अमेरिकाद्वारा ब्राजिलबाट आउने विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध‍


हरेकपल May 25, 2020

एजेन्सी । नयाँ संक्रमितलाई अमेरिकामा भित्रन नदिनेका लागि अमेरिकाले पछिल्लो १४ दिनमा ब्राजिलबाट आएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ।

पछिल्ला दिनहरुमा दक्षिण अमेरिकी राष्ट्र कोरोना भाइरसका लागि विश्वको दोस्रो प्रमुख आकर्षणको केन्द्र बन्न पुगेको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार त्यहाँ ३ लाख ६० हजार बढि संक्रमित संख्या पुष्टि भएका छन् भने संक्रमणका कारण २२ हजार भन्दा बढीको ज्यान गइसकेको छ।

आजको निर्णयले ब्राजिलमा रहेका विदेशी नागरिकहरू हाम्रो देशमा थप संक्रमणको स्रोत नहुन् भन्ने सुनिश्चित गर्न मद्दत पुर्‍याउँने छु, ह्वाइट हाउसका प्रेस सचिव केलिग म्याकेनीले भनिन्। उक्त प्रतिबन्ध मे २८ सम्म लागु हुनेछ। यस प्रतिबन्धले दुई देश बीचको व्यापारलाई भने कुनै असर नगर्ने रोयटर्सले जनाएको छ।

आइतबार मात्र ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले ब्राजिलका लागि छिट्टै यात्रा प्रतिबन्धको अपेक्षा गरिएको बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यस हप्ताको सुरूमा ब्राजिलबाट आएका यात्रुमा प्रतिबन्ध लगाउने सुझाव दिएका थिए। कोरोनाबाट अमेरिका हाल सबैभन्दा प्रभावित राष्ट्र हो। हालसम्म त्यहाँ १.६ मिलियन बढीमा संक्रमण प्रमाणित भएको छ भने झन्डै १ लाख जनाले ज्यान गुमाइसकेका छन्।

यसअघि अमेरिकाले चीन, इरान, यूरोपियन शेन्जेन क्षेत्र, बेलायत र आयरल्याण्ड भ्रमण गरेका विदेशी नागरिकहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइसकेको छ।