बहुभाषी नेपालमा मातृभाषा कि संस्कृत भाषा ?


हरेकपल May 23, 2020

हालसालै शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको जानकारी विभिन्न पत्रपत्रिका मार्फत प्राप्त भएको छ। यो निर्णयलाई असन्तुष्टी जनाउन केहि लेखहरु पनि प्रकाशनमा आएका छन् । नेपालको परिवेशमा संस्कृत भाषा कक्षा एक देखि नै शुरुगर्नु उपयुक्त छ कि छैन भन्ने बारे छोटकरीमा राख्न चाहन्छु ।

भाषाको भाव
हामीले भाषालाई धर्म, अधिकार, संस्कार, राजनीतिसँग मात्र जोडेर बाहिरी सतहमा मात्र बहस गरिरहेका छौँ । तर भाषालाई शिक्षासित जोडेर वैज्ञानिक र दार्शनिक दुवै पक्षबाट हेर्न जरुरी छ । तब मात्र हामीलाई यसको महत्व थाहा हुन्छ ।
भाषा मानवजातिले पाएको महत्वपूर्ण वरदान हो । भाषाले नै मानिसलाई एक सार्थक सामाजिक प्राणी बनाएको छ । मानिसले भाषाकै माध्यमद्वारा आफ्नो विचार, इच्छा, भावना संचार गर्छन् । सपिरले भाषालाई यसरी परिभाषित गरे, “विचार, भावना र इच्छालाई स्वैच्छिक रूपमा उत्पन्न भएका प्रतीकहरूको माध्यमबाट संचार हुने विशुद्ध मानवीय र गैर-सहज [ प्राकृतिकरुपले आर्जित] विधीलाई भाषा भनिन्छ (सापिर १९२१: ८)।” मानिसले संचार गर्नको लागि स्वैच्छिक रूपमा उत्पन्न भएका प्रतिकहरुलाई परम्परागतरुपले प्रयोग गर्छन् ।
भाषाले नै मानव समाजको सम्बन्धलाई जीवन्त बनाइराख्छ । समाजको उदाय र विकाससँगै भाषा पनि उदाउँछ र विकासहुँदै जान्छ । समाज रहँदैन भने भाषाको अस्तित्व पनि कल्पना गर्न सकिँदैन ।
भाषामै हामी विगतको इतिहासमा पुग्छौ, वर्तमान यथास्थितीमा जिउँछौं, अनि भविष्यको कल्पना पनि गर्छौ । त्यसैले मानव भाषा अरु जनावरहरुको भाषा भन्दा बेग्लै छ। विशिष्ट छ । अद्वितीय छ । भाषा सर्वव्यापी छ- सपनामा, विचारमा, प्रार्थनामा, ध्यानमा, संचारमा, संस्कार र विधीविधानमा ।
भाषा मानिसले संचार गर्ने माध्यम र ज्ञानको भण्डार मात्र होईन तर यसद्वारा ज्ञानलाई एक ब्यक्‍तिबाट अर्को ब्यक्‍तिमा र एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्छ ।


शिक्षाको गुणात्मक स्तरको निम्ति आधारभूत शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ
ज्ञानलाई हस्तान्तरण गर्नुमा शिक्षाको ठूलो योगदान हुन्छ । किनकि शिक्षाले मानिसलाई शारीरिक, मानसिक, आध्यात्मिक, नैतिक, तथा भावनात्मक विकास गर्नको निम्ति उपयुक्त वातावरण प्रदान गर्छ । यसको साथै शिक्षाले मानिसलाई समाजमा जिउन आवश्यक पर्ने नयाँ ज्ञान, सक्षम् मनोवृत्ति र र सृजानात्कम सीप सिकाउँछ । त्यसैले शिक्षाको जग बलियो हुनु नितान्त आश्यक छ । देशमा भएको प्राथामिक ( वा अहिले आधारधूत) शिक्षा नै उच्‍च स्तरमा प्राप्त हुने शिक्षाको जग हो । वास्तवमा सम्पूर्ण शिक्षा प्रणालीको सफलता वा असफलता नै प्राथामिक स्तरको शिक्षामा भरपर्छ । बालबालिकाहरुले सजिलै पढन र सिक्न सकिने भाषाको वातावरण नितान्त आवश्यक हुन्छ । त्यसर्थ शिक्षा सम्बन्धि सबै सरोकारवालाहरुले शिक्षाको यस धराताललाई बलियो बनाउन ठोस आधारहरु निर्माण गर्नुपर्छ ।


