सतर्क, तानाशाहहरू !! –२


हरेकपल May 23, 2020

खेलभित्रका जालझेलमा
उपल्लो कुर्सी
बन्धक राखेर
दोपल्लो
कुर्सीको इशारासँग
–‘हाँ’मा हाँ
–‘हो’मा हो
घण्टा बित्न नपाउँदै
अध्यादेश स्वीकृतिको
ब्रोकाष्ट !
–एकलाई अनेक पार्न
–जुटलाई फुटमा बजार्न
–झुटलाई साँच्चोमा लछार्न
–अखण्डलाई खण्डखण्ड पार्न
–शान्तिमा अशान्ति झार्न ।

ओ, वर्तमान सत्ताका छद्मभेषहरू !
तिमीले
पर्दा बाहिरको नाटक
त्यो पनि नौटङ्की
न खेल्दै
तिमी को हौ ?
–बुझेकै हो
तिमी कस्ता छौ ?
–जानेकै हो
तिमी के गर्छौ ?
–राम्री पहिचानेकै हो

हिजो
निर्विकल्पी निरङ्कुशले
गुण्डाका बथान
पठाएर के गरेथे ?!
–थाहा छ
कस्तो सोचेथे ?!
–थाहा छ
कुन शब्दले थुकिएथ्यौ ?!

थाहा छ–
थुक छेल्ने हातहरू
–आज उस्तै छन्
बन्दुकका कुन्दा हटाउने पाखुराहरू
–आज जस्ताका तस्तै छन्
तिम्रा पेटका गोलीका छर्रा निकाल्नेहरू
–आज अझ क्षतविक्षत छन् ।

जजसले
तिमीलाई आसन उठाएर
शासन सुम्पेका हुन्
के तिनमा
कुनै परिवर्तन
आवर्तन
परावर्तन
कतै देखेका छौ
–निरङ्कुशहरू ???