लकडाउन संवाद : विश्वेश्वरप्रसाद कोइरालाका चार दशक


हरेकपल May 24, 2020

लकडाउनको समय थपिएको छ दिन कसरी विताइ रहनु भएको छ ?
२०७७ बैशाख २५ बाट पहिलाको जस्तै लकडाउन बढ्ला जस्तो लागेको थिएन । किनभने काठमाडौं उपत्यका खतरामुक्त भनेर सरकारले नै भनेको थियो । एउटा जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी खोल्ला भनेको पहिलेको जस्तो निरन्तर लकडाउन बढाएको छ । अहिले विश्वेश्रप्रसाद कोइरालालाई पढ्दै छु । विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कांग्रेसलाई चार दशक निरन्तर नेतृत्व गरिरहे । त्यसैगरी विश्वेश्वर प्रसाद कोइरालाले आफ्नो विशिष्ट शैलिले नेपाली साहित्यलाई पनि चार दशक नेतृत्व गरे । यहि नै अहिले मेरो अध्ययनको विषय बनेको छ ।


विश्वेश्वर प्रसाद कोइरालालाई कसरी पढ्न थाल्नु भएको छ ?
विश्वेश्वर प्रसाद कोइराला (वीपी) एक खुला किताव हुन् । उनी सहस्र विधा भएका व्यक्ति जस्तो लाग्छ मलाई । उनको जन्मदेखि मृत्युसम्म पढ्दै छु । राजनीति, साहित्य जे पढे पनि अल्छि लाग्दैन, आनन्द आउछ, प्रत्येक शब्दमा सिकेको अनुभूति हुन्छ । नरहरि आचार्यले संपादन गर्नुभएको विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेसको चार दशक र प्रदीप गिरिले सम्पादन गर्नुभएको विश्वेश्वरप्रसाद कोइराल राजनीतिक अभिलेख महत्वपूर्ण पुस्तक हुन् । त्यसैगरी वीपी आफैले लेखेका साहित्यिक भनौ वा राजनीतिक अद्वितिय छन् । सबै पुस्तकहरु जीवन बुझाउने खालका छन् ।
वीपी पढ्दै हुनुहुदो रहेछ उहाँको जन्म र बाल्यकाल कसरी बित्यो बताइदिनुहोस् ?
विश्वेश्रप्रसाद कोइराला (वीपी)को जन्म भारतको वाराणशीमा ९ सेप्टेम्बर १९१४ (वि.सं. १९७१ सालको भाद्र २४ गते)मा कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको छोराको रुपमा शल्यकृयाबाट भएको थियो । वीपीको न्वारनको नाम चुडामणी राखिएको थियो । बालककालमा पनि उनको बसाई स्थिर हुन पाएन । कहिले बनारस, कहिले कलकत्ता, कहिले वेतियामा भयो । खानपीनको पनि समस्या थियो । उनी वालक हुदै शरिरभरी खटिरा आयो । त्यसको औषधी किन्न पनि पैसाको अभाव भएर बिना औषधी अपरेशन गर्नुपरेको थियो । वीपी बालक कालबाट नै साहसी, मातापिताप्रति आदरभाव राख्ने आज्ञाकारी थिए ।


वीपीको शिक्षा कसरी अघि बढ्यो ?
वाल्यकालमा वीपीले अध्ययनको अवसर त्यति सहज किसिमले पाउन सकेनन् । तरपनि उनी तिक्ष्ण थिए । उनको पढाइ भारतको बनारसबाट प्रारम्भ भयो । सानीआमाको गहना बेचेर उनको पढाई सुरु भएको हो । वीपीले मेट्रीक पास दोस्रो श्रेणीमा गरे भने सन् १९३२ मा उच्चमाध्यमिक शिक्षा बनारसमा पुरा गरे । सन् १९३४मा बनारस विश्विद्यालयबाट राजनीति र अर्थशास्त्र विषयमा स्नातक गरे । कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातक गरे ।


वीपीको विवाह कसरी भयो र पढाई सकेपछि के के काम गरे ?
वीपीको विवाह साधारण रुपमा भएको थियो । त्यस समयमा वीपी चरम आर्थिक संकटमा थिए । साथी देवेन्द्रसँग चार पाँच सय रुपैया सापट लिएर झापाका बडाहाकिम कमलप्रसादकी छोरी सुशीलासँग विवाह भएको थियो । वीपीको विवाहमा आमा बाबु पनि उपस्थित भएका थिएनन् । वीपीले पढाई सकेपछि दार्जीलिङ्गमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी जीवनमा पनि उनी राजनीतिको नजिकै रहे ।


वीपी कठिन आर्थिक अवस्थाबाट गुज्रीरदा पनि राजनीति तर्फ कसरी आकर्षित भए ?
नेपालको राणा शासनले उनको सर्वश्वसम्पत्ति लिएको थियो भने त्यसै समयमा सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्ध भएको थियो । पिता कृष्णप्रसाद कोइरालाको राजनीतिक छाप वीपीमा परेको थियो । पटना बस्दा नरेन्द्र, लोहिया, जेपी जस्ता भारतीय नेताहरुको सम्पर्कमा थिए । भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको थियो । भारतको स्वतन्त्रता आन्दोलनमा वीपी धेरैपटक जेल परे । भारत स्वतन्त्र भयो । यस समयमा अग्रेज सरकारले यिनलाई सैनिकमा भर्ना ग¥यो भन्ने पनि पढ्न पाइन्छ । यहाँबाट छुटेपछि सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका लागि पत्र लेख्ने, अधिवेशन गर्ने काम गरे । पटनाबाट निस्कने सर्चलाइटमा नेपालमा प्रजातन्त्र ल्याउन चाहने व्यक्ति मेरो सम्पर्कमा आउनु भनेर पर्चा छपाए । वीपी नेपालमा पनि राणाले गरेको अत्याचार अन्त्य गर्न चाहन्थे । नेपालमा लेखक साहित्यकारहरु पनि उठ्दै थिए । यो समाचारले नेपालीहरु वीपीको नजिक आउन थाले । त्यससमयमा भरणीधरले नैवेद्य लेखे, कृष्णलाल अधिकारीले मकैको खेति लेखे यहि लेखेको आधारमा उनलाई जेलमा हालेर उनको जेलमा नै मृत्यु भयो ।


राष्ट्रिय कांग्रेसको आवश्यकता कसरी बोध गरियो र स्थापना कसरी भयो ?
सर्चलाईटमा वीपीले अपिल प्रकाशन गरे । त्यस मार्फत जम्मा भएका साथीहरुबाट वि.संं. २००३ कार्तिक १५ गते भेला आयोजना गरेर तदर्थ समिति गठन गरे । शुब्बा देवीप्रसाद सापकोटाको अध्यक्षतामा बालचन्द्र शर्मा उपाध्यक्ष र वीपी संयोजक रहने गरी समिति गठन भयो । यो समितिले भारतका धेरैजासो ठाउँमा पुगेर सन्देश दिने काम ग¥यो । यसै विचमा वीपी र गणेशमान सिंहको भेटघाट भयो । गणेशमान सिंह नेपालबाट जेल तोडेर भारत पुगेका थिए । उनको मनमा पनि एउटा पार्टीको आवश्यकता बोध भइरहेको थियो । वीपी र गणेशमानको बढ्दो भेटघाटले यो कामलाई थप अगाडि बढाउन मद्दत ग¥यो । यसै तदर्थ समितिले कलकत्ताको भवानीपुरमा वि.सं. २००३ माघ १२ र १३ गते बृहतसभाको आयोजना गरेर महाधिवेशन सम्पन्न गर्नुका साथै समिति गठन ग¥यो । यो अधिवेशनले नेपालको जेलमा रहेका प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यलाई सभापति र कार्यकारी अध्यक्ष वीपी कोइरालालाई बनायो ।


