विप्लव समूहले सार्वजनिक गर्यो सरकारविरुद्ध संघर्षका कार्यक्रम


हरेकपल October 21, 2020

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लव समूहले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप विप्लवले लगाएका छन् । विप्लवले वर्तमान सरकार जनता र राष्ट्रप्रति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन् ।

सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।

विरोध कार्यक्रमअन्तर्गत कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने उल्लेख छ ।