पाँच दिनदेखि हराएका युवाको शव गाडिएको अवस्थामा फेला


हरेकपल May 20, 2020

पोखरा, ७ जेठ । पोखरामा पाँच दिन अगाडीबाट हराएका एक युवा गाडेको अवस्थामा मृत भेटिनु भएको छ । कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा–२७ लेखनाथको सुन्दरीबजारमा बस्दै आएका २४ वर्षीय सुजन विकको शव गाडेको अवस्थामा फेला परेको परेको प्रहरीले जानकारी दिएको हो ।

लेखनाथकै सिर्जना बहिरा स्कुल नजिकै खेतमा कुलोको छेउमा खाल्डो खनेर पुरेको अवस्थामा शव भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक विकको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरको अनुमान प्रहरीको छ ।

मजदुरी काम गर्दैआएका विक बेपत्ता भएपछि उहाँका परिवारले ईलाका प्रहरी कार्यालयमा खोजी गरीदिनको लागि निवेदन दिएका थिए । स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कास्की र डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको टोलीले युवकको शव उत्खनन् गरेको हो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । केही दिनपहिले पोखरा १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव पनि आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर हत्या गरेका गाडिएकै अवस्थामा प्रहरीले भेटाएको थियो ।गोरखापत्रबाट