग कलकारखानाहरू सबै बन्द छन्। जसले गर्दा मानिसहरू आफ्नो पुख्र्योली थलोमा फर्किएका छन्।

लकडाउन कहिले सम्म हुन्छ, संक्रमण कहिले रोकिन्छ भन्ने अनिश्चित भएपछि गाउँ फर्केकाहरू यतिबेला कृषि कर्ममा लाग्न थालेका छन्। गाउँमा लामो समयदेखि बाँझिएका खेतबारीहरू जोत्ने र सिजनअनुसारका बालीनाली लगाउन थालिएको छ। पर्वतमा लामो समयदेखि बाँझिएको झण्डै पाँच देखि १० प्रतिशत जमिनमा कोरोनाका कारण बाली लगाउनेहरू बढ्ने आंकलन गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए।

जिल्लाका फलेवास, महाशीला, जलजला, कुश्मा, मोदी लगायतका स्थानहरूमा पनि बाँझो जमिन जोत्नका लागि यान्त्रिक हलो माग गर्दै कार्यालयमा आउन थालेको रेग्मीले बताए। उनले भने, ‘विभिन्न पालिकाहरूबाट कृषकहरू यान्त्रिक हलो माग गर्दै आउन थालेका छन्, हामीले विभिन्न निकायसँग समन्वय गरेर उपलब्ध गराउन थालेका छौ।’ सिंचाइको सुविधा भएका ठाउँमा धान, कोदो, मकैलगायतका बाली लगाउन र पाखा पखेरामा सुन्तलालगायतका फलफूल लगाउन कृषकहरूले विरुवा तथा अनुदानसमेत माग गर्ने गरेको उनले बताए। अन्नपूर्ण पोष्टमा खबर छ ।