कैलालीमा सीमा क्षेत्रमा गस्तीमा निस्किएका एक प्रहरीको हत्या, एक बेपत्ता


हरेकपल October 18, 2020

कैलालीमा सीमा क्षेत्रमा गस्तीमा निस्किएका एक प्रहरीको हत्या भएको छ । उनीसँगै गएका एक प्रहरी अझै सम्पर्कविहीन छन् ।

कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए । तस्कर समूहले प्रहरीको हत्या गरेको प्रारम्भिक अनुमान छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीका अनुसार मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको छ । शव पानीमा डुबेको अवस्थामा छ । तर प्रहरी पोसाकमै भएकाले प्रहरी नै हो भन्ने खुलेको छ ।

मृतकको सनाखत पनि भएको छैन । अर्का एकजना र उनीहरुले लगेको मोटरसाइकल पनि फेला परेको छैन ।

प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् । प्रहरी टोली घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको डीआइजी सुवेदीले बताए ।