वि.सं.२००३ सालमा विराटनगर जुटमिलमा भएको आन्दोलन नेपालको प्रथम् मजदुर आन्दोलन भनिन्छ के हो ?
हो । वि.सं. २००३ फागुन २० गते प्रथम मजदुर हडताल विराटनगर जुटमिलमा भएको थियो । यो मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा वीपीलाई राणा सरकारले १ वर्ष जेल हाल्यो । वि.सं. २००४ माघ २० देखि २२ सम्म राष्ट्रिय कांग्रेसले दोस्रो महाधिवेशन बनारसमा ग¥यो । महाधिवेशनले जनआन्दोलन अहिंसात्मक हुने, नागरिक अधिकारको स्थापना गर्ने, निर्वाचित जनप्रतिनिधि विधान परिषद्बाट संविधान बनाउने, देशको शासन व्यवस्थाको स्वरुप निर्धारण गर्ने विषय अघि बढायो । वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथित आन्दोलन अगाडि बढाउन काठमाडौं आइपुगे । एक महिना नपुग्दै वीपी गिरफ्तार भए । कैदीहरुको स्थीति सुधारका लागि वीपीले जेलमा आमरण अनसन सुरु गरे । अन्तराष्ट्रिय दवावका कारण वीपीलाई जेल मुक्त गरियो ।


नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस कसरी नेपाली कांग्रेस बन्यो ?
जटिल अवस्थामा रहेको नेपाली राजनीतिलाई दुबै शक्ति नमिलि जनताको अधिकार स्थापित गराउन नसक्ने निष्कर्षमा वीपी कोइराला र सुवर्ण शंशेर पुगे । वीपी कोइराला र सुवर्ण शंशेरको पहलमा २००६ चैत्र २७ गते चौथो महाधिवेशन गर्दै नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकता भएर नेपाली कांग्रेस बन्यो । प्रथम ऐतिहासिक घोषणा सार्वजनिक ग¥यो । अब सशस्त्र क्रान्ति गरिने छ । क्रान्ति पश्चात जनताका प्रतिनिधिहरुद्वारा निर्मित विधान अनुसार … शासनको सम्पूर्ण बागडोर जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुको हातमा रहनेछ । … जनताप्रति उत्तरदायी शासन नै उत्तरदायी शासन हो … भन्ने वि.सं. २००६ सालको घोषणापत्र सार्वजनिक ग¥यो


२००७ सालको क्रान्तिका प्रणेता वीपी, सुवर्णले राणा शासन ढाल्न के कसरी अघि बढे ?
सशस्त्र क्रान्तिमा पूर्वी नेपालको मोर्चा समालेका वीपी कोइराला र सुवर्ण शंशेरले धेरै स्थानहरु मुक्ति सेनाले कब्जामा लियो । राणाको उपस्थिति काठमाडौंमा मात्र सिमित रह्यो । स्थिति भयावह र प्रतिकुल भएपछि प्रधानमन्त्री मोहन शंशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे । वार्ताका लागि छोरा विजय शमशेरलाई दिल्ली पठाए । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा नेपालील कांग्रेस, राणा र राजाका बिचमा त्रिपक्षिय संझौता २००७ फागुन १ गते भयो । दिल्लीबाट ४ गते त्रिभुवन, वीपी काठमाडौं आए । फागुन ७ गते प्रजातन्त्रको घोषणा गरे । ७ गतेको घोषणा वीपीले अंग्रेजीलाई नेपालीमा बनाएका थिए । त्यसमा चुनाव गरेर परिषद् बनाइने छ र परिषद्ले गणतन्त्रात्मक संविधान बनाउने छ भनिएको थियो । यसरी १०४ वर्षको राणा शासन समाप्त भएको थियो । अन्तरिम सरकारमा दोस्रो स्थानमा गृहमन्त्रीका रुपमा वीपी मन्त्री बने । यो सरकार लामो समयसम्म जान सकेन । कांग्रेस सरकारबाट हटेपछि यो सरकार ढल्यो । यसपछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने । २००७ सालको क्रान्तिको मूल उद्देश्य निर्वाचन हुन बाँकी थियो भने राजनीतिक उद्देश्य पूर्ण भएको थियो ।


फेरि क्रान्तिका सहयोगद्धाहरु विच नै झगडा परेको जस्तो देखिएको अवस्थामा यसपछि वीपी कसरी अघि बढे ?
क्रान्तिको उपलब्धिको रक्षार्थ जनचेतनाको अभियान कै क्रममा नेपाली कांग्रेसको पाँचौं महाधिवेशन भयो । यो महाधिवेशन जनकपुरमा २००९ जेठ १० देखि १३ सम्म भयो । यो महाधिवेशनले वीपीलाई सभापतिमा चयन ग¥यो । वीपीले संवोधन गर्दै भने चीनको त्यत्रो ठूलो राष्ट्रिय संस्था कुमिन्टैङ, जसले २० वर्षजति चीनी जनतालाई आफ्नो हत्केलामा राखेको जस्तो गरेको थियो । त्यसको आज आफ्नो मुलुकमा अस्तित्वसम्म नरहेको जस्तो छ । कांग्रेसले इतिहासको यस्ता कुराबाट पाठ सिक्नु पर्दछ । देशको माग के छ ? हिजोको प्रयत्नलाई अब कुन दिशापट्टी लगाउनु पर्छ ? कांग्रेस अधिवेशन सामु यहि प्रश्न छ ? भन्दै वीपीले अबको कामको मुख्य २ विभाजन १. राजनीतिकm २. आर्थिक हुनसक्छ भनेर अगाडि बढे ।


राजनीति सबै विषयको मूल मियो हो, लामो समय अन्धकारमा रहेको नेपालमा यस विषयमा वीपी के भन्छन् ?
वीपी, राजनीतिमा कांग्रेसलाई प्रजातन्त्रवाद प्राणभन्दा पनि प्रिय छ । यसका अङ्गहरु संसद्, वैधानिक शासन, स्वतन्त्र न्यायालय, विकेन्द्रीकरण इत्यादि जतिछिटो देशमा ल्याउन सक्यो प्रजातन्त्र त्यतिनै यथार्थरुप लिनसक्छ । राजनीतिक क्षेत्रमा हाम्रो विश्वास संसदीय प्रजातन्त्रमा छ । प्रजातन्त्रको अर्को आधारशिला स्वतन्त्र न्यायालय हो । शासनको केन्द्र काठमाडौं मात्र रह्यो भने दमन हुन जान्छ । यसोभएमा प्रजातन्त्रमा अपूर्णतामात्र होइन अराष्ट्रिय भावनाको उदय पनि हुनजान्छ । सरकारले शासनको अञ्चलिय विभाजन गर्नुपर्छ । अञ्चलका मातहत जिल्लाहरुको गठन हुनेछ । १ हजार जनसंख्यालाई लिएर ग्रामपञ्चायत गठन हुनेछ । ग्राम पंचायतले सानातिना मुद्दामा न्याय गर्ने, जिल्ला पञ्चायतको चुनाव गर्ने, कुवा, तलाउ र सडकको प्रबन्ध गर्ने चौकीदारको काम गर्दछ । यतिखेर विधान परिषद्को माग आजको नेपालको सबैभन्दा क्रान्तिकारी नारा हो । नवोदित राष्ट्रिय भावनालाई दृढ गर्ने ताकत यस नारामा छ ।


