छलफल नगरी संसद विघटनको सिफारिसलाई सदर गर्नु भूल : पूर्वराष्ट्रपति यादव


हरेकपल January 27, 2021

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नै नगरी सदर गर्नु भूल भएको बताएका छन्।

राष्ट्रपति भण्डारीले कुनै पनि प्रकारको छलफल नगरीकन संसद विघटन गरेकामा प्रति आपत्ति प्रकट गरे। प्रतिनिधिसभा विघटन सिफारिस संविधानसम्मत छ कि छैन भन्ने विषयमा राष्ट्रपति भण्डारीले कानुनविद् वा राजनीतिशास्त्रीसँग परामर्श गरेको भए उपयुक्त हुन उनको भनाइ छ ।

संविधानमा राष्ट्रपतिको भूमिकाबारे प्रष्ट उल्लेख भएको पूर्वराष्ट्रपति यादवले बताए । राष्ट्रपति आफैंमा संविधानको रक्षक भएको उनको भनाइ छ । विघटनको प्रसंग आएपछि त्यसलाई संसदमा समेत लैजान सकिने पूर्वराष्ट्रपति यादवले बताए ।

संसद विघटन सामान्य घटना नभइ अकल्पनीय घटना भएको उनले बताए । ‘कसरी देशलाई अघि बढाउने भन्नेबारे सोच्ने त्यो संस्थाको दायित्व हो। मेरो समयमा मैले तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेको थिएँ, मैले नहटाउनुस् भनेको थिएँ। यस्ता धेरै विषयमा प्रधानमन्त्रीसँग छलफल हुने गथ्र्यो, कानुनविद् र विज्ञसँग पनि छलफल हुने गथ्र्यो’ डा यादवले भने ।

मुलुकमा नसोचेका घटनाक्रमहरू भइरहेकामा उनले चिन्ता प्रकट गरे । प्रतिनिधिसभा विघटन गर्नुपर्ने आवश्यकता नै नभएको यादवले बताए ।