सिकाइको माध्यम विद्यार्थीले बुझेको भाषामा (मातृभाषा) हुनुपर्छ
नेपालको जनगणना (२०११) अनुसार नेपालमा १२३ वटा मातृभाषाहरु छन् । नेपालको संविधानको धारा ३१(५) अनुसार ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो ‘मातृभाषामा शिक्षा’ पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने अधिकार हक हुनेछ’ भनि मातृभाषाको अभ्यास र संरक्षण गर्ने अवसर दिएको छ।
बालकले पहिले सिकेको वा जानेको भाषा नै मातृभाषा हुन्छ । भाषाशास्त्रीहरुले मातृभाषालाई विभिन्न दृष्टिकोणबाट परिभाषित गरेका छन् । तर पनि हामी सबैले सरल प्रकारले बुझ्नको लागि ब्लोचले दिएको परिभाषाको आशयले मदत गर्छ । उनको भनाइ अनुसार “मातृभाषा भनेको स्कूल जानु भन्दा अगाडि बच्चाले सजिलै र छिटो बोल्न सक्ने भाषा हो। यो त्यही भाषा हो जसद्वारा बच्चाले आफ्नो जीवनसंग सम्बन्धित सबै क्षेत्रहरुमा आत्मविश्वासपूर्वक संचालन [प्रयोग] गर्न सक्छन्।”
भाषाविद् जीम कुमिन् अनुसार बालकले सिकेको पहिलो भाषाले उसको सँज्ञानात्मक (ज्ञान सम्बन्धि) विकाश भएको हुन्छ । जसले गर्दा अर्को भाषा सिक्नको लागि मदत गर्छ । एकैपटक नजानेको भाषा लादिएको खण्डमा बालकको सिकाइ गति कमजोर हुन्छ । विश्‍वका धेरै क्षेत्रहरुमा दोस्रो भाषामा (मातृभाषा भन्दा अर्को भाषामा) अध्ययन गरेका विद्यार्थीहरु भन्दा मातृभाषामा (प्राथामिक तहमा) अध्ययन गरेका विद्यार्थीहरुले शैक्षिक प्रगति गरेका प्रतिवेदनहरु आएका छन् ।


नेपालको प्राथामिक शिक्षामा विद्यार्थीहरुले स्कूल छाडनुका विभिन्न कारणहरुमध्ये शिकाइको माध्यम भाषा आफ्नो मातृभाषा भन्दा फरक भएकोले हो भन्ने कुरा पाइएको छ। नेपालमा नेपाली भाषा नै सिकाइको माध्यम भाषा भए तापनि हिमाली भेकको जनसंख्याको ४.२ प्रतिशत, पहाडी भेकमा २७.३ प्रतिशत र तराईमा १३.२ प्रतिशतले मात्र नेपालीलाई मातृभाषाको रूपमा बोल्छन्। यूनिसेफको प्रतिवेदन अनुसार नेपाली मातृभाषा नभएका विद्यार्थीहरुमा शिकाइको स्तर कम भएको पाइएको छ : जस्‍तै मदेसी, लिम्बु, थारु, मगर, गुरुङ (यूनिसेफक प्रति, २०१६)। विद्यार्थीहरुले स्कूल छाडने र सिकाइको स्तर पनि खस्केको हुनाले स्थानीय भाषामा सिकाउन र सिक्न सकिने सान्दर्भिक पाठ्यक्रम भयो भने विद्यार्थीले आफ्नो ज्ञान र सीप बढाउन सकिन्‍छ ।

बालबालिकाहरुलाई संस्कृत भाषाको बोझ
यदि संस्कृत भाषालई कक्षा एक देखि नै लागु गरिएमा नेपाली मातृभाषा नभएका धेरै बालबालिकाहरुमा भाषाको अतिरिक्त भार पर्छ । सिकाइको माध्यम भाषा नेपाली भएकोले नेपाली सिक्नै पर्यो । विश्‍वव्यापी बजारमा छिर्न अंग्रेजी पनि पढ्नै पर्यो । कुनै ठाउँमा त स्थानिय भाषा पनि राखिने कुरा छ । त्यसमाथि संस्कृत पनि थपिएमा अर्को बोझ थपिनेछ । त्यसकारण नेपाल फ्लास अनुसार शिक्षाविद् विद्यानाथ कोइरालाले “अहिलेको खालको पाठ्यक्रम र त्यसलाई पढाउन गरिएको व्यवस्था वैज्ञानिक नभएको” बताउनु भएको छ। त्यस्तै पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरले संस्कृत अध्यापन सुरु गर्नु ठीक भए पनि त्यसलाई अनिवार्य गर्न नहुने बताउनु भएको छ। यसबाट के थाहा हुन्छ भने मातृभाषी नभएको संस्कृत भाषालाई कसरी र कुन तहबाट पढाउन सकिन्छ भनेर वैज्ञानिकढंगबाट गृहकार्य नगरी हचुवाको भरमा ल्याएको भान हुन्छ ।

