तराईमा बाक्लो हुस्सु, पहाडमा हिमपात


हरेकपल January 29, 2021

काठमाडौँ । देशको पहाडी भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

आज बिहान देशका केही पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

हाल नेपालमा भारतको राजस्थान र आसपासका साथै आसाम र आसपासका क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

पहाडमा हिमापातको संभावना रहेको र तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।