विरोध सभामा सम्बोधनका लागि बुटवल जाँदै प्रचण्ड–माधव


हरेकपल January 28, 2021

नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभाको आयोजना गरेको छ । सो कार्यक्रममा भाग लिन सो समूहका दुवै अध्यक्ष दाहाल र नेपाल आज बुटवल जाँदै छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको दाहाल नेपाल समूहले आज लुम्बिनी प्रदेशको बुटवलमा सभा गर्न लागेको हो । बुटवललाई प्रदेश ५ को राजधानी बनाउन माग गर्दै आएका त्यहाँका जनताले ओली पक्षका विष्णु पौडेल र ईश्वर पोखरेलले बुटवलबासीलाई धोका दिएको आरोप लगाएका छन् ।

सोही कारण पनि आजको सभा भव्य हुने दाहाल नेपाल पक्षले दाबी गरेको छ । बुटवलको पुष्पलाल पार्कमा गर्ने तयारी भएको लुम्बिनी प्रदेशस्तरीय उक्त कार्यक्रम प्रादेशिक अस्पतालले खाली गराएको जग्गामा हुनेछ ।

आजको सभा कार्यक्रमलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा आन्दोलन परिचालन समिति बनाइएको छ। कार्यक्रमलाई सफल बनाउन स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, वर्षमान पुन, ओनसरी धर्तिलगायत नेताहरू एक हप्तादेखि बुटवलमै छन् ।