असई हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा ११ जना नियन्त्रणमा


हरेकपल October 18, 2020

प्रहरीले कैलालीमा असई हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएको छ ।

सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीका अनुसार गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई नियन्त्रणमा लिएको हो ।

धनगढी उप–महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद गए राति ड्युटीमा निस्किएका थिए ।

जसमध्ये एकजनाको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । सो शव प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको भएको पुष्टि भएको थियो ।

प्रहरी जवान रामबहादुर साउद भने अझै फेला परेका छैनन् । तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।

उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।