विद्रोह


हरेकपल May 23, 2020

शासकहरूले चराहरू मन पराउँदैनन्
खुला आकाश मन पराउँदैनन् ।

भोक लाग्यो भन्दैमा हात फैलाउँदैनन् चराहरूले
भुरुरु उडेर जान्छन् फाँट र आँगनहरूमा
पेट भरेर आउँछन् पौरखले÷ मन भरेर आउँछन् सन्तुष्टिले
र त चराहरू स्वतन्त्र छन् ।

लोभ लाग्यो भन्दैमा
बिरालोले जस्तो कराहीमा मुख डुबाइहाल्दैनन् चराहरू
हिम्मतले चारा खोजी ल्याउँछन् बचेराका लागि
मन नलागे भुरुरु उडिदिन्छन् ।

चराहरूलाई जङ्गलको राजा हुनु पनि छैन
छुट्याउनु पनि छैन, राजा र रैती बीचको भेद
माथि या तल फर्केको जुँगाको वास्ता पनि छैन
र त अटाउँछन् चराहरू
झाडीमा, रूखका हाँगामा, झुपडी या महलका दलिनहरूमा
मन लागेमा त्यहीँ गुँड बनाइदिन्छन्
र जिन्दगी बिताइदिन्छन्
मन नलागे भुरुरु उडिदिन्छन् ।

चराहरूको यही विशेषता जानेका यी शासकहरू
नुन बाँडिरहेछन् ÷ त्यही नुन खाएर
चराहरू झोक्राऊँन् भन्ने चाहन्छन् ।

शासकहरूलाई राम्ररी थाहा छ
नुन खाएकाहरूले गर्नेछन् सधैँ नुनको सोझो
जस्तै अन्याय, अत्याचार र उत्पीडनमा पनि
गर्ने छैनन् विद्रोह ।