आज शनिजयन्ती, वटसावित्रीव्रत पनि हेर्नुहोस् २०७७ ज्येष्ठ ९ गते


हरेकपल May 21, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको २२ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको औँसी तिथि राति ११।२ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । कृत्तिका नक्षत्र राति ३।२३ बजेसम्म रहनेछन् । यसैगरी शोभन योग र चतुष्पाद करण रहेका छन् । आज सूर्योदय बिहान ५।१३ मा छ भने सूर्यास्त बेलुका ६।४९ बजे हुनेछ । चन्द्रमा आज बिहान ७।५९ बजेसम्म मेष राशिमा र सो पश्चात् वृष राशिमा रहनेछन् ।

आज शनि जयन्तीका साथै वटसावित्रीव्रत पनि परेको छ । ज्येष्ठा कृष्णपक्षको औँसी अर्थात् आजकै दिन सूर्यपुत्र शनिश्चरको प्रादुर्भाव भएको थियो । अकाशको सबैभन्दा टाढा रहने ग्रह शनि हुन् । यसैले शनिजन्य दोष निवारणका निम्ति आज शनिको उपासना लाभदायी रहन्छ ।

यसैगरी आज वटसावित्रीको व्रत धारण गर्नाले अभीष्ट वर फल मिल्ने गर्दछ । सौभाग्य अभिवृद्धिका निम्ति पनि वटसावित्रीको व्रत धारण गर्ने चलन रहेको छ । पतिव्रता नारीले तीनरातसम्म वरको रूखमुनी उपवास बसेर सुन वा माटोको सावित्रीको प्रतिमा बनाई विशेष उपचारले पूजा गर्नुपर्दछ । यसैगरी हलेदो, सिन्दूर आदि सौभाग्यका सामग्री पनि सावित्रीमा अर्पण गर्नुपर्दछ । सो पश्चात् वटसावित्रीको कथा पनि सुन्नु पर्ने विधान रहेको पाइन्छ ।