नेपालमा संस्कृत भाषा अध्ययनको अवस्था
जनगणना सन् २०११ अनुसार नेपालमा संस्कृत भाषाको वक्ता संख्या १६६९ देखिन्छ । तर पनि शास्त्रीय भाषा अध्ययनको रुपमा धेरै वर्ष अगाडि देखिनै नेपालमा संस्कृत भाषाको अध्ययन भइरहेको छ।
भूपेद्र वलीको लेख (नयाँ पत्रिका, २०७५ असोज २०) अनुसार संस्कृत विश्वविद्यालयको विद्यापीठ दाङमा १२ जान विद्यार्थीको लागि आर्थिक वर्ष ०७४/७५ मा ५ करोड ७९ लाख ५८ हजार बजेट विनियोजन गरेको थियो । यसको अर्थ प्रतिविद्यार्थी ४८ लाख २९ हजार आठ सय ३३ रुपैयाँ लगानी भएको देखिन्छ ।


त्यस्तै दुर्गालाल केसीले कान्तिपुरमा (२०७५ माघ ३ गते) नेपालमा संस्कृत विश्‍वविद्यालयको वर्तमान अवस्थाको बारेमा चर्चा गरे अनुसार “कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा गरी [सँस्कृत] विश्वविद्यालयका १५ आंगिक र १२ सम्बन्धन प्राप्त क्याम्पस छन् ।” प्रज्ञाकिक पाठ्यक्रम अन्तर्गत प्राक्शास्त्री देखि विद्यावारिधि (पीएचडी) स्तरका कक्षाका कार्यक्रमहरु सञ्चालित छन् । छात्रले प्रतिमहिना ९ सय, छात्राले १ हजार र दलित जनजाति छात्रले १ हजार ८ सय तथा छात्राले १ हजार ९ सय रुपैयाँ पाउँछन् । त्यस्तै १ सय ७२ जना अनुसन्धाताले विद्यावारिधि उपाधि पनि हासिल गरिसकेका छन् ।


संस्कृत भाषाको वकालत गर्ने महानुभावहरुले सुनेको भरमा मात्र होइन तर तथ्यसहित तर्कहरु प्रस्तुत गर्नुपर्छ । संस्कृत पढ्न सक्ने मात्र भएर हुँदैन । संस्कृतलाई सबभन्दा प्राचीन भाषा (सबभन्दा प्राचीन भाषाको बारेमा विवाद छ), शिक्षित भाषा, देवताको भाषा, विदेशमा अध्ययन गरिरहेको भाषा भनेर मुठ्ठी कस्सेर बस्ने मात्र होइन, संस्कृत भाषामा लेखिएको ज्ञानलाइ खोजेर बहुजन हितायको लागि कसरी लागु गर्न सकिन्छ भनेर अनुसन्धान गर्नुपर्यो । खाली पश्‍चिमी सभ्यता, पश्‍चिमी दर्शन, ख्रीष्‍टियनीटी तथा कम्युनिस्टले प्रभाव पारेको भनेर विरोध गरेर मात्र भएन, तर कसरी समस्याको समाधान गर्न सकिन्छ भनेर स्पष्ट मार्गहरु पनि देखाउनु राम्रो होला ।


निष्कर्ष
भाषा धेरै संवेदशील विषय हो । शिक्षाको विकाश तथा ज्ञानको हस्तान्तरण भाषाको माध्यम् बाटै हुन्छ । बालबालिकाहरुको आधारभूत शिक्षा नै उच्‍च शिक्षाको जग भएकोले उनीहरुले सजिलै बुझ्न र बोल्न सकिने भाषामा [मातृभाषा] शिक्षाको व्यवस्थापन गर्न सकेमा उनीहरुको सँज्ञानात्मक (ज्ञान सम्बन्धि) विकाश भएर अरु भाषा र विषय वस्तुहरु सिक्न मदत हुनेछ । यसबाट गुणात्मक शिक्षाको आपेक्ष गर्न सकिन्छ । संस्कृत भाषाको व्यवस्थापन धेरै पहिले देखिनै विश्‍वविद्यालय स्तर सम्मै पुगेको हुनाले यसलाइ अझै शास्त्रीय भाषाको रुपमा वैज्ञानिक ढंगबाट अनुसन्धान गर्दै लैजानु पर्ने देखिन्छ । नेपालको कुन शैक्षिक तहमा संस्कृतलाई ऐछिक विषयको रुपमा राख्न सकिन्छ भनेर भाषाशास्त्री, शिक्षा विद, मनोविद तथा शिक्षा सम्बन्धी विशेषज्ञाहरुसित वृहतरुपमा छलफल गर्नु जरुरी देखिन्छ ।