आज मंगलचौथीव्रत, महिमा सहित हेर्नुहोस् २०७७ ज्येष्ठ १३ गते


हरेकपल May 25, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको २६ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको चतुर्थी तिथि राति ११।३६ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । आद्र्रा नक्षत्र बिहान ६।१७ बजेसम्म रहनेछ । यसैगरी गण्ड योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।१२ मा छ भने सूर्यास्त बेलुका ६।५१ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् ।


आज मंगलचौथीव्रत परेको छ । मंगलवार चतुर्थी तिथि परेको दिनलाई मंगलचौथी भनिन्छ । चतुर्थी गणेशजीको प्रिय दिन हो । यसैगरी मंगवार पनि विशेष गरी गणेशजीको नै उपासना हुने गर्दछ । गणेशजी प्रसन्न हुने तिथि एवं वारको संयोग वेला वेलामा पर्ने गर्दछ । यस अवसरमा मंगल चौथीको व्रत आरम्भका साथै समापन पनि शुभ मानिन्छ ।


गणेश पुराणमा गणेशजीको विशेष महिमा बताइएको छ । पार्वतीनन्दन गणेशजी समस्त लोकका मंगलकर्ता हुनुहुन्छ । यसैले आज विशेष उपचारले पूजाका साथै लड्डु एवं दुवो को अर्पण आज फलदायी रहन्छ । अभीष्ट मनोकामना सिद्धिका साथै मंगल ग्रहजन्य दोष निवृत्तिका निम्ति पनि मंगल चौथीको व्रत लाभदायी रहने गर्दछ । यसैले आज गणेशस्तोत्रपाठ, गणेशजीको ॐ गं गणपतये नमः भन्ने मन्त्र जपका साथै गणेशअथर्वशीर्ष पाठ पनि शुभ फलदायी रहने गर्दछ ।