कांग्रेस सांसदले एकमुष्ट फिर्ता गरे दशैँभत्ता बापतको ४३ लाख, कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय


हरेकपल October 19, 2020

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले दशैँभत्ता बापतको ४३ लाख एकमुष्ट रुपमा फिर्ता गरेका छन् । आफ्ना सांसदहरुले पाएको दशैँ भत्ता वापतको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार काँग्रेस संसदीय दलले दशैँवापत आफ्ना सांसदले पाएको ४३ लाख २० हजार ८ सय १० कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

अहिले महामारीको बेला जनप्रतिनिधिहरुले दशैँ भत्ता लिन सान्दर्भिक नहुने भन्दै सो रकम कोषमा जम्मा गर्ने निर्णय गरेको काँग्रेस संसदीय दलले जानकारी गराएको छ ।

सांसदहरुले दशैँ भत्ता लिएको खबर बाहिरिएपछि अहिले सामाजिक संजाल र मिडियामा विरोध र आलोचना भएपछि काँग्रेसले यसअघि सांसदहरुले व्यक्तिगत रुपमा सो रकम फिर्ता गर्ने बताएका थिए । अहिले निर्णयनै गरेर कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

सत्तारुढ दल नेकपाका सांसद भीम रावलले भत्ताको रकम फिर्ता गरेका छन् भने नेकपाले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । प्रतिपक्षी दलले गरेको यो निर्णयको सबैतिरबाट स्वागत गरिएको छ ।