निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो


हरेकपल January 28, 2021

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि उनीहरुलाई बोलाएको हो ।

राजनीतिक रूपमा विभाजित भए पनि नेकपा कानुनी रूपमा विभाजित नभएको भन्दै आयोगले गत ११ गते निर्णय सुनाएको थियो । आयोगले नेकपाका दुवै अध्यक्ष (पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली)लाई पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाका दुवै अध्यक्षलाई पत्राचार ग्दै आयोगले अध्यक्ष वा अध्यक्षले तोकेका ५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलमा आउन भनेको छ ।

निर्वाचन प्रयोजन भनिए पनि अन्य दलहरूलाई भने नबोलाइएका कारण आयोगले दुवै पक्षलाई मिल्न आग्रह गर्ने बुझिएको छ ।

निर्वाचन आयोगबाट विभाजनको आधिकारिकता नपाए पनि नेकपाका दुवै पक्षले छुट्टाछुट्टै गतिविधि जारी राखेका छन् ।

दुवै पक्षले आफू नै आधिकारिक भएको दाबी गर्दै अर्को पक्षलाई अवैधानिक भन्दै आएका छन् ।