नेपाल विश्व मानचित्रमा धेरै तल भएको अवस्थामा देश उठाउने आर्थिक विषयमा वीपी के भन्छन् ?
कांग्रेसले आर्थिक प्रश्नमा विचार गर्दा वैधानिक दृष्टिकोण राख्नु पर्दछ । भूमि स्वामित्वको आधारको शोषणको अन्त्य हुनुपर्छ । आज हामी बिर्ता उन्मुलनमा केन्द्रीत हुनुपर्दछ । खेतिनभएको खेति हुनसक्ने विर्ता छ भने सामुहिक खेतिको लागि अनुरोध गरे दिनुपर्छ । विर्तामा किसानलाई सरकारबाट परेको समस्याको हल कांग्रेसले गर्नुपर्दछ । सरकारले अविलम्ब कानुन बनाएर जोतिरहेको जनताको पक्षमा बनाउनु पर्दछ । उत्पादनको बटवारामा ३ भागमा २ भाग किसानले र १ भाग जग्गावालले पाउने हुनुपर्दछ । हामीले सामुहिक खेतीमा प्रोत्साहन गर्नुपर्दछ । सामुहिक खेतिगर्ने संघहरुलाई वैज्ञानिक साधन र पूजीँको व्यवस्था गर्नुपर्दछ । टुक्रामा भएका जमिनलाई सामुहिक रुपमा गरेर उत्पादन बढाउन लगाउनु पर्छ । त्यसैगरी ठूला ठालुहरुको किसानमाथि मुख्य दवाब हुन्छ ऋणको, त्यसैले सुगमतासँग ऋण पाउने बनाउनु पर्दछ । भूमिसुधारले मात्र हाम्रो आर्थिक समस्या पूर्णरुपले हल हुन सक्दैन । उद्योगधन्दाको लागि पूजीँको आवश्यकता हुन्छ । पूँजीवादको अन्त्य होस् उद्योगधन्दाको राष्ट्रियकरण होस् भन्ने नारा लगाउछन्, यस्तो नारा प्रतिक्रियावादी नारा हो । उद्योगधन्दाका लागि चाहिने पूँजी हामीले देश भित्रै खोज्नु पर्दछ । कांग्रेसको नीति देशको पूँजी बाहिर नजाने हुनुपर्दछ । बाहिर गएको पनि भित्र आउने बनाउनु पर्दछ । चीनको माओत्सेतुङ सरकारले यसको समाधान व्यावहारिक रुपमा गर्न खोजेको छ । उन्नतिशिल देशको नक्कल गरेर हुदैन । कांग्रेसले कुटीर उद्योगलाई प्रोत्साहन दिनुपर्दछ । विदेशी पूँजी लिनपरेको खण्डमा सतर्कता र कडा नियन्त्रणका साथ मात्र आमन्त्रित गर्नुपर्दछ । हाम्रो अन्तिम लक्ष्य सोषणरहित सामिाजक व्यवस्थाको हो ।


देश बलियो बनाउन वैदेशिक नीति तथा राष्ट्रिय नीतिको आवश्यकता पर्छ यस विषयमा वीपी के भन्छन् ?
देशको बदलिंदो परिस्थितिमा राष्ट्रियताको भावना विशेष महत्व छ । यसप्रति कांग्रेसले विशेष ध्यान दिनुपर्छ । क्रान्तिलाई रोक्न प्रतिक्रियावादीशक्तिले राष्ट्रियभावनाको प्रयोग गर्दछन् । राष्ट्रियता भावनाको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्दछ । यो ठूलो शक्ति, स्रोत हो । हामी स्पष्ट शब्दमा घोषणा गर्छौं हामीलाई आफ्नो देशको स्वतन्त्रता सबैभन्दा प्यारो बस्तु छ । हाम्रो कोशिस ऐतिहासिक स्वतन्त्रतालाई झन सुदृढ बनाउदै लैजाने हुनेछ । आजको अन्तर्राष्ट्रिय परिस्थितिमा यदि हामी जागरुक भएर हर घडी देशको सार्वभौमिकताको रक्षाका लागि तत्पर रहेनौं भने स्वतन्त्रताको अपहरण हुन बेर लाग्नेछैन । नेपाली कांग्रेस यो घोषणा गर्न चाहन्छ नेपाल युद्ध विरोधी छ । कांग्रेस चाहन्छ अन्तर्राष्ट्रिय सम्बन्धको आधार हार्दिक मैत्री, विरोधको छलफलबाट निर्णय, संयुक्तराष्ट्रसंघ जस्ता संस्थाको मान्यताको वृद्धि र साम्राज्यवादी औपनिवेशिक नीतिको अन्त्य होस् । कांग्रेस देशभित्र शोषणरहित प्रजातान्त्रिक समाजवादी व्यवस्थाको कल्पना गर्छ । हाम्रो छिमेकी राष्ट्र हिन्दुस्थानका प्रति हाम्रो मैत्रीभावना हुनु स्वभाविक छ । हिन्दुस्तानको शान्तिपूर्ण उन्नतिमा हाम्रो पनि कल्याण छ । हिन्दुस्तानको पनि भलाई नेपालको स्वतन्त्रताको कदर गर्नमा छ । हामी सौभाग्यले एशियाका दुईओटा महानतम राष्ट्रका छिमेकी भएका छौं । हामी चीनको भलो चाहन्छौं । चीनप्रतिको हाम्रो भावना आदरको छ । यसरी वीपीले अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक नीति र राष्ट्रियताको विषयमा आफ्नो दृष्टिकोण कांग्रेस सभापतिका रुपमा राखेका थिए ।


नेपाली कांग्रेस आफ्नो विकास क्रममा कुन र कस्ता आदर्शले प्रेरित रह्यो ?
नेपाली कांग्रेसको विकास क्रमलाई वीपीको प्रत्यक्ष नेतृत्वले धेरै अर्थ राखेको छ । देश र देशभक्ति, प्रजातन्त्र, समाजवाद, क्रान्ति साधन–साध्य, क्रान्तिको आह्वान, राष्ट्रियता, हिंसा र अहिंसा एवं गान्धीवादी चिन्तन यसको विकासक्रममा छन् । वीपी भन्छन्, देश भनेको के हो ? त्यो त्यस्तो व्यक्ति हो जो तमाम जनताको निहुरिएको शिरउपर लाठो चलाउछ ? मेरो दृष्टिमा जनताको अधिकार र हितको हत्या गर्ने तत्वलाई देश हो भनेर स्वीकार गर्दैैन । देशभक्ति शासक भक्ति होइन । म क्रान्तिकारी हुँ तर मेरो क्रान्तिको विश्वास अन्तर्गत हिंसात्मक र अहिंसात्मक दुबै उपाय विचारणीय र सम्पादनीय छन् । अहिंसात्मक उपाय सम्भव नभएको स्थितिमा मात्र म निष्क्रिय नभई हिंसात्मक उपाय गर्नुपर्छ भन्छु । कांग्रेस नयाँ हुनुपर्छ । नयाँ नभइ निरन्तरता पनि हुँदैन । तर पुरानोमा पनि अझ प्राचीनसँग जोडिएको नयाँ चाहिन्छ । त्यस्तो नयाँ अपरिचित हुदैन । यस्ता गम्भीर विचारहरुले तात्कालिन नेपाली राजनीतिलाई सही दिशातिर मोड्न सक्षम भएको पाइन्छ ।


