राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन शुरु, जो जहाँ छ त्यहीबाट भर्न पाइने (कुराकानी)


हरेकपल October 19, 2020


काठमाडौं । सरकारले नागरिकलाई धेरै कार्डहरु बोक्नुपर्ने झन्झटबाट मुक्त बनाउने भएको छ । त्यसका लागि सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने योजना पनि बनाइसकेको छ । अहिले विवरण संकलन गर्ने काम शुरु भइसकेको छ ।

पहिलो चरणमा पाँचथरका सबै नागरिक र सिंहदरबारका कर्मचारीको विवरण संकलन गरेको राष्ट्रिय परिचय पत्र विभागले दोस्रो चरणमा १६ वटा जिल्लामा सेवा विस्तार गरेको थियो । कोरोना महामारीको बीचमै पनि यो सेवा अहिले सबै जिल्ला प्रशासन कार्यालयमा पु¥याएको विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

यो परिचय पत्र वितरण गर्ने लक्ष्य सरकारले तीन वर्षभित्रमा गरिसक्ने गरि निर्धारण गरेको छ । अर्को बर्षभित्र देशभर विवरण संकलन गर्ने र त्यसपछि परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको महानिर्देशक वस्नेतले बताए । यो लागू भयो भने नागरिकताको एउटा नम्बर, लालपूर्जाको अर्को नम्बर, राहदानीको अर्को नम्बर, लाइसेन्सको अर्को नम्बर लगाएतका धेरै कागजातका नम्बरहरु बोकिरहनु पर्ने र सम्झिरहनु पर्ने वाध्यता पनि हट्ने बताए ।

हरेकपलले उनै राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जीतेन्द्र बस्नेतसँग कसरी विवरण संकलन हुँदैछ भन्ने विषयमा गरेको यो छोटो कुराकानी ।

राष्ट्रिय परिचय पत्रका लागि सवै ठाउँमा विवरण संकलन शुरु भएको हो ?

राष्ट्रिय परिचय पत्र लागू गर्ने भनेर नेपाल सरकारले अलि अगाडीदेखि नै तयारी गरिरहेको थियो । हामीले तीन वर्ष अघिदेखि जिल्लाहरुमा विवरण लिइरहेका थियौं । पहिलो चरणमा पाँचथर जिल्लाका सवै नागरिक र सिंहदरबारका कर्मचारीहरुको ‘वायो मेट्रिक’विवरण संकलन गरेका थियौं । त्यसपछि हामीले १६ वटा जिल्लामा मात्रै यो काम गरिरहेका थियौं । अहिले हामीले देशभरका ७७ वटै जिल्लामा पु¥याएर यसलाई म्यासिभले लैजाने तयारी गरेका छौं । विवरण संकलनका लागि अब ७७ वटै जिल्लाहरु तयारी अवस्थामा छन् । अहिले जिल्ला प्रशासन कार्यालयबाट विवरण संकलनको काम शुरु भइसकेको छ । कार्ड वितरण भने पछि गर्छौं ।

विवरण कसरी लिने ?
हामीले विवरण संकलन गर्ने भनेको बायोमेट्रिक प्रणाली हो । (अपरिवर्तनीय शारीरिक विशेषताहरूको आधारमा कम्प्युटर प्रणालीको माध्यमबाट व्यक्तिको पहिचान गर्ने प्रविधि हो । यस प्रविधिमा मानिसको औँठा छाप, आँखाको रेटिना, भ्वाइस, फोटो आदिलाई विद्युतीय माध्यमबाट तथ्यांक फाइल तयार गरी नमुनाको रूपमा राखिन्छ । सम्बन्धित व्यक्तिको वा नयाँ व्यक्तिको बायोकम्प्युटर प्रणालीमा पुनः पहिचान गरि गैरकानुनीरूपमा कुनै देशमा बसे नबसेको पत्ता लगाउन प्रयोग गर्ने पद्धतिलाई बायोमेट्रिक प्रणाली भनिन्छ । निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्रमा यही प्रणालीको प्रयोग गरेको छ ।) हामीले अहिले औंठा छाप लिने, दुईवटा आखाँको रेटिना, फोटो र हस्ताक्षर संकलन गर्ने काम गरिरहेका छौं । यसले गर्दा नागरिकहरुको सही पहिचान गर्न सजिलो हुन्छ । अहिलेसम्म हामीहरुले व्यक्तिगत विवरणका आधारमा मात्रै नागरिक पहिचान गर्दै आएका थियौं । अहिलेसम्म नागरिकताको फोटो र विवरणका आधारमा मात्रै हामीले नागरिक पहिचान गर्ने गरिएकोमा डुप्लिकेशन हुने सम्भावना अत्याधिक हुने भएकाले बायोमेट्रिक प्रणालीबाट काम गर्दा डुप्लिकेशनको काम अन्त्य हुन्छ ।

