एकै परिवारका १८ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किए


हरेकपल May 25, 2020

वीरगन्ज, १२ जेठ । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमणबाट मुक्त भएर आइतबार अस्पतालबाट घर फर्किएका छन् ।

कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया–३ का एकै परिवारका चार महिने र ६ महिने २ शिशुसहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ ।

उनीहरुमध्ये ३६ वर्षे पुरुषमा सबैभन्दा पहिले गत वैशाख २१ गते कोरोना पुष्टि भएको थियो । वैशाख २४ गते उनको परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिलासहित थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।

उनीहरू सबैजनाको पछिल्ला दुईपटकको पिसिआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालको आइसोलेसनमा उपचार गराएका ७१ जनामध्ये २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने अरु ४४ जनालाई आइसोलेसनमा उपचार भइरहेको छ । भर्ना रहेका संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।