लेखन स्वतन्त्रताः चिन्तनको नयाँ धारा


हरेकपल May 23, 2020

आजका लेखनमा स्पष्टतः दुई धार देखिएका छन् – (१) नियन्त्रित लेखन (२) स्वतन्त्रलेखन ।
नियन्त्रित लेखन –

कतिपय दर्शन वा वादका अनुयायीहरू नियन्त्रित लेखनमा विश्वास गर्दछन् । उनीहरूका विचारमा लेखकले कुनै खास उद्देश्य प्राप्तिका लागि लेख्नुपर्छ । स्वतन्त्र लेखनका नाममा छाडा लेखन, निरूद्देश्य लेखन तथा सिद्धान्तविहीन लेखनको कुनै अर्थ हुँदैन । लेखनकार्य उद्देश्यमा केन्द्रित हुनुपर्छ । सकेसम्म स्वसिद्धान्तलाई पक्षपोषण गर्ने हुनुपर्छ । सस्तो र मनोरञ्जनका लागि मात्र जे पायो त्यही लेख्नु हुँदैन । लेखनमा वर्गीय पक्षधरता हुनुपर्छ । स्वतन्त्रताका नाममा भ्रमपूर्ण लेखन अग्राह्य मानिन्छ । नियन्त्रित लेखनले स्थापित गरेका कुरालाई यसरी बुझ्न सकिन्छ –

१) लेखनकार्य गम्भीर विषय भएकोले त्यो उद्देश्योन्मुख हुनुपर्छ ।
२) लेखनले खास वर्ग वा पक्षको पैरवी गर्नुपर्छ ।
३) लेखनले विचार पक्षलाई जोड दिनुपर्छ ।
४) लेखन सीमान्तिकृत वर्गको पक्षमा केन्द्रित हुनुपर्छ ।
५) लेखनले भावीकार्यदिशाको सङ्केत गरेको हुनुपर्छ ।
६) लेखन आभिजात्यवर्गका शोषण, दमन र उत्पीडनका विपक्षमा हुनुपर्छ ।
नियन्त्रित लेखनका उपर्युक्त बुँदा विचारणीय छन् ।

स्वतन्त्र लेखन –

नियन्त्रित लेखनको विपक्षमा स्वतन्त्र लेखन उभिएको देखिन्छ । यसले अभिव्यक्ति स्वतन्त्रतालाई जोड दिन्छ । लेखन स्वतन्त्रताका पक्षधरहरू खुल्ला वा अनियन्त्रित लेखनका पक्षमा उभिएका हुन्छन् । लेखनकार्य कलात्मक हुनुपर्छ । अकलात्मक लेखनले कलाको स्तर प्राप्त गर्न सक्तैन । लेखनकार्यलाई नियन्त्रित गर्नाले प्रतिभा कुण्ठित हुन्छ । त्यसैले लेखन स्वतन्त्रता आवश्यक मानिएको हो । प्रत्येक लेखकमा नैसर्गिक प्रतिभा रहेको हुन्छ । त्यसलाई उपयुक्त वातावरण निर्माण गर्ने र स्वतन्त्र रचना गर्ने अवसर दिनुपर्छ । लेखकलाई यस्तो लेख, यस्तो नलेख भन्नू हुँदैन । कुनै कृतिको भूमिका फलानो व्यक्तिबाट लेखाऊ, फलानोबाट नलेखाऊ, कृतिको विमोचन फलानोबाट गराऊ जस्ता सीमारेखालाई स्वतन्त्र लेखनमा मान्यता दिइँदैन । लेखन स्वतन्त्रता लेखकको नैसर्गिक अधिकार हो । प्रत्येक लेखकले आफ्नो विश्वास, भावना र निजत्वलाई लेखनका माध्यमबाट प्रकट गर्न पाउनुपर्छ । ऊ निर्बन्ध हुन्छ । लेखकले देखेका, भोगेका, अनुभव गरेका कुराहरू स्वतन्त्र लेखनमा आउँछन् । लेखन स्वतन्त्रताले आजको बहुलवादी अवधारणालाई पछ्याउँछ । लेखन स्वतन्त्रताबाट कैयौं अचर्चित, परिकल्पित, दूरगामी विषयवस्तु जनसमक्ष आउने अपेक्षा गरिएको हुन्छ । त्यसबाट राष्ट्र र समाज नै लाभान्वित हुन पुग्छ । लेखन स्वतन्त्रता कुण्ठित भएमा समाजका दुर्नियति, अपगति आदि आच्छादित हुन्छन् । सत्यमार्ग धूमिल हुन्छ । अतः सत्यको यथार्थ प्रकटीकरण गर्न लेखन स्वतन्त्रता आवश्यक हुन्छ । नियन्त्रित लेखनमा जस्तो स्वतन्त्र लेखनमा सीमाङ्कन, विभेद, विचारको छडी चलाउने वा यताउताका कुरा गरिँदैन भन्ने विश्वास गरिन्छ ।

