अब नेपालको कुल क्षेत्रफल १४७५१६ वर्ग किमी, तत्काल १० हजारप्रति छापिने


हरेकपल May 21, 2020

नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार औपचारिक रूपमा सार्वजनिक गरेको छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा आयोजित कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।

नयाँ नक्सामा अतिक्रमित भूमि थपिएपछि ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थपिएको छ। नयाँ नक्सा सार्वजनिकसँग अब नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर भएको छ। पुरानो नक्साअनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। नयाँ नक्सामा अतिक्रमित क्षेत्रका गुन्जी, नाभी, कुटीलगायत गाउँ समेटिएका छन्।

भूमि व्यवस्था मन्त्रालयका अनुसार सन् १८१६ मार्च ४ मा तत्कालीन इष्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार नयाँ नक्सा तयार गरी सार्वजनिक गरिएको हो। सुगौली सन्धिमा काली नदी र सोभन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अंग भएको उल्लेख छ। तर प्रचलित नेपालको नक्सामा काली नदीपूर्वका गुन्जी, नाभी, कुटीलगायत गाउँ रहेको भूमि भाग समेटिएको छैन। त्यसैले गुन्जी, नाभी र कुटीसहित नसमेटिएको भूभाग देशको सिमानाभित्र पर्नेगरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिनेगरी नेपालको नक्सा अद्यावधिक गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। नापी विभागका अनुसार नयाँ नक्सा प्रशासनिक र राजनीतिक हो। नयाँ नक्सामा ५ सय ५३ स्थानीय तहको नाम छ।

नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले विश्वमा नेपालको मानचित्र बदलिएको बताइन्। ‘नेपालमा मात्र होइन सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मन पनि बदलिएको छ’, उनले भनिन्, ‘त्यतिमात्र होइन, नेपालको बदलिएको मानचित्रले जनताको मनोबललाई अझ उच्च बनाएको छ।’

यसअघिको नक्सामा छुटाइएको भूभाग यथेष्ट प्रमाणका आधारमा समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको उनले बताइन्। सीमाका विषयमा सिंगो राष्ट्र एक ढिक्का भएको उनले बताइन्। उनले भनिन्, ‘यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ट प्रमाणका आधारमा यसअघि नक्सामा छुटाइएको भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका छौं।’ पूर्वजहरूले रचिदिएको भौगोलिक इतिहासका कारण आज हामीले नेपाली भन्न पाएको चर्चा गर्दै उनले भनिन्, ‘नक्सा सार्वजनिक गर्ने यो सुनौलो अवसरलाई यो युगको सर्वाधिक स्मरणीय क्षणका रुपमा मैले लिएकी छु। सिंगो नेपाल र नेपालीका लागि यो ऐतिहासिक सुखद क्षण हो।’

जेठ २ गते सार्वजनिक सरकारको वार्षिक नीति तथा कार्यक्रममा अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता गएिको छ। त्यसको तीन दिनपछि मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटर नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो।

मन्त्री अर्यालले बुधबार सार्वजनिक गरेको नक्सा नापी विभागले तयार गरेको हो। विभागले उक्त नक्सा करिब दुई महिनाअघि नै मन्त्रालयलाई बुझाएको थियो। नागरिक दैनिकमा खबर छ ।