२००७ सालको उपलब्धि खतरामा परेको देखिदैछ राजा प्रजातन्त्रको विरुद्धमा छन्, वीपी अर्थात कांग्रेस के गर्दै छ ?
वि.सं.२०००९ श्रावण ९ गते २४ घण्टाभित्र सरकार छोड्न कांग्रेसले निर्देशन दियो । २००९ श्रावण ३० मा राजाको नेतृत्वमा परामर्शदात्री सरकार गठन भयो । २००७ सालको क्रान्तिको उपलब्धि विपरित भयो भनेर यो सरकारको विरोधमा कांग्रेसले मुलुक व्यापी अभियान चलायो । वि.सं.२०१० बैशाख, जेठमा नेपालको पूर्वितराईमा भूमिसुधारका लागि किसान विद्रोह सुरु भयो । यो विद्रोहले मालपोत नबुझाउने घोषणा गरे । आन्दोलन सल्कदै सल्कदै तौलीहवा, पोखरासम्म फैलिएको थियो । सरकारले यो विद्रोह शान्त पार्न सकेन । वि.सं.२०१० असार २ गते परामर्शदात्री सरकार पनि विघटन गरियो । त्यसपछि पनि मुलुकले निकास पाएन । राजा त्रिभुवन शक्तिको मूलस्रोत आफै हुँ भन्ने अभ्यासमा लागिराखे । वि.सं.२०११ पौष २६ गतेबाट ६ सूत्रीय– १. शान्ति सुरक्षा, जिउधनको रक्षा गर, २. नागरिक हक सुरक्षित, स्वतन्त्र न्यायालय कायम गर, ३. सल्लाहकार सभा धोखा हो, आमनिर्वाचन चाडो गर, ४. चामलको भाउ सस्तो गर, महङ्गी चाडो घटाऊ, ५. मुद्राको नियन्त्रण होस्, नोटको भाउ घटाइयोस्, र ६. हाम्रो स्वतन्त्रता गुम्न नपाओस्, देशको इज्जत बाची रहोस् । यस्ता मागराखेर कांग्रेसले देशव्यापी सत्याग्रह सुरु ग¥यो । मागहरु पुरा गर्ने भएपछि वीपी कोइरालाले सत्याग्रहको विजय भएकोले सत्याग्रह स्थगित गर्न आह्वान गरे ।


वीपीको समाजवादी नीति नेपाली कांग्रेसले विधिवत रुपमा कहिले लिएको थियो ?
नेपाली कांग्रेसको छैटौ महाधिवेशनमा वीपीद्वारा समाजवादी घोषणापत्र प्रस्तुत भएर स्वीकृत भएको थियो । विंसं.२०१२ माघ ११ र १२ गते वीरगञ्जमा कांग्रेसको महाधिवेशन भएको थियो । यस महाधिवेशनमा सुवर्ण शंशेर र गणेशमान सिंह चुनावी प्रतिस्पर्धामा थिए । अधिवेशनले सुवर्ण शंशेरलाई सभापतिमा चुन्यो । अधिवेशनले लोकतन्त्रवादका आधारमा समाजवादी समाजको निर्माण गर्ने, सामाजिक न्यायका आधारमा आर्थिक संवृद्धिका लागि भूमि सुधार र औद्योगीकरण गर्ने, धार्मिक, जातीय, वार्णिक र लिङ्गीय निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने, सामाजिक रुपान्तरणका लागि विकेन्द्रीकरण गर्ने, विधानसभाको निर्वाचन तत्काल गर्न दवाव दिने, एशियाली समाजवादी सम्मेलनको सदस्यता लिने लगायतका १८ प्रस्तावहरु पारिति गरेको थियो । वीपीले प्रस्तुत गरेको समाजवाद स्वीकृत भएपछि सभापतिय भाषणमा सुवर्ण शंशेरले भने हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुनसक्दछ भनी आफ्नो लक्ष्य बनाएका छौं । समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न संकल्प गरेका छौं । वीपीको प्रखर समाजवादी व्यक्तित्व भारतीय महाद्वीपमा उजागर भइसकेको थियो । वीपीले २०११ मा जापानमा भएको समाजवादी सम्मेलनमा भाग लिइसकेका थिए । वि.सं. २०१३ सालमा बम्बइमा भएको एशियाली समाजवादी सम्मेलनमा कांग्रेसले पूर्णसदस्यता प्राप्त गरिसकेको थियो । नेपाली कांग्रेसको आयोजनामा वि.सं.२०१४ चैत्र १३, १४ र १५ गते तेस्रो एशियाली समाजवादी सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो । यसमा भागलिन भारत, पाकिस्तान, वर्मा, जापान, इजरायल, इण्डोनेशिया र भियतनामका प्रतिनिधिहरु आएका थिए । यसले नेपालको प्रतिष्ठा बढाएको थियो ।


२००७ सालको मुख्य उपलब्धि विधानसभाको चुनाव हुन सकिरहेको छैन, आन्दोलन भइरहेको छ, यसमा अब चुनावको वातावरण कसरी निर्माण हुन्छ ?
२००७ सालको लगत्तैबाट सुरु भएको दरवारीया षड्यन्त्रले विधानसभाको चुनाव विभिन्न बहानामा टार्दै प्रजातन्त्रको विकासमा बाधा पारिदै थियो । राजा महेन्द्रले प्रजातन्त्रको खिल्लि उडाउने काम गर्दै थिए । परिणामतः कांग्रेसले पुन देशव्यापी सत्याग्रह आह्वान ग¥यो । राजाको चुनाव टार्ने नियतबाट रुष्ट भएका अन्य पार्टी समेत कांग्रेसको नेतृत्वमा गोलबन्द भए । निर्वाचनको मिति तोकियोस् भन्ने प्रमुख माग राखेर वि.सं. २०१४ मंसिर २२ गतेबाट भद्रअवज्ञा आन्दोलनको नामबाट सत्याग्रह सुरु भयो । २ महिनासम्म चलेको सत्याग्रह आन्दोलनका कारण वि.सं. २०१५ फागुन ७ गते निर्वाचन गर्ने घोषणा राजाले गरे । कांग्रेस विधानसभाको निर्वाचनको पक्षमा थियो । पार्टी भित्र विधानसभाको निर्वाचनमा नै जानु पर्छ भन्ने बलियो मत थियो । तर वीपीले बाहिरको परिस्थितिको समिक्षा गर्न २०१४ माघमा वीरगञ्जमा महासमितिको बैठक आयोजना गरियो । बाहिरि परिस्थिति प्रतिकुल थियो । कांग्रेस र कम्युनिष्ट पार्टी बाहेक अरु सबैले राजा भएको मुलुकमा विधानसभाको चुनाव हुदैन संसद्कै हुनुपर्छ, संविधान राजाले दिनुपर्छ भन्ने अडानमा थिए । कांग्रेस २००७ सालको क्रान्तिको उपलब्धि विधानसभाको निर्वाचन हुनुपर्छ भन्ने अडानमा थियो । महासमितिको बैठकबाट आमनिर्वाचन सम्पन्न गर्न सहयोग गर्ने गरी सत्याग्रह आन्दोलन स्थगित गरियो । वीपीले फागुन २९ गते नेपाल पुकारमा एउटा लेख माफर्त शाही घोषणालाई प्रजातन्त्रको घोषणपत्र भन्न मिल्दैन त्यसको आलोचना गर्न सकिन्छ । तर राजनीतिक सिद्धान्त विश्वासको वस्तुमात्र होइन व्यवहारको विषय पनि हो । यदि कुनै पनि कुराले आजको असैह्य स्थितिमा सुधार ल्याउँछ भने त्यो ग्राह्य हुन्छ भनेर परिस्थितिको आकलन गरेर विधानसभाको चुनाव छोडेर संसदको चुनावमा कांग्रेस वैधानिक निकायबाट निर्णय गरेर आयो । फागुन ७ गतेबाट चुनाव प्रारम्भ भयो । कांग्रेसले रुख चिन्ह लिएर १०९ क्षेत्रमध्ये ७४ क्षेत्रमा विजय हासिल ग¥यो । लामो समयसम्म महेन्द्रले सरकार बनाउन दिएनन् । अन्ततः २०१६ जेठ १३ गते नेपाली कांग्रेस संसदीय दलका नेता वीपी कोइराला प्रधानमन्त्री भए । यसरी २००७ सालको उपलब्धिलाई कांग्रेसले सबैसँग मिलेर संरक्षण ग¥यो ।