लेखन स्वतन्त्रतालाई निम्न बुँदामा सम्झन सकिन्छ –

१) लेखन स्वतन्त्रताले विचारप्रवाहलाई खुल्ला रूपमा प्रकट गर्छ ।
२) लेखन स्वतन्त्रताले समाजका उज्याला र अँध्यारा पक्षको उद्घाटन गर्छ ।
३) लेखन स्वतन्त्रताले चेतनाका विविधतालाई निर्वाध रूपमा जनसमक्ष ल्याउँछ ।
४) लेखन स्वतन्त्रताले जनउन्मुक्तिका लागि सचेत गराउँछ ।
५) लेखनस्वतन्त्रताले समाजवादी, बहुलवादी, मानवतावादी, समतावादी, वर्र्गविहीनतावादी, दबाबरहीत उन्नत समाजको निर्माणका लागि शोषणदमन विरोधी, यथार्थ धरातलको अवगतार्थ विश्व समुदायसँग सामीप्य बढाउने किसिमको साहित्य निर्माणमा जोड दिन्छ ।
६) लेखनस्वतन्त्रताले लेखकीय आत्मसम्मानलाई महत्त्व दिन्छ ।
७) लेखनस्वतन्त्रताले सिर्जनशीलतालाई जोड दिन्छ ।
८) लेखनस्वतन्त्रताले एउटै विषयमा बहुपक्षीय विचारलाई आमन्त्रण गर्दछ ।
९) लेखनस्वतन्त्रताले नारी र पुरुषका बीचका पुराना सीमारेखालाई भत्काउन बल गर्दछ ।
१०) लेखनस्वतन्त्रताले मानवीय हक, मानवीय मूल्यमान्यता तथा जीवनवादी अवधारणा प्रसार गर्दछ ।
११) लेखनस्वतन्त्रताले आफूलाई सम्प्रभुतावादी चिन्तनका विपक्षमा उभ्याउँछ ।
१२) लेखनस्वतन्त्रता बीपी कोइरालाले भनेजस्तो अराजकतावादी हुन्छ, जसले सम्राट्लाई पनि नङ्ग्याउन सक्छ ।

समग्रमा लेखनस्वतन्त्रता उन्मुक्त लेखनको नयाँ अभियान हो । यसले नवोदित लेखकहरूलाई आकर्षित पारिरहेको छ । नवोदित लेखकहरू पुराना र नियन्त्रित वैचारिक पर्खालहरू भत्काउन चाहन्छन् । नवोदित लेखकहरू नयाँचेतना स्थापित गर्न उत्सुक हुन्छन् । उनीहरू उन्मुक्तसमाज, उन्मुक्त वातावरण, भेदभावरहीत राष्ट्रियता, समता र वैश्विक सुसम्बन्ध स्थापित गर्न चाहन्छन् । यसका लागि स्वतन्त्र लेखन अपेक्षित देखिन्छ ।

अतः लेखन स्वतन्त्रता आजको युगीन आकांक्षा हो । यसले प्रत्येक लेखकमा रहेका क्षमता, प्रतिभा, उत्साह, ऊर्जा, कुशलता, अध्ययन, दृष्टिकोण, समाधान आदिको प्रतिबिम्ब झल्काउने अवसर दिन्छ । यो अक्षरहरूको अनन्तयात्रा हो । अक्षरहरूको संयोजन, अक्षरहरूको साहचर्य, अक्षरहरूको कलात्मक विन्यास यसका अङ्ग हुन् । यसले शैलीमा अङ्कुश लगाउँदैन । यसले व्यापकतालाई स्वीकार्दछ ब्रम्हाण्ड जत्तिकै । यो मानव र मानवेतरसम्म पनि फैलिन सक्छ । यो आक्षरिक आविष्कार हो । यो यस धर्तीको ऐना हो । जीवन र जगतको स्वतन्त्र अभिव्यक्ति नै लेखन स्वतन्त्रता हो ।