दक्षिणकालीमा मिनी ट्रक खस्दा दुईजनाको मृत्यु


हरेकपल January 27, 2021

काठमाडौंको दक्षिणकालीमा मिनी ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ।

मंगलबार राति साढे ८ बजे दक्षिणकाली नगरपालिका ९ मा बा ३ ख ६१९९ मिनी ट्रक बाटोबाट ५० मिटर तल खसेको थियो।

मिनी ट्रक खस्दा त्यसमा सवार मकवानपुर घर भएका ३१ वर्षीय चालक मोहनलाल रुम्बा र अछाम घर भइ दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा गम्भीर घाइते भएका थिए।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो।

उपचारको लागि दुबैलाई काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो। उनीहरूको मंगलबार राति नै उपचारको क्रममा मृत्यु भएको हो।