वीपी कोइराला आफ्नो घोषित उद्देश्यसाथ प्रधानमन्त्री हुँदा हुँदै प्रजातन्त्रको हत्या राजा महेन्द्रले कसरी गर्न सके ?
वीपी कोइराला प्रधानमन्त्री भएर आफुले २००९ सालको राजनीतिक खाकालाई पूर्णता दिदै नेपाली जनतालाई बलियो बनाउन चाहन्थे । राजा महेन्द्र प्रजातन्त्रको विरुद्धमा छन् भन्ने कुरा वीपीको श्रीमति सुशीला कोइरालालाई थाहा थियो, उनले वीपीलाई प्रधानमन्त्री नबन्न धेरै भनिन् । तर पनि वीपीले आफु १ वर्षका लागि मात्र प्रधानमन्त्री बन्छु भने । यता सुवर्ण शंशेर वीपी नै प्रधानमन्त्री बन्नु पर्छ भन्नेमा स्पष्ट थिए । राजाले लोकतन्त्र खाइदिन्छन् भन्ने डर सुशीलालाई थियो भने जनतालाई परिवर्तन थाहा दिन वीपी प्रधानमन्त्री बन्नु पर्छ भन्ने दृष्टिकोण सुवर्ण शंशेरको थियो । अन्ततः वीपी प्रधानमन्त्री भए । उनको मन्त्रिपरिषदमा उपप्रधानमन्त्री सुवर्ण शंशेर, वरिष्ठ मन्त्री गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र आदि थिए । जनतामा कवुल गरे अनुसार स्वतन्त्र निष्पक्ष न्यायालय, प्रशासनिक सुधार कर्मचारीको तलब बृद्धि, विकेन्द्रीकरण जिल्ला विकास बोर्डको गठन, विर्ता उन्मुलन ऐनको व्यवस्था, जंगलको राष्ट्रिय करण, राज्यरजौंटा उन्मुलन, नेपाल एयरलाईन्सको राष्ट्रिय करण, देशभर स्कुल स्थापना, त्रिभुवन विश्वविद्यालयको स्थापना, औद्योगीक क्षेत्रहरुको स्थापना, चिनी र चुरोट कारखानाको स्थापना र सुव्यवस्थित पहिलो पटक बजेटको व्यवस्था गरेर वीपीको सरकार तिब्र गतिमा आन्तरिक अवस्थामा हिडेको थियो । त्यसैगरी विदेश नीतिका सम्बन्धमा पनि निकै सफलताका साथ अघि बढाउदै थियो । भारत चीन सँगको सीमा विवाद मिलाउदै आएको थियो । सरकारले गरेको काम महेन्द्रलाई चित्त बुझिराखेको थिएन । महेन्द्रले भित्रभित्रै गगम्भीर षड्यन्त्र गरिरहेका थिए । वि.सं. २०१६ माघ १६ गते नेपालगंजमा गरेको भाषणले यही संकेत गथ्र्यो । यसैविच २०१७ बैशाखमा कांग्रेसले सातौं महाधिवेशनले वीपीलाई सभापति बनाएर सम्पन्न भएको थियो । २००७ सालको क्रान्तिले निर्धारण गरेको संवैधानिक राज्यतन्त्रको सीमाभित्र राजा महेन्द्र बस्न चाहेनन् । अन्ततेगत्वा २०१७ पुस १ गते सैनिकको बलले नेपाल तरुण दलको अधिवेशनको उद्घाटन स्थलबाट प्रधानमन्त्री वीपी कोइराला र उनका मन्त्री, सभामुख कृष्णप्रसाद भट्टराई लगायत सबै नेताहरुलाई बन्दी बनाए । जननिर्वाचित संसद भंग गरे मुलुक पुनः अन्धकारको युगमा प्रवेश ग¥यो । वीपीलाई कुनै मुद्दा विना नै ८ वर्षको अकण्टक कारावास पछि २०२५ कार्तिक १४ गते वीपी, गणेशमान रिहा भए । कृष्णप्रसाद भट्टराई रिहा भएनन् । वीपीले जेलमा बस्दा साहित्यमा कलम चलाए । उनका अधिकांश सृजना यसै समयमा लेखिएका हुन् ।


वीपीको संसदमा स्त्री र पुरुषको विषयमा पनि लामो छलफल भएको सुनिएको थियो, त्यो विषय के हो ?
हो, लामो छलफल भएको थियो । स्त्री पुरुषको सम्बन्धलाई नियन्त्रणमा राख्नको लागि विवाह, पारपाचुके कसरी नियमित र नियन्त्रणमा राख्ने भन्ने हो । यसलाई सामाजिक र जैविक दृष्टिबाट विचार गर्नुपर्दछ । वीपी भन्छन्– मलाई स्त्री पुरुषको सम्बन्ध जंगली जनावरको नङ्ग्रा र दातले चिथर्ने र टोक्ने सम्बन्ध जस्तो लाग्छ । लोग्ने मानिस र स्वास्नी मानिसबीच ठूलो जैविक द्वन्द्व छ । एउट शक्ति छ जसले सबै जान्दछ, जो अजर अमर छ, कालदर्शी छ, न त्यसको सुरु छ न अन्त्य छ । त्यसले गरेको कुराबाट सृष्टि चल्दछ त्यो त्यही शक्ति हो । हामी विज्ञानमा जतिजति विजय प्राप्त गर्दै जान्छौं त्यतित्यति देवता फाल्दै जान्छौं । जीवनशक्तिले दुईवटा काम गर्न दिएको छ । लोग्ने मानिसको हातमा सभ्यता बनाउने काम दिएको छ । स्वास्नीमानिसको हातमा सभ्यता बनाउने बस्तु बनाउने काम सुम्पेको छ । लोग्नेमानिस र स्वास्नीमानिसलाई बराबर काम सुम्पिएको छ । कच्चा पदार्थ समाप्त नहोस् र प्रयोग गरिरहन पाओस् भनेर जैविक आवश्यकता दिएको छ । जैविक काम भएन भने मानव विकास समाप्त भएर जान्छ । लोग्नेमानिस प्रगति, विकास, वैज्ञानीक, दैवीशक्ति प्राप्त गरौं भन्ने ध्येय हुन्छभने स्वास्नीमानिस घर हेर्नु, छोराछोरीको हेरविचार गर्ने ध्येय हुन्छ । यस किसिमबाट द्वन्द्व प्रकट हुन्छ । लोग्नेमानिस स्वास्नीमानिसको सौन्दर्यदेखेर मोहित हुन्छ भनेर कविले भनेका छन् । स्वास्नीमानिसहरु लोग्नेमानिसलाई फसाएर आफ्नो काम पुरा गर्न चाहन्छन् । त्यसकारण यसलाई कुनै सामाजिक नियमबाट बाँधेर राख्नु, मधुर भनेर भन्नु साँचो दृष्टिकोण होइन । सामाजिक दृष्टिबाट विचार गर्ने हो भने विवाहको नाना रुप पाउछौं । कुन्ती आफ्नो दुलाहा छदाछदै अरु लोग्नेमानिससँग सम्बन्ध राखेर प्रतिष्ठावती भएकी छन् । द्रौपदीले पाँच पति राखेर हाम्रो आर्यसंस्कृतिअनुसार पुज्य भएर बसेकी छन् । तारा, अहिल्या, र यशोधरा पनि पञ्चकन्यामा गनिएका छन्, उनीहरु पतिब्रता नारी होइनन् । यो आर्यसंस्कृति नै हो, त्यसैले सामाजिक नियम आमामाथि नै आधारित छ ।


