प्रदेश २ मा बढ्दै संक्रमित, थपिँदै चुनौती


हरेकपल May 20, 2020

काठमाडौं धनुषाको जनकपुर उपमहानगरपालिकाका २ जनामा कोरोना पुष्टि भएसँगै प्रदेश २ मा संक्रमित संख्या १३७ पुगेको छ । सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकपुरका दुईजनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

भारतबाट फर्केका ती दुवैजना नगराइन नगरपालिकाको गंगुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनमा बसेका थिए । जनकपुर उपमहानगरपालिका–६ स्थित चामल थोक बिक्री केन्द्रका सञ्चालक ४५ वर्षीया पुरुष वैशाख ३१ गते भारतको हरियानाबाट फर्केको क्वारेन्टिन संयोजक सन्तोषकुमार ठाकुरले बताए ।

जनकपुर–५ घर भएका उनी होलीको पर्सिपल्ट हरियाना गएर वैशाख ३१ मा फर्केका थिए । लकडाउनका कारण उनी हरियानाको होटलमा ४० दिन बसेका थिए । लकडाउन नखुल्ने देखेपछि उनी हरियानामै चामल खरिद गरी चामलसहितको ट्रकमा महोत्तरीको सीमानाका भिठामोड आएका थिए । भिठामोडबाट चामलको ट्रक मात्र प्रवेश गर्न पाएपछि उनी बथनाहा मौवाही नाकाबाट पैदल हिँडेर सीमा प्रवेश गरेका थिए । वैशाख ३१ गते घरमै बसेका उनी जेठ १ मा छरछिमेकको दबाबमा क्वारेन्टिनमा भर्ना भएको संयोजक ठाकुरले बताए । जेठ २ मा उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

संक्रमित अर्का २१ वर्षीय युवक जनकपुर–२१ निवासी हुन् । उनी चैत ९ गते भारत बिहार राज्यको बिहारीस्थित मामा घर गएका थिए । लकडाउन नखुल्ने देखेपछि उनी वैशाख ३१ मा चोरबाटोबाट गाउँ प्रवेश गरेका थिए । छरछिमेकको दबाबमा उनी जेठ १ गते प्रादेशिक क्वारेन्टिनमा भर्ना भएका थिए । जेठ २ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । दुवैको रिपोर्ट पोजेटिभ आएपछि कोभिड विशेष अस्पताल जनकपुरको आइसोलेसनमा उपचार भैहरेको छ । नागरिक दैनिकमा खबर छ ।