सोलुखुम्बुमा लक्षित वर्गको घरघरमा स्वास्थ्य जाँच


हरेकपल January 28, 2021

अशक्त, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायतलाई हरेक क्षेत्रमा पहिलो प्रथामिकतामा स्वास्थ्य, शिक्षा, आवास, रोजगार र सामाजिक सुरक्षाको व्यवस्था नेपालको संविधान २०७२ ले नै गरेको छ । संविधानअनुसार कतिपय स्थानीय सरकारले कार्यक्रम सञ्चालन गरेका छन् त कतिपयले कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउँछन् ।

सबैभन्दा संवेदनशील क्षेत्र मानिने स्वास्थ्यलाई अझ बढी प्राथमिकताका साथ अगाडि बढाइएको छ । यसका लागि सरकारले विभिन्न प्रकारका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । सरकारले उपलब्ध गराउने औषधि उपचारबाहेक पनि स्थानीय सरकारले आफ्ना छुट्टै कार्यक्रम सञ्चालन गरेका छन् । यस कार्यक्रमबाट लक्षित वर्गले सहजताको महसुससमेत गरेका छन् ।

लक्षित वर्गका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्ने स्थानीय सरकारको नीतिअनुसार सोलुखुम्बुको एक नगरपालिकासहित दुई गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेका छन् । ती स्थानीय सरकारले वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकको घरघरमा गएर स्वास्थ्य परीक्षणदेखि थप औषधिसमेत प्रदान गर्दै सरकारको अनुभूति दिलाइरहेको छ ।

सोताङ गाउँपालिकाले ३०० बढी लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । महाकुलुङ गाउँपालिकासँगै जोडिएको विकट गाउँपालिका सोताङले ३०० बढी ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ९क० वर्गका अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अतिविपन्न नागरिकलाई उच्च रक्तचाप, मधुमेह तथा दमलगायतको औषधि निःशुल्क प्रदान गरिरहेको जनाएको छ ।

सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा विसं २०६८ मा स्थापना भएको सामुदायिक औषधि पसलमार्फत ७० वर्षमाथिका वृद्धवृद्धालाई सम्पूर्ण औषधि निःशुल्क उपलब्ध गराउने गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले जानकारी दिए ।

सरकारले उपलब्ध गराउने बाहेकका अन्य औषधिका लागि भने गाउँपालिकाले हरेक वर्ष रु पाँच लाख बजेट व्यवस्था गरेर सेवा प्रवाह गरिएको स्वस्थ्य सांयोजक उनको भनाइ छ । गत वर्ष टोलटोलमा पुगेर स्वास्थ्य परीक्षणसँगै समस्या पत्ता लगाएको गाउँपालिकाले यस वर्ष भने कोरोनाका कारण गाउँगाउँमा कार्यक्रम सञ्चालन गर्न नसकेको भए पनि सामुदायिक औषधि पसलमार्फत निःशुल्क उपलब्ध गराउने काम भइरहेको संयोजक राईले बताए ।