जनप्रतिनिधिलाई दिने दशैं भत्ता जनताको स्वास्थ्यमा खर्च गरौं : नेता खाँड


हरेकपल October 18, 2020

नेपाली काँग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले दशैं भत्ता नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले यस वर्षको दशैं भत्ता आफूले फिर्ता गर्नका लागि संसद् सचिवालयले आग्रह गरेको जनाएका छन् ।

आफ्नो खातामा जम्मा भए वापतको रकम जनहितमा प्रयोग गर्नका लागि सरकारसँग पनि उनले आग्रह गरे । हरेकपलसँगको कुराकानीमा खाँडले अहिलेको कोरोना महामारीका बेला सरकारले जनप्रतिनिधिहरुलाई दिएको दशैं भत्ता सबैले फिर्ता गर्नुपर्ने बताए ।

उनले भने ‘जनप्रतिनिधिले यस वर्षको दशैंमा अतिरिक्त भत्ता नलिँदा केही फरक पर्दैन । संघीय संसद, प्रदेश संसद देखि स्थानिय जनप्रतिनिधहरुले यो रकम फिर्ता गर्दा करोडौं रकम बच्छ ।’
कोरोना महामारीका बेला सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरेको बताउँदै नेता खाँडले अहिलेको अवस्थामा जनप्रनिधिहरुले यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने ‘सबै जनप्रतिनिधिहरुले यो वर्ष दशैं भत्ता नलिएको राम्रो ।’

नेपाली काँग्रेसले निर्णय नै गरेर दशैं भत्ताको रकम फिर्ता गर्नुभएको हो भन्ने हरेकपलको प्रश्नमा नेता खाँडको जवाफ थियो, ‘मैले व्यक्तिगत निर्णय गरेको हुँ । अहिले साथिहरु पनि जिल्ला जिल्ला पुगिसेकाले वैठक नै बसेर निर्णय गर्ने अवस्था त रहेन, तर अरु साथिहरुले पनि यसलाई फ्लो गर्नुभयो भने राम्रो ।’