वीपी सानैदेखि राजनीतिक माहोलमा हुर्किदा हुर्किदै कसरी साहित्यिमा कसरी आकर्षित भए ?
वीपी सानैदेखि कृतिहरुको अध्ययन गर्ने मात्र होइनन्, त्यसलाई व्यवहारमा उतार्ने पनि प्रयास गर्थे । साहित्यकारहरु शान्तिप्रिय द्विवेदी, रामकृष्ण दास, जयशङ्कर, मैथिलिशरण गुप्ता, सुमित्रानन्दन पन्त, मुन्सी प्रेमचन्द्रसँग साहित्य लेखन र अध्ययनको शिलशिलामा उनको सम्बन्ध धेरै निकटताले बढ्दै गएको थियो । त्यसैले उनलाई हामीले कहिले फ्रायडवादीको रुपमा, कहिले छायावादी, कहिले यौनवादी, कहिले मनोविज्ञानवादी, कहिले आदर्शवादी, कहिले रहस्यवादी, कहिले अध्यात्मवादी, कहिले नियतिवादी आदि विविध वादीका रुपमा पाउछौं । वीपीको लेखन १६ वर्षको उमेरदेखि प्रारम्भ भयो । चन्द्रवदन, नेपालीको उनको पहिलो कथा हो ।


वीपीको साहित्यिक यात्रा कुनकुन विधामा चल्यो ?
पहिला उपन्यासको चर्चा गरौं । तीन घुम्ती (२०२५), नारीका तीन रुप प्रेमि, पत्नी र आमाको चित्रण गरिएको छ । एउटी नारीको आफ्नो निर्णय प्रेम विवाह, परपुरुषसँग सन्तान प्राप्ति, पतिबाट अस्वीकृत, छोरी लिएर एक्लै बस्ने निर्णय, यि निर्णयहरु एउटा नारीले आफ्नो अस्तित्व जोगाउनका लागि गरेको संघर्षको कथा हो । त्यसैगरी सुम्निमा(२०२७) भिन्न संस्कृतिको सम्मिश्रणको गाथा हो । जर्वजस्ती यौन मीलनले गर्भ नरहने कुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा छ । प्रेमले मानिस टाढा भए पनि नजिक भएको अनुभूति गराउछ भन्ने उपन्यासको सार हो । अर्को नरेन्द्र दाइ(२०२६) मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नी र प्रेमीका दुई छुट्टाछुट्टै सम्बन्ध बिचको कथा हो । पति प्रेम नपाए पनि सेवामा अटल रहने आदर्श पत्नी र प्रेम भावमा लिन प्रेमिकाका दुई भिन्न चरित्रका नारीको जीवन गाथा छ । मोदिआइन(२०३६), महाभारतमा लाखौ विधवा नारीको प्रेतात्मा प्रतिनिधिका रुपमा छ । युद्धको परित्याग र शान्तिको स्थापना यसको सन्देश छ । यसैगरी हिटलर र यहुदी(२०४०), हिटलरले निर्दोष यहुदीहरुलाई मारेको घटनाको उपन्यास हो । हिटलरले गरेको नरसंहार देखाएर शान्ति मूल आधार हो भनिएको छ । बाबु, आमा र छोरा(२०४५), यो नेपाली समाजमा नपच्ने खालको कथा छ । यस उपन्यासमा तीनवटै पात्रहरुको मानसद्वन्द्व र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोस्रो विवाह हुन्छ । यौन समस्या उजागर गर्ने काम यो उपन्यासबाट भएको छ ।


त्यसैगरी, वीपीका कथाहरुमा मेरो कथा(२०४०), वीपीको आफ्नो जीवनी हो यो । दोषी चश्मा(२००६), मौलिक, मनोवैज्ञानीक एवम् चरित्र प्रधान कथा हो । फ्रायडवादी मनोवैज्ञानीक साहित्यका रुपमा लेखिएको छ । यो सामाजिक यौन मनोविज्ञानको प्रकारमा पर्दछ । श्वेत भैरवी(२०३९) कथाका रुपमा छन् । आत्मवृत्तान्त वरिष्ठ अधिवक्ता गणेशराज शर्माको वार्तामा आधारित र जेल जर्नल सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित छन् भने मेलमिलापको नीति लिएर स्वदेश आउदा पुन सुन्दरीजल बन्दी गृह लगिएपछि लेखिएको दैनिकि फेरि सुन्दरीजलमा राजनीतिक यथार्थताका चित्रण गरिएका छन् । साहित्य र लोकतान्त्रिक सिद्धान्तको राजनीतिलाई समान रुपमा वीपी कोइरालाले आफुसँग हिडाएको स्पष्ट देखिन्छ । सग्रमा भन्दा वीपी राजनीति सचेत मनोविश्लेषणात्मक वैचारिक साहित्यकार हुन् भन्न सकिन्छ । वीपीको नेपाली साहित्यमा राजनीतिमा भन्दा बढी योगदान छ भन्न सकिन्छ । लोकतन्त्रवादी, समाजवादी, चिन्तक वीपीले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्गमयलाई शिखरमा पु¥याउन योगदान दिएका छन् ।


तपाईले वीपीको सबै भन्दा पछि प्रकाशित भएको डायरी पढ्नु भएको छ ?
पढेको छु । त्यसैको एउटा प्रसङ्ग वीपीकै शब्दमा म तपाईलाई भन्छु । आज बुद्ध जयन्ती । पूर्ण चन्द्रमा । मनमनै सोचे साधारण जनताको एउटा छोरो त्यस्तो गौरवपूर्ण उचाइसम्म उठ्यो । कल्पनाभन्दा माथि आज करिब ३००० बर्षपछि पनि करोडौं अनुयायी उनको सम्झनामा श्रद्धा अर्पण गर्छन् । कति उत्साहवर्धक कुरा । म भने आफेना अध्यारा दिन खेपिरहेको छु । यस बेला वुद्धले आर्जन गरेको उचाइले मलाई प्रेरणा दिएको छ । साँझतिर म टुँडिखेलतिर घुम्न निस्किए । बाक्लो बादलको बर्कोभित्रबाट पूर्ण चन्द्रमा बेलाबेला तलतिर चिहाउथ्यो । वातावरण उत्सवमय थियो । बुद्धको जन्मको सन्दर्भ थियो । समुह–समुहमा मानिसहरु वसन्त ऋतुको महक र प्रेमका विचारहरु म खुसी थिए । राजनीतिको होहल्ला अब टाढीएको थियो र म यस वातावरणसँगको गहिरो प्रेममा थिए । म आज पूर्ण रुपमा मानव बनेको थिए ।… यो पुस्तक राजनीति गर्छु, बुझ्छु, जानकारी राख्छु भन्ने सबैले पढ्नु पर्छ उत्तम पुस्तक छ ।


