भावुकताको बीउ


हरेकपल May 23, 2020

भावुकताको बीउ हुन्छ कि हुँदैन ?!
कसरी पलाउँछ भावुकता ?
टुसाउनु, उम्रिनु, आकार ग्रहण गर्नु
क्वाँटी भिजाउनु अनि हेर्नु
कसरी पलाउँछ भावुकता ?!

तात्तातै पिउनु
टुप्पीबाट पसिना आउनु
आँखाबाट बगाउनु
अनि थाहा पाउनु
कसरी बग्छ भावुकता ?!

घाम पानी र असिनाको चोट खपेर
पीपलको बोटजस्तै उभ्भिइरहनु,
हिमालको टाकुरामा माटो पाइएन भने
हिउँभित्र ओसिएको बीउ घुसार्नु
र ढुङ्गाको कापबाट उम्रिनु ।

सजिलो हुँदैन विचार नियन्त्रण गर्न
जताबाट बग्छ बग्न दिनु
भावुकता र उन्मादको भेद छुट्याएर
व्याकरणको बन्धनबाट मुक्त हुनु
अनि लेख्नु कविता
अनि पलाउँछ भावुकता ।