गुल्मी ८ जेठ । क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ ।
उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे ।
प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहेका उनको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो । यसअघि सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएको थियो ।
बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्यावस्था गम्भीर रहेकाले बाहिर अनावश्यक हल्ला आएको हुन सक्ने महाशाखा प्रमुख चौधरीले बताए । मदानेबासीका अनुसार बन्दाबन्दी पनि धेरै हिँडडुल गरेका कारण उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी गत वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा गरएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।