वीपी तर्कसंगत र शान्तिपूर्ण आन्दोलनको पक्षमा भएको पाइन्छ, कसरी दोस्रो सशस्त्र आन्दोलन गर्ने निष्कर्षमा पुगे ?
वि.संं. २०२५मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भए । त्यसपछि उपचार गर्न बाहिर गए । उपचार सकेर आएपछि देशमा बसेर पंचायतको विरोध गरेर प्रजातन्त्रको दियो बाल्न वीपी चाहन्थे । उग्ररुपमा रहेको पंचायतको मण्डले स्वरुपले यो काम गर्न निक्कै कठिन भयो । अनि वीपीले भने मातृभूमिलाई वर्तमानको प्रसव वेदनाबाट मुक्तपार्न आवश्यक परे शल्यक्रिया पनि गर्नुपर्ने वक्तव्य दिए । २०२९ सालमा कांग्रेसले पुनः हतियार बन्द आन्दोलनको बाटो अँगाल्यो । हामी क्रान्तिको दोस्रो चरणमा छौं । ठाउँ ठाउँमा भएको बम विष्फोटनले दोस्रो अध्याय सुरु गरेको छ । अब शाही सेना होइन राष्ट्रिय सेना बन्नु परेको छ । अरु मुलुकमा पनि जनताले अधिकारका लागि रगत बगाएको त्यो खेर गएन यहाँ पनि जादैन । मूल्य नचुकाईकन पाएको वस्तुको रक्षा गर्ने सामथ्र्य जनतामा हुँदैन । यस संघर्षमा तमाम वर्ग, विचारधारा र दलको सहयोग चाहन्छौं । वीपीको आह्वानमा सयकडौं नवयुवकहरु फेरी एक पल्ट आफ्नो प्राणको बाजी राखेर तानाशाहीको विरुद्धमा विरतापूर्वक संघर्षमा उत्रिए । तत्कालिन अवस्थामा तिन प्रकारको आन्दोलनको रणनीति लिएको देखिन्छ । वीपी कोइरालाको नेतृत्वमा सशस्त्र संघर्ष, सुवर्ण शंशेरको नेतृत्वमा राजासँग संवाद र कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अहिंसात्मक र असहयोग आन्दोलन गर्ने । बाह्य परिस्थितिले गर्दा यो सशस्त्र आन्दोलन स्थगित गर्नु परेको थियो । वीपी देश भित्र नै बसेर आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाल्दै ८ वर्षसम्मको निर्वासित जीवन त्यागेर मेलमिलापको नीति लिएर देश जाऔं भन्ने वातावरण निर्माणका लागि आन्तरिक छलफल अगाडि बढाए ।


वीपीले आफु माथिको ज्यान मुद्दाको पर्वाह नगरी कुन विश्वासले मेलमिलापको नीति लिएर नेपाल फर्किए ?
राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरी राष्ट्रिय अस्तित्वमाथि प्रश्नचिन्ह लाग्न सक्ने अवस्थाको अनुभव गरेर वि.सं. २०३३ पुष १६ गते एउटा अपिल प्रकाशन गरी मुलुकका सबै प्रवाहहरुबीच सामञ्जस्य, परस्पर समझदारी र एकता चाहिएको कुरा अभिव्यक्त गरे । देशमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गरेर मेलमिलापको नीति लिएर वीपी गणेशमान स्वदेश फिर्ता भए । वीपीले भने मेलमिलाप परिस्थितिले निर्धारण गरेको एउटा संघर्षको रुप हो । यतिबेला राष्ट्र संकटमा छ । राष्ट्रियताको सवालमा राजाको गर्धन माथि मेरो गर्धन छ । यसरी आएका वीपी, गणेशमान, शैलजाहरुलाई एयरपोर्टबाट गिरफ्तार गरेर थुनियो । वीपी माथि थुप्रै ज्यान मुद्दा थिए । उनले अदालतमा गएर यस विचमा भएका सबै घटनाहरुको जिम्मेवारी लिए । बन्दी अवस्थामा रहदानै वीपीको स्वास्थ्य अत्यन्त विग्रेको कारणले उपचारका लागि अमेरिका पठाइए । अमेरिकाबाट फर्केर पटना आएपछि वीपी र सुवर्णको भेट भयो । २०२५ सालपछि भएको भेटमा दुबै भावुक बने । सुवर्णले आफ्नो ओछ्यानबाट वीपीलाई आफुले १७ वर्षदेखि जिम्मा लिएको कार्यवाहको भारी बिसाउदै अब तपाईले मेरो केन्द्रीय समिति राखेर एउटा काउन्सिल बनाएर पार्टी चलाउनुहोस् भने । पटनामा कांग्रेसको पटना कन्फ्रेन्स भयो, कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति, गिरिजाप्रसाद कोइरालालाई महामन्त्रीको जिम्मेवारी दिइयो । उपचार गरेर वीपी नेपाल आएपछि राजनीतिक माहोल बढ्दै गयो । यसैको पृष्ठभूमिमा २०३६ सालको विद्यार्थी आन्दोलन भयो । वीपीलाई निवासमा नजरबन्दमा राखियो ।


वीपीको उपस्थिति र विद्यार्थी आन्दोलनले जनमतसंग्रह प्राप्त भयो, जनमतसंग्रहमा भएको धाधलीलाई वीपीले किन आत्मसात गरे ?
वि.सं. २०३६ जेठ १० गते जनमतसंग्रहको घोषणा राजा विरेन्द्रले गरे । प्रचारकालागि वीपी देशव्यापि दौडाहामा गए । बहुदलका पक्षमा मतदान गर्न अपिल गरे । वि.सं. २०३७ वैशाख २० गते मतदान बहुदलको पक्ष र निर्दलको पक्षमा भनेर भएको थियो । पंचायतको व्यापक धाधलीका कारण कूल खसेको ४४ लाख मध्ये २१ लाख ४६ प्रतिशत बहुदलको पक्षमा आयो । धाधली भयो यसलाई मान्नु हुदैन भन्ने भनाइ गणेशमा सिंहको थियो । तर वीपीले हामीले पाएको २१ लाखको विश्वासलाई कहाँ राख्ने भनेर आएको परिणामलाई स्वीकार गरे । देशभर जनता पंचायतले धाधली ग¥यो भन्नेमा नै थिए । तर वीपीले सुझबुझ पूर्ण रुपले देशभर पुगेर धाधली भएको हो, तर हामीलाई मतदान गर्ने जनताहरु प्रति हामी उत्तरदायि हुनुपर्छ । अब पंचायतसँग नैतिक शक्ति छैन । कुनै पनि समयमा बहुदल आउछ भन्दै हिडे । त्यस समयमा बहुदलको प्रतिनिधित्व कांग्रेसले र राजाको प्रतिनिधित्व निर्दलले गरेको थियो । स्वतन्त्र पूर्वकको मतदान थिएन । कांग्रेसको हकमा स्रोत र साधनको पनि कमि थियो । प्राविधिक हिसाबले हामी पराजित भएका छौं तर राजनीतिक हिसावले लोकतान्त्रिक आधार सुदृढ भएको छ । हामीलाई ठूलो जनसमर्थन छ राजाले अब गर्ने कुनै पनि कार्य प्रारम्भ गर्नु अगाडि यस वास्तविकताको उपेक्षा गर्न मिल्दैन । जनमतमा सबै शक्ति हुन्छ भन्ने पूर्ण विश्वासमा वीपी कोइराला देखिन्छन् । त्यसपछि वीपीले २०३७ चैत्र २६ गते निर्वाचन वहिस्कार गरौं भने ।


