बाइडेनको प्राथमिकतामा जलवायु परिवर्तन


हरेकपल January 28, 2021

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि शृङ्खलावद्ध रुपमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

बाइडेनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् । सार्वजनिक नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउनेसँगै सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने उद्देश्यसहितका नीतिहरु आदेशमा छन् ।

उर्जा कम्पनीहरुले बाइडेनको नयाँ आदेशको कठोर प्रतिवाद गर्ने सम्भावना छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौति गरेर उर्जा उत्पादनलाई बढावा दिएका थिए ।

बाइडेनले बुधबार ह्वाइट हाउसमा जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नु पर्ने बताए । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनको भनाइ छ ।

अमेरिका एक्लैले संकटहरु समाधानका लागि काम गर्न नसक्ने बाइडेनले बताए । बाइडेन जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिलाई प्राथमिकता दिन चाहन्छन् ।