आईपीएलको अक्सन फेब्रुअरी १८ तारिखमा


हरेकपल January 28, 2021

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि फेब्रुअरी १८ तारिखमा अक्सन हुने भएको छ। भारत र इङ्ल्यान्डबीच हुने टेस्ट शृंखलाको दोस्रो खेल सकिएको भोलीपल्ट अक्सन हुने छ।

आईपीएलमा एउटा टोलीले अधिकतम २५ खेलाडी आबद्ध गर्न सक्छ भने तीमध्ये अधिकतम ८ विदेशी खेलाडी हुन सक्छन्। यो सब बजेटको सिमाभित्र रहेर गर्ने गरिन्छ।

अक्सन हुनु करिब एक महिना अघि आईपीएलमा आवद्ध क्लबहरुले आफुलाई नचाहिने खेलाडीहरुलाई रिलिज गरिसकेका छन्। दिल्ली क्यापिटल्सले यसपटक नेपालका सन्दीप लामिछानेलाई रिलिज गरिसकेको छ। अब कुन क्लबले उनलाई लिने हो त्यसका लागि फेब्रुअरी १८ लाई पर्खिनु पर्ने हुन्छ ।

खेलाडीको अधिकतम कोटालाई आधार मान्ने हो भने अहिले किङ्स इलेभेन पन्जाबलाई ९, रोयल च्यालेन्जर्स बैंगलोरलाई १३, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सलाई आठ आठ, चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सलाई सात सात तथा सनराइजर्स हैदराबादलाई तीन खेलाडी आवश्यक परेको छ।

विदेशी खेलाडीको अधिकतम कोटालाई आधार मान्ने हो भने अहिले किङ्स इलेभेन पन्जाबलाई ५, रोयल च्यालेन्जर्स बैंगलोरलाई ४, राजस्थान रोयल्सलाई ३, कोलकाता नाइट राइडर्सलाई २, चेन्नई सुपर किङ्सलाई १, मुम्बई इन्डियन्सलाई ४ र सनराइजर्स हैदराबादलाई १ जना विदेशी खेलाडी आवश्यक छ।