जनमतसंग्रहको अपार शक्तिपछि वीपीले निर्वाचन वहिस्कार गर्न कस्तो अपिल गरेका थिए ?
हामीले निर्वाचन बहिस्कार गरेको निस्क्रियताको लागि होइन । सक्रियताको नाउमा हामी कुनै समाजविरोधी उग्रवादी तत्वसँग पनि संलग्न हुने छैनौं । उग्रवादीहरु र पञ्चायत समर्थक उग्रवादीहरु नै हाम्रा विरोधी शक्ति हुन् । हामी राष्ट्रिय एकता सृजना गर्न चाहन्छौं, उनीहरु विरोध गर्छन् र राष्ट्र हितका विरोधी छन् । तसर्थ निर्वाचन वहिस्कारको कार्यक्रममा सम्पूर्ण देशवासीलाई उग्रवादबाट पन्छिएर प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रतालाई ध्यानमा राख्न अपिल गर्दै वीपी आह्वान गर्दछन् । जनमतसंग्रह पछिको तेस्रो संविधान संशोधनको विरोध र निर्वाचन वहिस्कार गर्ने जुन गम्भीर निर्णय गरेका छौ । यो निर्वाचन बहिस्कारको कार्यक्रम निर्वाचन प्रक्रियासँगै चल्ने छ । करिव साढे चार वर्षदेखि हामीले निर्वासन त्यागी अथक र अनवरत रुपमा मुलुको स्वतन्त्रता रक्षा गर्दै राष्ट्रियताको सम्बद्र्धनमा लागेका छौं भने अर्कोतर्फ घातक संघर्षको बदला मेलमिलाप र सहमतिको वातावरण सृजना गर्न लागेका छौं । चिकित्सकको सल्लाहबमोजिम म पुनः शल्य–चिकित्साको लागि विदेश जाँदै छु । यसपालिको शल्य–चिकित्सा सानो किसिमको हुने अनुमानले छिट्टै फर्कने आशा गरेको छु । मुलुकको आजको जुन अवस्था छ र जुन प्रकारका संकटले ग्रस्त छ त्यसलाई दृष्टिगोचर गर्दा बडो चिन्तायुक्त मनस्थितिमा छु । छिट्टै स्वास्थ्य लाभ गरी आफ्नो सेवा अर्पण गर्न आउने छु । अन्ततः क्यान्सर रोगले वीपीको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो ।


वीपी देशभक्ति र राष्ट्रियताका विषयमा के भन्छन् ?
राष्ट्र भनेको के हो ? नेपाल भनेको के हो ? देश भनेको के हो ? जनता हुन् । जनताको अधिकार खोसेर देश हितको रक्षा हुदैन । देश वा राष्ट्र भनेको भूगोल मात्र होइन, माटो मात्र होइन, त्यो यथार्थमा जनता हो । तसर्थ जनताको हित हुने कुरो नै देशहितको कुरो हो । जनताको अधिकार देशको अधिकार हो । जनताको अधिकार हनन् गर्नु देशको अधिकार हनन् गर्नु हो । नेपालको भूगोलबाट जनता लोप भए भने नेपाल लोप हुन्छ । राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व जनता नै हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो ।

वीपीले सगरमाथा विवाद कसरी मिलाएका थिए ?
सगरमाथा चीनले पनि दावि गरिराखेको थियो । सगरमाथाकै विषयमा बहस चलिरहदा चीनका प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमामा आएका थिए । फर्किने अघिल्लो दिन वि.सं. २०१७ बैशाख १६ गते प्रधानमन्त्री चाउ एन लाई ले ग्यालरी बैठक सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ भारतीय पत्रकारहरुले नेपालसँगको सीमा समस्या समाधान भयो ? भनेर प्रश्न गरे । पत्रकारहरुलाई उत्तर दिदै चाउ एन लाई ले भने नेपालसँग हाम्रो त्यस्तो कुनै समस्या छैन । नेपाल सानो मुलुक हो । हामीसँग त्यत्रो विशाल क्षेत्रफल छ । केही सय वर्ग माईल नेपालले लियो भने पनि हामीलाई फरक पर्दैन । अहिले हामीले आफ्नो नक्सा फिर्ता गरेर नेपालको नक्सा स्वीकार गरिसक्यौं । सगरमाथा नेपालको हो । दक्षिणबाट आरोहण गर्नेलाई नेपालले र उत्तरबाट आरोहण गर्नेलाई चीनले अनुमित दिनेछ भनेर आफ्नो भनाई सकेका थिए । यस बीचमा वीपी कोइरालाले चीन गएर अध्यक्ष माओसँग लामो वार्ता गरेका थिए । उनको भनाई पनि यस्तै थियो । तर पनि नेपालप्रति चीनको दृष्टि सकारात्मक थियो र वीपीले यसरी सगरमाथाको विवाद मिलाएका थिए ।


अन्त्यमा वीपी थप के भन्छन् ?
वीपी भन्छन्, देश सञ्चालन गर्न सक्ने कांग्रेसका दोस्रो तहको नेतृत्व छन् भन्दा न्याय र स्वयंप्रति इमान्दार नभएको ठहरिन्छ । हाम्रा मानिसहरु एकदमै इमान्दार छन् र तिनीहरुले बडो दुःख पाएका छन् । तर उनीहरुले सबैकुरा आफै संचालन गर्न सक्छन् भनेर म भन्दिन । अन्तर्राष्ट्रिय मामिला, वित्तीय मामिला, योजनामा हाम्रा कार्यकर्ताहरुमध्येमा हामीसँग सक्षम मानिस छैनन् । त्यसकालागि हामीले बाहिरबाट मानिस झिकाउनु पर्ला, तर हामी त्यसो गर्न पनि चाहदैनौं … । त्यसैगरी घुसखोरी र भ्रष्टाचारको विषयमा … । हाम्रा मानिसले भारतीयहरुले भन्दा गुणात्मक रुपमा बढी दुःख सहेका छन् । तुलनात्मक आधारमा हेर्दा संख्यात्मक रुपमा पनि तिनको संख्या बढी नै छ । उनीहरु देशभक्त र अनुशासित छन् । तिनीहरु त्यस्तो सामन्ती व्यवस्थाको पासोबाट मुक्त हुनसक्छन् भन्ने आशा गर्न सकिन्छ । तर जब तिनीहरुले नयाँ समाजको निर्माण गर्ने कोशिस गर्नेछन्, तिनिहरुमा त्यो क्षमताको अभाव हुनसक्छ । आफ्नै बारेमा वीपी भन्छन् … । मैले एउटा नेताले पाउने आदरभन्दा बढी प्रेम र स्नेह प्राप्त गरेको छु । मलाई मानिसहरु सान्दाजु भन्छन् । मैले एउटा ठूलो पारिवारिक नेतृत्व गरेको छु । निःसन्देह मेरो यो परिवार एकदम ठूलो छ । …