चीन र अमेरिकाद्धारा दक्षिणी सागरमा आफ्नो दावी


हरेकपल January 27, 2021

एजेन्सी । चीन र अमेरिकाले दक्षिणी सागरमा आ आफ्नो दावी गरेका छन् । दुवै देशले त्यहाँ सैन्य अभ्यास जारी राख्ने निर्णय गरेका छन् ।

अमेरिकी विमानबाहक समूहले सो समुद्री सागरमा यात्रा गरेको उजुरी परेलगत्तै चीनले सैन्य अभ्यास जारी राख्ने निर्णय गरेको हो । चीनको समुद्री सुरक्षा प्रशासनले जारी गरेको सूचनामा जनवरी ३० सम्म दक्षिण पश्चिम चीनको लिजौ प्रायद्वीपको पश्चिमतर्फको केही भागमा प्रवेशमा रोक लगाएको थियो ।

अमेरिकी सेनाको टोलीले दक्षिणी चीनको सागरमा समुद्री स्वतन्त्रता बढाउन जल यात्रा गरेको चीनको भनाइ छ । राष्ट्रपति जो बाइडेनले पद सम्हाले लगत्तै अमेरिकी सेनाले सो क्षेत्रमा अनधिकृत रुपमा प्रवेश गरेको चीनको आरोप छ ।

चीनले सीमाक्षेत्रको आधारमा समुद्रमाथिको सार्वभौमिकता आफ्नो रहेको दावी गर्दै आएको छ । चीनले आफ्नो तटमा गार्ड सुरक्षा दस्ता र समुद्री मिलिसियालाई समेत तैनाथ गरेको छ । उक्त क्षेत्रमाथि भियतनाम, मलेसिया, ताइवान, फिलिपिन्स र ब्रुनाइले समेत आफ्नो दावी गर्दैआएका छन् ।