आजबाट धनकुटा अस्पताल परिसरमा विशेष ओपिडी क्लिनिक सुरु


हरेकपल May 25, 2020

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी सात जनामा कोरोना संक्रमित पुष्टि भएपछि वन्द रहेको जिल्ला अस्पतालको सेवा परिसरमा आज दखि विशेष ओपिडी क्लिनिक खडा गरि सुरु गरिएको छ ।अस्पताल परिसरमा त्रिपालको टेण्ड बनाएर विशेष ओपिडी क्लिनिक सुरु गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले आइतवार देखि जिल्ला अस्पताल संचालनमा ल्याउने निर्णय गरेको थियो ।


सोही अनुरुप विशेष क्लिनिक संचालनमा आएको हो । विशेष क्लिनिक संचालन गर्न धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देखि चिकित्सक सहित सात सदस्यीय स्वास्थ्यकर्मीको टोली आएको छ । जसमा ३ जना डाक्टर र ४ जना र सहयोगी नर्सहरु छन् ।
विशेष ओपिडी क्लिनिकमा निःशुल्क रुपमा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको छ । अस्पतालको सबै कक्ष वन्द रहेको कारण वाहिर नै पुर्जी काट्ने व्यवस्था छ । पुर्जी काट्न कुनै शुल्क लाग्दैन । अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरु मध्ये संक्रमित व्यक्ति प्रदेशको कोरोना विशेष अस्पतालमा उपचारत छन् ।
पिसिआर टेस्टमा नेगेटिभ आएका व्यक्तिहरु अस्पताल परिसर भित्रै रहेको र नजिकै रहेको साविक पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य कार्यालयको भवनमा खडा गरिएको क्वारेन्टाइनमा छन् ।
६० भन्दा वढी व्यक्तिलाई ५ गतेदेखि १४ दिनको क्वारेन्टाइनमा राखिएको हुनाले १४ दिनको क्वारेन्टाइनपछि गरिने पिसिआर टेस्ट्मा रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा फकाइने वताइएको छ ।
जेष्ठ ४ गते पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै जिल्ला अस्पताल सहित अस्पतालका आसपासका बजार क्षेत्र सिल गरिएको थियो । भने शुक्रबार मात्रै अस्पताल वाहेक बजार क्षेत्रको सिल स्थानीय प्रशासनले हटाएको थियो । शनिवार अस्पताल आसपासको क्षेत्रमा सेनिटाइजर छर्किएको थियो
जिल्ला स्तरको कोभिड–१९ कमाण्डो फोर्सको वैठकले बजार क्षेत्रको सिल हटाउने निर्णय गरे पछि लकडाउन भने कडाईका साथ लागु गरिने निणर्य गरेको स्थानीय प्रशासनले जनाएको छ । बजार क्षेत्रमा टाइम कार्ड लागु भएपछिको समयमा स्थानीय वासिन्दालाई हिडडुल गर्न दिइएको छैन । बजार क्षेत्रको विभिन्न मुख्य चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

८४ जनाको रिपोर्ट सबैको नेगेटिभ
धनकुटा जिल्लाको पछिल्लो समयमा ८४ जनाको पिसिआर टेस्टको रिपोर्ट सबैको नेगेटिभ आएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारी, संक्रमित व्यक्तिका आफन्त र विरामीको कुरुवा र केही एम्वुलेन्स चालक, औषधी पसलका संचालक गरि ८४ जनाको पिसिआर टेस्ट गर्न विहिवार स्वाव संकलन गरिएको थियो ।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोख्रेलले बताएका छन ।
धनकुटामा यस अघि जेठ २ एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि जेठ ५ गते अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामी र कुरुवा गरि ८३ जनाको स्वाब संकलन गरिएको थियो ।


तीमध्ये अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरि ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमणको सम्पर्कमा रहेका १७ जनाको स्वाव संकलन गरि पठाइयो
त्यस्तै स्वास्थ्य कार्यालय धनकुटले शनिवार १७ जनाको स्वाव संकलन गरि आज (आइतवार) धरान स्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरु पहिचान गरि पिसिआर टेस्ट गर्न धरान पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईंले बताएका छन ।