संसद विघटन अदालतकै सेटिङमा भएजस्तो देखिन्छ : उपेन्द्र यादव


हरेकपल January 28, 2021

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद पुनःस्थापना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गरेपछि मात्रै प्रतिगमन सच्चिने बताएका छन् । ओली सरकारले चालेको प्रतिगमनकारी कदमविरुद्ध मोर्चा बनाएर अघि बढ्नुपर्ने उनको प्रस्ताव छ ।

बिहीबार नेपालगञ्जमा अवधी पत्रकार संघ, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले भने, ‘अदालतकै सेटिङमा काम भएको जस्तो देखिन्छ। यसका विरुद्धमा सबै दल मिलेर मोर्चा बनाउनु पर्छ। ओली सरकारलाई घोक्रेठ्याक लगाउनुपर्छ।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री ओलीको कदमलाई २०१७ साल पुस १ गतेको पुनरावृत्ति भएको टिप्पणी गरे। संसद पुनःस्थापना र ओलीलाई पदच्यूत गरेपछि मात्रै प्रतिगमन सच्चिने उनको दाबी छ ।

वैशाखमा चुनाव हुन नसक्ने दाबी गर्दै उनले भने, ‘वैशाखमा चुनाव गराउने हिसावले घोषणा भएकै होइन, यो त जालसाजीमात्रै हो, संसद विघटनको निर्णय सच्चिएन भने मुलुक अन्यौलमा फस्छ ।’

पार्टीको दुई दिने प्रशिक्षणमा सहभागी हुन नेपालगञ्ज पुगेका यादवले संघीयता र समावेशिताको खारेज गर्नका लागि असंवैधानिक कदम चालेको आरोप लगाए।