डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बन्दै


हरेकपल October 18, 2020

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई सो पार्टीले संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ । सोमबारबाट सुरु हुने दुईदिने केन्द्रीय कार्यकारिणी परिषद् बैठकको मुख्य एजेण्डा भट्टराईलाई अध्यक्ष बनाउने छ ।

भट्टराई अहिले जसपाका वरिष्ठ नेता मात्रै छन् । निर्वाचन आयोगमा दर्ता गर्नुअघि उनीसहित तीनजना अध्यक्ष राख्ने तय भएको थियो । तर, आन्तरिक कारणले त्ययतिवेला उनको नाम टिपेक्स लगाएर हटाइएको थियो ।

हाल महन्थ ठाकुर र उपेन्द्र यादव जसपामा अध्यक्ष छन् । निर्वाचन आयोगमा दर्ता प्रक्रियाका लागि ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने भद्र सहमतिअनुसार कार्यविभाजन गर्न लागिएको जसपा स्रोतले जानकारी दिएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणीसभाको बैठक भोलि र पर्सि तुल्सीलाल अमात्य प्रतिष्ठानमा बस्ने तय भएको छ । अध्यक्ष ठाकुर र यादवले अन्य केही नेतालाई पनि पदीय जिम्मेवारी दिने आश्वासन दिएको बुझिएको छ ।