ईद उल फित्र घरमै रहेर सुरक्षित तवरले मनाउँ : प्रधानमन्त्री


हरेकपल May 25, 2020

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ईद उल फित्रको शुभकामना दिदैँ भने घरमै रहेर सुरक्षित तवरले मनाउन आग्रह गरेका छन् । इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै कोरोना कहरको वेला घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चार्डपर्व मनाउन पनि म आह्वान गर्दछु ।’ ‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको स्मरण गराउँदै उनले ठीक यसैबेला विश्वब्यापी संकटका रुपमा कोभिड–१९ भाइरसको महामारी सामना गर्नुपरेको बताएका छन् ।

स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’ व्यक्त गर्दै ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश रहेको दाबी गर्दै मौलिक पुँजीको रुपमा रहेको धारणा व्यक्त गरेका छन् ।

‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन् । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।’