सय वर्षपछि


हरेकपल May 23, 2020

हामी भइरहेकाहरू
कोही पनि हुने छैनौँ
सय वर्षपछि ।

दिनभरि चउरमा
बन्सो चरेर उग्राइरहेकी
ऊ त्यो सेती पठेक्री
र उसैको छेउमा
बैँसको भैरमपातीले मग्मगाइरहेको
भीमसिने बोको
कोही पनि हुने छैनन्
सय वर्षपछि ।

चउरमा हरियाली बिछ्याउन
किर्रे होला
अर्कै दूबोको गलैँचा उम्रनेछ
सय वर्षपछि ।

बन्दरगाहको छेउमा उभिएर
तिमी र मैले जसरी नै
समातेर राख्न नसकिने जलतरङ्गलाई
निर्निमेष हेर्नेछन्
त्यो बेलाका मस्त प्रेमीहरूले
सय वर्षपछि ।

यी दिनहरू हाम्रा हुन्
यी रातहरू हाम्रा हुन्
यी सप्ताह, पक्ष र महिनाहरू हाम्रा हुन्
यी वर्ष, पञ्चवर्ष र दशकहरू हाम्रा हुन्
चिया बगानमाथिको विकासोन्मुख जून
र नौलाखे ताराहरू हाम्रा हुन् ।

सय वर्षपछि
हामी अनुपस्थित हुँदा पनि
नैऋत्य आकासमा
जलघडा बोकेर बादलु दगुर्नेछ
कोक्राका नानीहरू ब्युँझाउँदै
जीवनदायिनी घाम उदाउनेछ
जसलाई साक्षी राखेर
सखारै घाँस काट्न गएका प्रेमीहरू
मायाको अतलस्पर्शी दहमा डुब्नेछन् ।

यो स्वादैस्वादको दुनियाँ
हामीले त छोडेर जानु नै छ
बिन्ती छ,
मायाको आदिम ऐश्वर्य जोगाइराख्नू
मायाको सार्वभौम वर्चस्व जोगाइराख्नू ।