नयाँ नक्सा प्रयोगमा ल्याउन सबै निकायलाई परिपत्र


हरेकपल May 25, 2020

काठमाडौं । सरकारले राज्यका सबै निकाय र कार्यालयलाई कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन परिपत्र गरेको छ । भूमि व्यवस्था मन्त्रालयले आइतबार सबै मन्त्रालय तथा कार्यालयलाई नयाँ नक्सा प्रयोग गर्न पत्राचार गरेको हो ।

सरकारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमार्फत सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहमा नयाँ नक्सा प्रयोग गर्न परिपत्र गरेको छ ।

संघीय मन्त्रालयहरू तथा संघ मातहतमा रहेका कार्यालयमा भने भूमि व्यवस्था मन्त्रालयले आफैं पत्र पठाएको छ । मन्त्रालयले पठाएको पत्रमा पुरानो नक्सा हटाएर त्यसको ठाउँमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरिएको छ । मन्त्रालयका अनुसार पाठयक्रममा पनि अद्यावधिक गरिएको नयाँ नक्सा राखिने भएको छ ।