नयाँ नक्सा जारी गर्नुपर्ने प्रस्ताव मैले राखेको हो, कुनै व्यक्तिको देवत्वकरण नहोस् : गौतम


हरेकपल May 20, 2020

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताएका छन् ।

बुधबार बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीभित्र सशक्त विचार र जोडदार माग राख्दै आएको उनले बताएका छन् ।

‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ, गौतमले भनेका छन्, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’

यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव आफूले पार्टीको बैठकमा राखेको उनले जानकारी गराएका छन् । अहिलेको सरकारको धेरै काम आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको गौतमले लेखेका छन् ।