प्रधानमन्त्री कपः आर्मीद्वारा वाग्मतीलाई २३० रनको लक्ष्य


हरेकपल January 28, 2021

चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको विजय लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रनको योगदान दिए ।

त्यसैगरी भीम सार्कीले ४० रन जोड्दा विक्रम सोबले ३५ रन बनाए । लोकेश बमले २३, सुशन भारीले १६ तथा कप्तान विनोद भण्डारीले १० रन जोडे ।

यता वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए । आज दुवै टिम जित निकाल्ने योजनामा रहेका छन् ।

यस खेलको विजेताले फाइनलमा एपिएफसँग भिड्नेछ । यसअघि भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।