राष्ट्रिय परिचयपत्र लागू भयो भने व्यक्तिको सही पहिचान हुन्छ । साथै नेपाल सरकारले राष्ट्रिय परिचय नम्बर अथवा पत्रका आधारमा सरकारी तथा निजी क्षेत्रका सेवाहरु प्रदान गर्ने भनेर निर्णय गरेको छ । यो सम्बन्धी व्यवस्था राष्ट्रिय परिचया पत्र तथा पञ्जिकरण ऐनले व्यवस्था गरेको छ । त्यसैका लागि हामीले यो वर्ष अभियानकै रुपमा विवरण संकलन गर्ने अभियानका रुपमा छौं । तर, कोरोना भाइरसको महामारीका कारण हाम्रो काम निकै नै अवरुद्ध भइरहेको छ । यद्दपि गत वर्ष १६ जिल्लामा भएको कामलाई कोरोनौ अवधिमा पनि ७७ वटै जिल्लामा पुर्‍याउन सफल भएका छौं । जिल्लामा गएर नागरिकहरुले विवरण दर्ता गराउन सक्नुहुन्छ । साथै हामी ७७ वटै वडा कार्यालयमा पनि अभियानकै रुपमा विवरण संकलन गर्नका लागि पुग्दैछौं । यो वर्ष र अर्को बर्ष गरेर विवरण संकलन गर्ने काम पुरा गर्छौं । तर, अहिले जिल्ला प्रशासन कार्यालयमा नयाँ नगरिकता लिन आउने, नागरिकताको प्रतिलिपी लिन आउने, राहदानी लिन लगाएत त्यहाँ अन्य सेवा लिन आउने नागरिकहरुलको विवरण संकलन गर्न शुरु गरि सकेका छौं ।

राष्ट्रिय परिचय पत्रले नागरिकतालाई प्रतिस्थापन गर्ने हो ?
नागरिकताले अहिले गरिरहेको कामलाई प्रतिस्थापन गर्छ । नागरिकता भनेको राष्ट्रियताको पहिचान खुल्ने परिचय पत्र हो । अहिले हामीले नागरिकतालाई सर्भिस कार्डको रुपमा प्रयोग गरिरहेका छौं । जहाँ पनि नागरिकताको आधारमा मात्रै काम हुने प्रचलन छ । अब नम्बरसहितको बायोमेट्रिक कार्ड बनिसकेपछि नागरिकता बोकि रहनु पर्दैन, नागरिकताको सबै विवरण यही भित्र राख्छौं । बायोमिट्रक भेरिफिकेशन गरेपछि पहिचान हुन्छ र सेवा लिन सजिलो पनि हुन्छ ।
यो भयो भने अहिले बैंकहरुले भराई रहेको केवाईसी फर्म पनि भर्नु पर्दैन । उहाँहरुले हाम्रो सेवा लिनुभयो भने त्यो व्यक्ति हो की होइन भनेर हामीले तुरुन्तै भेरिफाइ गर्छौं ।

राष्ट्रिय परिचय पत्रका लागि एक जना बरबार कति खर्च लाग्छ ?
खर्चको सबै हिसाव आइसकेको छैन । यसमा धेरै कामहरु छ । अहिले हामीले ठूलो सफ्टवेयर बनाइरहेका छौं । सबै नागरिकको घरदैलोमा पुगेर सेवा दिनु छ । अहिले अन्य सेवा प्रदायकहरुको सिस्टमसँग हामी इन्टिग्रेट पनि गर्दैछौं । जस्तै करको सिस्टम, निर्वाचन आयोगको सिस्टम, यातायातको लाइसेन्सको सिस्टमसहित जग्गाको लालपूर्जा लगाएतका धेरै कुराहरुलाई हामीले जोड्नु पर्ने छ । साथै हामीले परिचय पत्र पनि वितरण गर्ने भएकाले खर्च एकीन गरेर भन्न सकिने अवस्था छैन । यसलाई सरकारले आफ्नो दायित्वको रुपमा बढाएको छ र यो विदेशी फण्ड भन्दा पनि आफ्नै खर्चमा गर्न लागेको काम हो ।

यति धेरै डाटा (विवरण) संकलन हुँदा डाटा कसरी सुरक्षित हुन्छ त ?
डाटाको सुरक्षाका लागि धेरै च्यानलमा सेकुरिटी फिचर राखिएको छ । विश्वव्यापीरुपमा १०० भन्दा बढी देशमा स्मार्ट कार्डको काम गरेको कम्पनीसँग काम गर्दैछौं । सेकुरीटीको हिसावले एक दुई जना व्यक्तिले चाहेर केही पनि गर्न नसक्ने अवस्था बनाउँछौं ।

विवरण भर्नका लागि सम्बन्धित जिल्लामा जानु पर्ने हो की ? यस्तो गर्दा बाहिर भएका छुट्लान ?


हामी यसमा धेरै लचक छौं । जो जहाँ छ त्यहीबाट विवरण संकलन गर्ने व्यवस्था गरेका छौं । अझ भनौं कोही मान्छे दार्चुलाको हुनुहुन्छ । उहाँ काठमाडौं बस्नुहुन्छ । उहाँलाई त्यहाँ जाने सम्भावना कम हुन्छ त्यसैले काठमाडौंमै विवरण संकलन गर्ने व्यवस्था मिलाएका छौं । यो भनेको आफूलाई पायक पर्ने जहाँ पनि विवरण दिन सक्छ र परिचय पत्र कहाँबाट लिने हो त्यो खुलाएमा त्यही अनुसार हामी दिने गरि तयारी गरेका छौं । विवरण संकलन गर्दा नागरिकता भने अनिवार्यरुपमा लिएर जानुपर्छ ।