पीएम कप क्रिकेट : एपीएफ र पुलिस फाइनल पुग्न भिड्दै


हरेकपल January 27, 2021

काठमाडौं । चौंथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आजदेखि सुरु हुँदैछ ।

पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ ।

पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि अहिले एपीएफ ब्याटिङ गरिरहेको छ । एपीएफ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्दा पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो।

समूह ‘ए’ मा अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग खेल्नुअघि नै लगातार तीन खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेको एपीएफले आर्मीलाई पराजित गर्दै समूह विजेता बनेको हो । एपीएफले कर्णाली प्रदेश प्रदेश १ र गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

समूह ‘ए’ मा चारमध्ये चारवटा खेल जित्दै एपीएफले ८ अंक जोड्दै अपराजित रह्यो । साविक विजेता पुलिसले पहिलो खेलमै बागमतीसँग हार व्यहोरेको थियो । पुलिसले प्रदेश २ लाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पुलिसले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई समेत हरायो । समूह ‘बी’ मा पुलिसले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्यो । शरद भेषावकरको कप्तानीमा रहेको एपीएफ टिममा बसन्त रेग्मी, सुवास खकुरेल, आसिफ शेख, सन्दिप जोरा, भुवन कार्की, अभिनाश बोहरा, कमल सिंह ऐरी र किशोर महतो छन् ।

राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित आरिफ शेख, ललित राजवंशी, रासिद खान, अनिल शाह, पवन सर्राफ, सागर ढकाल, सुनिल धमला, राष्ट्रिय टिमका पूर्व खेलाडी मन्जित श्रेष्ठ पुलिसबाट खेलिरहेका छन् ।