–विपिन शर्मा–
सुन्ने गर्छु,
तिमीलाई मानिसहरूले हेपेको
आवाजविहीन छौ भनेर ।
अदृश्य हावाको पनि
आवाज सुनिन्छ स्वाऽऽइय्यँ,
सुनिन्छ, कहिलेकाहीँ
मेघको गड्गडाहट,
आँधी, तुफानको हुँऽऽऽऽइऽऽऽय्यँ ।
तिमी त आउँछ्यौ, जान्छ्यौ निरन्तर
तर चुपचाप
कतिले सोच्छन्, तिमीलाई गुजार्छु भनी
तर गुज्रन्छन् आफू नै ।
समय,
मेरी प्रेयसी !
तिमीसँग मेरो
जन्मै देखिको सम्बन्ध हो,
जस्तो हुन्छ सम्बन्ध–
नवजात शिशुसँग रोदनको
रित्तो डालोसँग बालकको भोकको
जस्तो हुन्छ सम्बन्ध–
चाहना र अभावको
यौवन र कुण्ठाको
महत्वाकांक्षा र गतिरोधको ।
तिमीसँगका यी स्वर्णीम क्षणमा
म तिम्रो अतीत कोट्याउन्न
र तिम्रो पोल्टोभित्र
बुद्धत्व खोज्न चाहन्न ।
हो,
कुनै दिन बाँधिएको थियो बुद्ध
तिम्रो अँगालोमा
अनि बिरक्तिएको थियो
बुढ्यौली र मृत्यु सम्झेर
तर म गर्ने छैन त्यो भुल
म त बाँचिरहन्छु
तिमीलाई अँगालेर
तिमी भाग्यौ भने पनि
पछिपछि दौडिएर
तिमी छुट्यौ भने कहीँ
तिम्रै आगमनलाई पर्खिएर ।
ओ, समय !
ओ, मेरी प्रेयसी !
म युगौँयुग बाँच्न चाहन्छु तिमीसँग ।