साढे दुई महिनामा भारतबाट आए ५ लाख ७८ हजार नेपाली


हरेकपल May 25, 2020

काठमाडौं । गत २५ फागुनदेखि १० जेठसम्म रोजगारी, उपचार तथा तीर्थाटनसहित विभिन्न कामका लागि भारत पुगेका ५ लाख ७८ हजार २ सय नेपाली स्वदेश फर्किएका छन् । विभिन्न कामको सिलसिलामा भारत पुगेका उनीहरू विश्वभर कोरोना संक्रमणको सन्त्रास बढेसँगै स्वदेश फर्किएका हुन् ।

गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरेले गत २५ फागुनदेखि १० जेठसम्मको ७७ दिनको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए । यसरी आउनेहरूमध्ये अधिकांश लकडाउनअघि अर्थात् २५ फागुनदेखि ११ चैतसम्म आएका छन् ।

सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि हालसम्मको अवधिमा मात्रै करिब ७५ हजार नेपाली विभिन्न सीमा नाका हुँदै नेपाल आएका छन् । यसरी आएकाहरूलाई घर पुग्नुअघि अनिवार्य क्वारेन्टिन राखिँदै आइएको छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिले भारतीय सीमा क्षेत्रमा आएर अलपत्र परेकाहरूलाई आउन दिने निर्णय गर्दा मात्रै करिब ३० हजारको संख्यामा विभिन्न नाका हुँदै नेपालीहरू आएको गृह मन्त्रालय बताउँछ ।

यस्तै, पछिल्लो समयसमेत नाकामा आएर क्वारेन्टिनमा बसेकाहरू धमाधम घर फर्कंदै आइरहेका छन् । शनिबार मात्रै ७ हजार नेपाली भारतबाट नेपाल प्रवेश गरेका थिए । यसैगरी, भारतसँगको खुला सीमाका कारण चोरबाटो हुँदै ठूलो संख्यामा नेपालीरू लुकीछिपी आइरहेका छन् ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले भने भारतबाट लकडाउनकै बीचमा आएका नेपालीको संख्या ठूलो भए पनि कोरोना चेकजाँच भने आधाको पनि हुन नसकेको बताए । राजधानी दैनिकमा खबर छ ।