प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका अवहेलना मुद्दाको सुनुवाइ आज


हरेकपल January 28, 2021

सर्वोच्च अदालतमा प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध परेका पाँचवटा अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको हो।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए। मंगलबार नै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दर्ता गराएका हुन्।

बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए। ती पाँच वटै मुद्दाको पेशी लागि तोकिएको छ। आज यी सबै मुद्दा डाक्टर मनोजकुमार शर्माको इजलासमा तोकिएको छ।

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले गत पुस २४ गते विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए।

प्रधानमन्त्री ओलीले माघ नौ गते सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानून व्यवसायीमाथि व्यंग्य गरेका थिए।

पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरुलाई थुत्‍न सक्ने अवस्था आउने बताएका थिए।